सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
समाज

के गर्दै छ बाउ समूह ?

‘अपहेलित भएपछि संस्था दर्ता गर्‍यौँ’
आइतबार, ०४ चैत २०८०, ०६ : ३८
आइतबार, ०४ चैत २०८०

विराटनगर । महिला सशक्तीकरणको लागि आमा समूह निर्माण गरेको त हामी सबैले सुनेकै हो । तर, तपाईँले बाउ समूह निर्माण भएको सुन्नु भएको छ ? हो विराटनगरमा दुई वर्ष अगाडि दर्ता भएको बाउ समूह अहिले सक्रिय देखिन्छ । 

२०७८ सालको कोरोना कालको समय थियो । सन्तान भएका बाउहरूलाई छोराछोरीले नै सहयोग गर्दथे । तर, छोराछोरी विदेशमा हुने वृद्ध बाउहरू हेरचाह गर्ने मानिस थिएनन् । त्यही बेला असहाय बाउहरूको सहयोग गर्ने मनमा आएपछि विराटनगरका हरि प्रसाईँले बाउ समूह बनाउने सोच बनाए । सोही सोचमा साथ दिन आइपुगे सूर्यकिरण घिमिरे । दुवै जनाको संयुक्त पहलमा बाउ समूह (बा.स.) जिल्ला प्रशासन कार्यालय मोरङमा दर्ता भयो । 

बाउ समूहको नाम सुन्दै धेरैले अचम्म मान्छन् । आमा समूहले त महिला सशक्तीकरण र महिला सचेतनाको काम गर्छ । तर, बाउ समूहले काम चाहिँ के गर्छ ? भन्ने प्रश्न उठाउने धेरै छन् । त्यसको जवाफ दिँदै बाउ समूहका अध्यक्ष सूर्यकिरण घिमिरे भन्छन्, ‘नारीहरूद्वारा पुरुषहरू पीडित हुने अवस्था तत्काल धेरै देखियो । त्यसमा पनि धेरै वृद्ध बाउहरू पीडित छन् । महिला–महिला भन्दाभन्दै बाउ चाहिँ हेला हुने स्थिति आइसक्यो । त्यसैले बाउहरूलाई जतन गर्न, सहयोग गर्न, ती बाउलाई कानुनी उपचारमा सहयोग गर्नका लागि पनि यो सङ्गठनको आवश्यकता महसुस भयो ।

उनले बोल्दा बोल्दै बाउ समूहका अर्का सदस्य प्रशान्त पौडेलले भने, ‘अहिले सम्पन्न परिवार छ । तर, छोरा बुहारी जागिरे छन् । बाउको इच्छा अनुसारको व्यवहार गर्दैनन् । कतै वृद्धाश्रममा लगेर छोडिदिन्छन् । बाउले घरमा बस्छु नानी भन्दा भन्दै पनि हामी भ्याउँदैनौँ कसले पकाएर खुवाउँछ भन्छन् । त्यस्ता बाउहरूलाई सहयोग गर्ने उद्देश्यले हामीले संस्था स्थापना गरेका हौँ ।’ त्यस्ता पीडितको कति उद्धार गर्नुभयो त ? भन्ने प्रश्नमा भने उनीहरुले ठोस जवाफ दिन सकेनन् । 

बाउ समूह देशभरमा यही पहिलो भएको उनीहरूको दाबी छ । ‘अहिलेसम्म हामीलाई यो संस्था देशको अरू ठाउँमा भएजस्तो लाग्दैन । अहिलेसम्म बाउ समूहको केन्द्रीय कार्यालय नै विराटनगर हो,’ अध्यक्ष घिमिरेले भने । 

संस्थामा ५० वर्ष नाघेका विवाहित र सन्तान भएका ३१ जना बाउहरू आबद्ध छन् । ‘उमेर भएसम्म साथी हुँदो रहेछ । उमेर ढल्किएपछि साथी हुँदैन रहेछन् । त्यसो भएको हुँदा हामी एक–अर्कालाई दुःख सुख आदान–प्रदान गर्नका लागि बाउहरूको एकताको लागि कुरा गर्ने, सामाजिक क्षेत्रमा काम गर्ने संस्था चाहिने रहेछ,’ पौडेलले भने, ‘नेपालमा अहिले छोराछोरी सबै विदेश जाने । भोलि कसले सहयोग गर्छ ? बिरामी परिएला, मलामी जानुपर्ला, उपचारमा लानु पर्ला । त्यो वृद्धाहरूलाई ती बाउहरूलाई सहयोग गर्ने उद्देश्य हाम्रो हो । बच्चाहरू छन्, तर विदेश जान मात्रै खोजिरहेका छन् । त्यस्तो बेलामा बाउहरूको एकता हुनुपर्छ भनेर हामीले संस्था बनाएका हौँ ।’

बाउ समूहले संस्था दर्ता भएको एक वर्ष कोरोना महामारीका कारण कुनै काम गर्न सकेन । तर, हरेक महिनाको सुरु हप्ताको शनिबार बैठक बस्ने र छलफल गर्ने काम भने निरन्तर भयो । १ वर्षयता भने विभिन्न गतिविधिमा बाउ समूह सक्रिय छ । ‘हामीले भर्खरै रक्तदान गर्‍यौँ । ४२ पिन्ट रगत सङ्कलन भयो । त्यसपछि हामीले वृक्षारोपण, सरसफाइ लगायतका कार्यक्रम गर्ने तयारी गरेका छौं,’ घिमिरेले भने, ‘बाउ समूहको अगुवाइमा आमाहरूसहित तीर्थयात्रा गराऊँ भन्ने कार्यक्रममा हामी व्यस्त छौँ । वैशाख २ गते हलेसी हुँदै ५ दिनको तीर्थयात्रामा जाँदैछौं । त्यसको खर्चको व्यवस्थापनको लागि सदस्यहरूबाटै सङ्कलन गर्ने, सहयोग माग्ने तयारीमा छौँ । अहिले तत्काल हामी मजबुत नभईकन कुन बाले कति दुःख पाएका छन् भन्ने हामीलाई थाहा छैन । भर्खरै बाउ समूह जन्मिएको हो । अब समाजमा स्थापित गर्नका लागि अरू गतिविधि पनि गर्छौँ ।’

bau samuha1 (4)

उक्त संस्था विराटनगर ९ का हरि प्रसाईँ र विराटनगर १२ का सूर्यकिरण घिमिरेकै अगुवाइमा संस्था जन्मिएको हो । ‘प्रसाईँजीले बाउ समूह गठन गरौँ के हुन्छ भन्नुभयो, मैले साह्रै राम्रो हुन्छ भनेर प्रतिक्रिया दिएँ । अनि संस्था जन्मियो,’ घिमिरेले भने, ‘यो आमा समूहसँगको काउन्टर होइन । उहाँहरूसँगै हामी काम गछौं । तर, के चाहिँ हो भने अहिलेको परिस्थितिमा बुबा र बाउहरूको एकता गराउने मुख्य उद्देश्य हो ।’

केही महिना अगाडि उनीहरुले विराटनगरको बसपार्क क्षेत्रमा रक्तदान कार्यक्रम गरे । बाउ समूह लेखेको एकै खालको भेष्ट लगाएर ४० जनाभन्दा बढी वृद्धाहरू लाइन लागेर रक्तदानमा सहभागी भएको देख्दा धेरै मानिसहरूले चासोका साथ हेरेका थिए । ‘सेतै फलेका बाउहरूले रक्तदानमा उत्साहपूर्ण ढङ्गले सहभागिता जनाए,’ घिमिरेले भने, ‘त्यो देखेर धेरैले आश्चर्य माने, चासो दिए ।’ 

बाउ समूहमा अहिले सदस्यहरू ३१ जना छन् । यसलाई बढाउने अभियान रहेको अध्यक्ष घिमिरे बताउँछन् । ४० वर्ष नाघेको र छोराछोरी भएकालाई सदस्यता दिने विधानमा व्यवस्था नै गरेका छन् । संस्थाको विधान अनुसार ११ जनाको कार्यसमिति हुने र २ वर्षे कार्यकाल राखिएको छ ।

बाउ समूहका अर्का सदस्य रेवतीरमण दाहालले पनि एक्लै नेपालमा रहेका बाउहरूको सहयोग नै मुख्य उद्देश्य रहेको बताए । उनले बिरामी हुँदादेखि मलामी जाँदासम्म बाउहरूलाई सहयोग चाहिने धारणा राखे । ‘धेरै साथीहरूका छोराछोरी बाहिर छन् । एक जना बाउ बिरामी भयो । हस्पिटलमा कुद्नुपर्‍यो भने मान्छे छैन । हस्पिटलमा उनीहरूलाई कुर्ने काममा पनि हामीले सहयोग गर्ने उद्देश्य छ । मलामी जाँदा मानिसहरू शवमा आगो सल्काएपछि सबै फर्किन्छन् । अन्तिममा किरिया पुत्री एक्लै हुन्छ । त्यहाँ पनि हामी कुरेर बस्ने भनेका छौँ,’ उनले भने, ‘यस्तै सदस्यहरूको घरमा हुने विवाह, व्रतबन्ध, मरिमराउ हुँदा जम्मा हुने र समाजमा बाउहरू एक्लो छैनन् है भन्ने अनुभूति गराउने उद्देश्य हो ।’ 

बाउ समूहमा अहिले सदस्यहरू ३१ जना छन् । यसलाई बढाउने अभियान रहेको अध्यक्ष घिमिरे बताउँछन् । ४० वर्ष नाघेको र छोराछोरी भएकालाई सदस्यता दिने विधानमा व्यवस्था नै गरेका छन् । संस्थाको विधान अनुसार ११ जनाको कार्यसमिति हुने र २ वर्षे कार्यकाल राखिएको छ । जसमा अध्यक्ष, उपाध्यक्ष, सचिव, सहसचिव, कोषाध्यक्ष १–१ जना र सदस्यहरू ६ जना रहनेछन् । 

सदस्यता लिनका लागि ५ योग्यता पुगेको हुनुपर्छ । त्यसमा पनि ४० वर्ष उमेर पुरा गरेको र विवाह भएकोलाई मात्रै सदस्यता दिने दुई बुँदा छन् । बाउ समूहको विधानको प्रस्तावनामा लेखिएको छ, ‘समाजमा परिवर्तन समय काल परिस्थिति अनुसार आफूमा परिवर्तन ल्याउँदै समूहमा आबद्ध प्रत्येक सदस्यको उज्ज्वल भविष्यको साथै समाज सेवा गर्दै हामीबिच रहेको विसङ्गति र विकृतिलाई पन्छाउने, सामाजिक कार्य गर्न तथा साथी भाइहरू भेटघाट, हर सुख दुःखमा एकै साथमा रहँदै......... ‘बाउ समूह’ नामक संस्था सञ्चालनार्थ...।’ मोरङ जिल्लालाई कार्यक्षेत्र बनाएको बाउ समूहले समाजमा रहेका बाउ समूहका लागि हकहित तथा संरक्षण सम्बन्धी कार्यहरू गर्ने उल्लेख छ ।

केही तस्बिरहरुः

bau samuha1 (1)bau samuha1 (2)bau samuha1 (2)1bau samuha1 (3)bau samuha1 (3)1

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप