सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

मिलन लिम्बुद्वारा इलाम क्षेत्र नम्बर २ बाट स्वतन्त्र उम्मेदवारी घोषणा

आइतबार, ०४ चैत २०८०, १५ : ५८
आइतबार, ०४ चैत २०८०

काठमाडौँ । आगामी वैशाख १५ मा हुन गइरहेको उपनिर्वाचनमा इलाम क्षेत्र नम्बर २ बाट मिलन लिम्बुले उम्मेदवारी घोषणा गरेका छन् । आइतबार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गर्दै लिम्बुले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका हुन् । 

उपनिर्वाचनका लागि उम्मेदवारी घोषणा गर्ने उनी पहिलो उम्मेदवार हुन् ।  सो क्षेत्रबाट निर्वाचित नेकपा एमालेका सुवास नेम्वाङको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो ।

उम्मेदवारी घोषणा गर्दै उनले भने, ‘हाम्रो क्षेत्रको विकासको चाहना पूरा गर्नका लागि मलाई इलाम-२ का जनताले यो माटोको उम्मेदवारका रूपमा उभ्याएका छन् । म इलामको माटोको कसम खाएर भन्छु, अन्तिम सास रहेसम्म इलामेली जनताको पक्षमा काम गर्नेछु । राजनीतिक दलहरूले गरिरहेको संस्थागत भ्रष्टाचार र अभिमतको दुरुपयोग रोक्दै सुशासनको पक्षमा र भ्रष्टाचारको विरुद्ध लडिरहनेछु । यो उपनिर्वाचनमा मात्रै नभएर म इलामका नागरिकको सेवक बनेर जीवनभर सुख-दुःखमा सँगै उभिने वाचा गर्दछु ।’

विकास र समृद्धिको आशामा राजनीतिक दलका उम्मेदवारलाई बारम्बार जिताएर पठाए पनि उनीहरूले सधैँ जनताको मतको दुरुपयोग मात्रै होइन, मूल्य–मान्यताहरूलाई समेत कुल्चिएको उनको आरोप छ । इलामेली नागरिकलाई जल, जंगल र जमिनको मालिक बनाउने यो अभियानमा साथ र सहयोगका लागि उनले अपिल गरेका छन् ।

‘संविधान र संघीयता लागू भए पनि अझै केही राजनीतिक कार्यभार बाँकी छन् । स्थानीय सरकारलाई अधिकार सम्पन्न बनाउनु छ । प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख बनाउने गरी शासकीय प्रणालीमा परिवर्तन गर्नु छ । सबै अस्तित्वहरूको सम्मान गर्दै पहिचानको आधारमा प्रदेशको पुनः नामकरण गर्नु छ । यी राजनीतिक कार्यभार पूरा गर्नका लागि तपाईं-हामी एकताबद्ध हुनै पर्छ,’ उनले भनेका छन् ।

माओवादी केन्द्र निकट प्रेस सेन्टरका केन्द्रीय सचिव मिलन लिम्बु जनजाति पत्रकार महासङ्घका महासचिवका समेत हुन् । माओवादी केन्द्रसँगको आबद्धता त्यागेर लिम्बुले इलाम—२ मा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् ।

milan-limbu

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप