आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
रुसी राष्ट्रपति निर्वाचन

रुसमा राष्ट्रपति निर्वाचन, नेपालबाट मतदान

शुक्रबार, ०२ चैत २०८०, १४ : २८
शुक्रबार, ०२ चैत २०८०

पोखरा । नेपाल घुम्न आएका रुसी नागरिकले पोखराबाट मतदान गरेका छन् । रुसमा भएको राष्ट्रपतिको निर्वाचनमा उनीहरुले पोखराबाट मतदान गरेका हुन् । पोखरास्थित होटल बाराहीमा बुथ राखेर रुसका नागरिकलाई मतदानको व्यवस्था मिलाइएको थियो । पोखरामा भएको निर्वाचनमा १३ जना नागरिकले मतदान गरेका रसियन दूतावासका प्रतिनिधि प्रविण गौचनले जानकारी दिए ।

उनका अनुसार ७ जना पुरुष र ६ जना महिलाले मतदान गरेका हुन् । पासपोर्ट देखाएर उनीहरुले मतदान गरेका हुन् । रुसमा १५, १६ र १७ तारिखमा निर्वाचन छ । ‘नेपाल प्रहरी र पर्यटक प्रहरी गरी ‘२५ जना सुरक्षाकर्मी तैनाथ थिए,’ उनले भने- ‘उनीहरूलाई पहिले नै मतदानबारे जानकारी गराइएको थियो ।’

अहिले रुसमा राष्ट्रपतिको निर्वाचन चलिरहेको छ । वर्तमान राष्ट्रपति भ्लादिमिर पुटिनसहित निकोलाई खारितोनोभ, लिओ निद स्लुतस्की र भ्लादिस्लाभ दाभान्कोभ चुनावी मैदानमा छन् । दूतावासका अनुसार अहिले नेपालमा ३ सय जना रसियन नागरिक रहेको अनुमान छ । पोखरा र काठमाडौँमा यो वर्ष मतदानको व्यवस्था मिलाइएको हो । दूतावासमा मतदानपछि गनेर मत सङ्ख्या रुस पठाइने गौचनले बताए ।

‘मतपत्र दिएर व्यालेट बक्समै मतदान गर्ने व्यवस्था मिलाइएको हो,’ उनले भने, ‘अब १७ तारिखमा काठमाडौँमा मतदान गरेपछि गणना गरेर पठाइन्छ ।’ यसअघि सन् २०२० मा पनि यस्तै हिसाबले मतदान गरिएको थियो । त्यसबेला पोखराबाट १८ जनाले मतदान गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रकाश ढकाल
प्रकाश ढकाल
लेखकबाट थप