सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

सरकारको पहलले मात्र उपभोक्ता हित तथा संरक्षणको अधिकारले पूर्णता पाउँदैन : मेयर लामा

बिहीबार, ०१ चैत २०८०, २१ : २६
बिहीबार, ०१ चैत २०८०

काठमाडौँ । हेटौंडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाले सरकारको पहलले मात्र उपभोक्ता हित तथा संरक्षणका अधिकारले पूर्णता नपाउने बताएकी छन् । १५ मार्च ‘विश्व उपभोक्ता अधिकार दिवस’ को अवसरमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै मेयर लामाले उपभोक्ता स्वयं आफ्ना अधिकारहरूमा सचेत हुन जरुरी रहेको बताएकी हुन् ।  

विकाससँगै रैथाने परिकार र स्थानीय उत्पादनहरू लोप हुँदै गएको उनले टिप्पणी गरिन् । विकास र समृद्धिका नाममा नागरिकहरू परनिर्भर बन्दै गएको उनले बताइन् । नागरिकहरूलाई स्थानीय उत्पादन र प्रयोगमा जोड्न जरुरी रहेको उनले बताइन् । सोही अनुसार हेटौंडा उपमहानगरपालिकाले विभिन्न योजनाका साथ काम गरिरहेको उनले बताइन् ।

‘हामी विकास भन्दै सहर केन्द्रित भइरहेका छौ । हाम्रा उत्पादनहरू निरन्तर घट्दैछ । हाम्रा गाउँघरको मही दही पाउन मुस्कील बनेको छ । तर, बाहिरी देशमा उत्पादन भएको कोक, स्प्राइट हाम्रो गाउँका कुनाकुनमा पुगेका छन् । हामीले हाम्रो विगत र हाम्रो उत्पादनको स्वच्छता भुल्दै गएका छौ,’ उनले भनिन् ।

उपमहानगरपालिका नागरिकको स्वास्थ्य र अधिकारका विषयमा गम्भीर रहेर काम गरिरहेको उनको भनाई छ । नागरिकहरूको अधिकारका सवाललाई प्राथमिकतामा राखेर उपमहानगरपालिकाले खाद्य परीक्षण ल्याब स्थापना गरी क्षेत्राधिकारभित्र बजार अनुगमन तथा नियमनलाई तीव्र बनाएको उनले बताइन् ।

कार्यक्रममा बोल्दै मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी झरेन्द्र चापागाईँले उपभोक्ता हितका क्षेत्रमा सबैले एकजुट भएर काम गर्नुपर्ने बताए । उनले आम नागरिक मात्र नभएर सबै व्यक्तिले उपभोक्ता हित सम्बन्धी कानुनको बारेमा जानकारी लिन जरुरी रहेको बताए । सरकारले विभिन्न कार्यक्रम सञ्चालन गरी उपभोक्ता ठगिन र उनीहरूको स्वास्थ्यमा प्रतिकुल असर पर्ने गरी भएका कामलाई रोक्न तर्फ अग्रसरता देखाउनु पर्ने उनले बताए ।

कार्यक्रमका बोल्दै उपभोक्ता हित संरक्षण मञ्चका उपाध्यक्ष बासु खतिवडाले सरकारले उपभोक्ता अदालत स्थापना गरेर काम अघि बढाउनु पर्ने बताए । सरकारले उपभोक्ता अदालत स्थापनाको नीति अवलम्बन गरेपनि कार्यान्वयनमा भने आउन नसकेको भन्दै उनले शीघ्र सो अदालत स्थापना गरी काम अघि बढाउन माग गरे ।  

उपभोक्ता हित संरक्षण मञ्च मकवानपुरको आयोजनामा भएको उक्त कार्यक्रममा उपभोक्ता अधिकारका क्षेत्रमा काम गरेका पत्रकारसहित कर्मचारीलाई सम्मान प्रदान गरेको छ । कार्यक्रममा मञ्चले उपभोक्ता अधिकारको क्षेत्रमा सूचना प्रवाह, अधिकारको वकालत र बजार अनुगमन तथा नियमनमा भूमिका खेलेको भन्दै ७ पत्रकार र २ कर्मचारीलाई सम्मान गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप