आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

माधव नेपालको राजनीतिक दस्ताबेजमा फेरियो ‘मित्रशक्ति’ !

आइतबार, ०४ चैत २०८०, १५ : २१
आइतबार, ०४ चैत २०८०

काठमाडौँ । नेकपा एकीकृत समाजवादीको आगामी जेठ पहिलो साता हुने राष्ट्रिय महाधिवेशनमा पेस गर्न तयार पारेको राजनीतिक प्रतिवेदनको मस्यौदा ‘उलटपुलट’ हुने भएको छ । सत्ता समीकरणमा आएको फेरबदलसँगै महाधिवेशनमा पेस गर्न तयार गर्न लागिएको राजनीतिक दस्ताबेज पुनर्लेखन गर्नुपर्ने अवस्था आएको हो ।

एकीकृत समाजवादीले यसअघि मित्रशक्तिका रूपमा नेपाली कांग्रेसलाई राखेकोमा अब नेकपा एमालेलाई राख्ने भएको हो । सो पार्टीका सम्मानित नेता झलनाथ खनालले राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिमा आएको बदलावका कारण पार्टीको दस्ताबेजमा पनि परिवर्तन गर्नुपर्ने अवस्था आएको बताए ।

‘हाम्रो देशको सवालमा पनि फागुन २१ बाट बदलाव आएको छ । यसअघि वामपन्थीहरूकै बिचमा पनि विवाद र विभाजनको अवस्था थियो । तर फागुन २१ पछि वामपन्थीहरू कार्यगत एकतामा आएका छन्’, खनालले भने, ‘वाम लोकतान्त्रिक सरकार बनेको छ ।’

उनले पछिल्लो समीकरणले मुलुकको समग्र राजनीतिक परिस्थितिमा प्रभाव पार्ने अवस्था बनेको भन्दै मुलुकको बस्तुगत र राजनीतिक स्थितिका आधारमा राजनीतिक पार्टीहरूको दृष्टिकोण र विचार बन्ने बताए । ‘यही फरक परिस्थितिका आधारमा हाम्रो कार्यनीति नयाँ शिराबाट छलफल गर्दै दस्ताबेज लेखन गर्नुपर्ने आवश्यकता छ’, खनालले भने ।

अहिलेको सत्ता समीकरण बन्नुअघि नेकपा एमालेसँग नेकपा एकीकृत समाजवादीको सम्बन्ध शत्रुतापूर्ण थियो तर फागुन २१ पछि सम्बन्ध परिवर्तित भएको छ । सो पार्टीका उपमहासचिव समेत रहेका नेता जगन्नाथ खतिवडाले भने, ‘दस्ताबेजको परिभाषा नै बदलिने भयो र मित्रशक्ति फेरिने भएपछि त्यो विषय सच्चाउँदै छौँ ।’

खतिवडाका अनुसार यसअघि मित्रशक्ति रहेको नेपाली कांग्रेस अब लोकतान्त्रिक मित्र शक्तिमा सीमित बन्ने भएको छ भने वामपन्थी मित्र शक्तिका रूपमा नेकपा एमाले रहने भएको छ ।

‘वाम मित्रशक्ति नेकपा एमाले र लोकतान्त्रिक मित्र शक्ति कांग्रेस हुन पुग्यो’, खतिवडाको भनाइ छ । उनले राजनीतिक समीकरण फेरिएर एउटै सरकारमा बसिसकेपछि पार्टीको दृष्टिकोण परिवर्तन हुनु स्वाभाविक रहेको पनि बताए ।  

खतिवडाले यसअघि तयार हुँदै गरेको प्रतिवेदनमा नेकपा एमालेको स्वभाव, प्रवृत्ति र चरित्रको आलोचना गरिए पनि अब त्यसलाई सच्याउन अनिवार्य भएको बताए ।

‘बदलिएको राजनीतिक परिस्थितिमा उपयुक्त बनाउनुपर्ने अवस्था आयो’, खतिवडाले भने, ‘अरू दृष्टिकोणमा भिन्नता हुँदैन, जस्ताको तस्तै हुन्छन् ।’ 

अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा गठित २७ सदस्यीय ‘दस्ताबेज मस्यौदा समिति’ले दस्ताबेजको मस्यौदा तयार गरे पनि त्यसलाई अन्तिम रूप दिन बाँकी थियो । फागुन १७ गते बसेको सो पार्टीको सचिवालय बैठकले महाधिवेशनमा समसामयिक राजनीतिक, विधान र सांगठनिक विषय समेटेर चार जना नेतालाई फरकफरक विषयमा दस्ताबेज लेख्न जिम्मेवारी दिएको थियो ।

फरकफरक शीर्षकमा दस्ताबेज लेखिए पनि महाधिवेशनमा सबैलाई समेटेर एउटै दस्ताबेज प्रस्तुत गर्ने सो पार्टीको निर्णय थियो । जसअन्तर्गत अध्यक्ष माधवकुमार नेपालले राजनीतिक दस्ताबेज, सम्मानित नेता झलनाथ खनालले समाजवादी कार्यक्रम, उपाध्यक्ष डा बेदुराम भुसालले पार्टी विधान र महासचिव घनश्याम भुसाललाई सङ्गठनात्मक प्रस्तावको मस्यौदा तयार गर्ने गरी जिम्मेवारी बाँडफाँट गरिएको थियो । 

चार वटै मस्यौदामाथि छलफल गर्न चैत ६ देखि १० गते सम्म बस्नेगरी दस्ताबेज मस्यौदा कमिटीको बैठक बोलाइएको छ । सोही छलफलले दस्ताबेजलाई अन्तिम रूप दिने तयारी भएको उपमहासचिव खतिवडाको भनाइ छ ।

दस्ताबेजका माइक्रो कन्टेन्टमा ध्यान दिएर मस्यौदा कमिटीले अन्तिम रूप दिएपछि सचिवालय, स्थायी कमिटी र पोलिटब्युरो बैठकबाट समेत अनुमोदन गरेर महाधिवेशनमा लगिने नेताहरूको भनाइ छ ।

त्यस्तै कम्युनिस्ट पार्टीहरू बिचको एकताका बारेमा दस्ताबेज माझधारमै हुनेछ । ‘कम्युनिस्ट एकताका लागि छलफल गर्न खुला रहन्छ तर एकता भए पनि ठिकै र नभए पनि आत्तिने अवस्था छैन भन्ने सन्देश दिने गरी दस्ताबेज बन्छ’, खतिवडाको भनाइ छ ।

अध्यक्ष माधवकुमार नेपाल स्वयंले पनि दस्ताबेजको कन्टेन्ट परिवर्तन गर्नुपर्ने अवस्था आएको स्वीकार गरेका छन् । ‘नेपालको राजनीति यति छिटोछिटो परिवर्तन भइराख्छ कि मान्छेले भेउ नै पाउँदैनन्’, अध्यक्ष नेपालले शुक्रबार पार्टी निकट एक कार्यक्रममा भनेका थिए, ‘हामीलाई नै गाह्रो परिसक्यो ।’

अध्यक्ष नेपालले महाधिवेशनका लागि एउटा प्रतिवेदन तयार गरिएको भए पनि त्यसलाई परिमार्जन गर्नुपर्ने अवस्था आइसकेको बताए । ‘प्रतिवेदनमा २०७९ सालमा भएको सरकार परिवर्तनको विषय बासी भइसकेछ । अब नयाँ चिज भइसक्यो । हिजो गाली गरेर थुप्रो लेखिएको थियो । त्यसलाई मिलाउनु पर्नेछ । त्यो प्रतिवेदन पढेपछि फेरि भड्केलान् भन्ने चिन्ता छ । भड्किन पनि दिनुभएन’, नेपालले भनेका छन्, ‘हेर्दाहेर्दै परिवर्तन भएको छ । कतिपय त हामीलाई थाहै नदिई परिवर्तन भएको छ । तर थाहा नदिई परिवर्तन गरे पनि हाम्रो आवश्यकता सबैलाई बोध भएको छ । अहिले पनि कसैले दम्भ राखे ख्याल गरोस् ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

 फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप