आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
सहकारी रकम हिनामिना प्रकरण

दीपेश पुनलाई ८ दिन हिरासतमा राख्न जिल्ला अदालतले दियो अनुमति

आइतबार, ०४ चैत २०८०, १६ : २९
आइतबार, ०४ चैत २०८०

बुटवल । सहकारीको रकम हिनामिना प्रकरणमा पक्राउ परेका दीपेश पुनलाई अनुसन्धानका लागि ८ दिन हिरासतमा राख्न रुपन्देही जिल्ला अदालतले अनुमति दिएको छ । शुक्रबार काठमाडौँमा पक्राउ परेका पुनलाई प्रहरीले आइतबार रुपन्देही जिल्ला अदालतमा म्याद थपका लागि पेस गरेको थियो ।

बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा जोडिएका पुनलाई शुक्रबार नै बुटवल ल्याइएको थियो । जिल्ला प्रहरी कार्यालय रुपन्देही प्रहरी प्रमुख एसपी रन्जितसिंह राठौरले पुनलाई ८ दिन अनुसन्धानका लागि हिरासतमा राख्न अदालतले म्याद दिएको रातोपाटीलाई बताए ।

सहकारी ठगी प्रकरणका अनुसन्धान गर्दा पुनलाई नियन्त्रणमा लिनुपर्ने देखिएकाले पक्राउ गर्न रुपन्देही प्रहरीले काठमाडौँ प्रहरीलाई पत्राचार गरेको थियो । रुपन्देही प्रहरी प्रमुख एसपी रन्जितसिंह राठौरले अनुसन्धानकै क्रममा रहेकाले अहिले धेरै विषय खुलाउन नमिल्ने बताए ।

पुनमाथि सुप्रिम सहकारीको ७८ करोड रकम अपचलन गरेको आरोप छ । यसअघि सोही सहकारीका अध्यक्ष ओम गुरुङ र भैरहवाका शाखाकी प्रमुख दुर्गा चापागाईँलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ । उक्त सहकारीको रकम हिनामिनामा मुख्य आरोपित जीवी राई भने फरार छन् ।

पुन संस्थापक सचिव रहेको सहकारीमा बचतकर्ताहरूले जम्मा गरेको रकम हिनामिना गरेको उजुरी परेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो । सो सहकारीबाट विभिन्न पाँच वटा कम्पनीलाई ७८ करोड ५० लाख ७६ हजार ६६५ रुपैयाँ ऋण प्रवाह भएको छ ।

रुपन्देही लगायतका जिल्लाका बचतकर्ताहरूको एक अर्ब ७ करोड ८२ लाख ६७ हजार ७२९ रुपैयाँ हिनामिना भएको भन्दै बचतकर्ताहरूले प्रदेश सहकारी रजिस्ट्रारको कार्यालयमा उजुरी दिएका थिए । सुप्रिम सहकारीबाट गोर्खा मिडिया नेटवर्कले साढे १० करोड रुपैयाँ ऋण लिएको देखिन्छ ।

शुक्रबार बुटवल ल्याएका पुन र यसअघि पक्राउ परेका गुरुङ र चापागाईँलाई इलाका प्रहरी कार्यालय बुटवलमा राखिएको छ । इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख विजयराज पण्डितले फागुन ३ गते पक्राउ परेका गुरुङ र चापागाईँ सहित पुनमाथि आवश्यक अनुसन्धान भइरहेको रातोपाटीलाई बताए ।

पुन कसरी जोडिए बुटवलमा ?

हर्वो नेचर नामक नेटवर्किङ शैलीको व्यवसायका सञ्चालक जिबी राई अहिले उक्त सहकारीका संरक्षक छन् । सुरुमा सहकारीका संस्थापक अध्यक्ष रहेका राईले देशका विभिन्न ठाउँमा फरकफरक नाम दिएर सहकारी स्थापना गरेका थिए । उनले पोखरामा सूर्यदर्शन, चितवनमा सहारा, बुटवलमा सुप्रिम सहकारी खोलेका थिए ।

राईले सुप्रिम सहकारीको सचिवमा दीपेश पुनलाई राखेका थिए । दिपेश पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका छोरा हुन् । राई र पुनको सल्लाहमा बुटवलमा सामाजिक व्यक्तिको पहिचान बनाएका ओम गुरुङलाई पछि अध्यक्ष बनाइएको थियो । व्यवस्थापकमा सागर केसी थिए ।

उक्त सहकारीले बुटवलमा बचकर्ताको पैसा जम्मा गरेर काठमाडौँमा पठाउने कार्य गरेको प्रहरी स्रोतको भनाइ छ । सहकारी रकम अपचलनको उजुरी परेपछि बुटवलबाट ओम  गुरुङ पक्राउ परे पनि व्यवस्थापक सागर केसी अझैसम्म फरार छन् ।

गुरुङले प्रहरीसमक्ष प्रारम्भिक बयानका क्रममा आफू पनि सहकारीको पूर्व अध्यक्ष राई, व्यवस्थापक केसी लगायतको समूहबाट ठगिएको बयान दिएको स्रोतको भनाइ छ । राई र पुनले बुटवल, पोखरा, चितवनमा रहेका सहकारीबाट सामान खरिदका लागि भन्दै पैसा माग्ने गरेका थिए । त्यस क्रममा यहाँ बचतकर्ताहरुबाट उठाएको पैसा काठमाडौँ पठाउनु परेको बयान गुरुङले दिएका छन् ।

बचतकर्ताहरूले रकम माग्न थालेपछि व्यवस्थापक सागर केसी सम्पर्कविहीन मात्रै भएनन्, केही कागजपत्र, सफ्टवेयर समेत आफूले नै राखे । त्यसपछि बुटवल–९ मा रहेको सुप्रिम सहकारी झन् सङ्कटमा फस्यो ।

बुटवल दिपनगरका व्यवसायी प्रकाश क्षेत्रीले सुप्रिम सहकारीमा सेयरबाट ७५ हजार बचत र छोरीको बाल बचत गरी ३ लाख ५० हजार रुपैयाँ राखेका थिए । हस्तकलाको व्यापार गर्ने क्षेत्रीले आफूलाई चाहिँदा रकम नपाएपछि इलाका प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

यस्तै बुटवलका सुक्खानगरका सुमन थापाले पनि बचतबापत ३ लाख रुपैयाँ पाउनुपर्ने छ । उनले सो रकम नपाएपछि प्रहरीमा निवेदन दिएको रातोपाटीलाई बताए । प्रहरीले अध्यक्ष गुरुङ र भैरहवा शाखाकी प्रमुख चापागाईँलाई नियन्त्रणमा लिएपछि उक्त सहकारीका बचतकर्ताहरुलाई निवेदन दिन आह्वान गरेको थियो । सोही आधारमा थापाले समेत  निवेदन दिएका छन्् ।

उनले पछिल्लो समय पुन, गुरुङ लगायतका व्यक्तिहरू पक्राउ परे पनि आफूले रकम पाउने टुङ्गो नभएको रातोपाटीलाई बताए । उनले भने, ‘प्रहरीले नियन्त्रण लिएको छ, यसले ढिलो भए पनि बचत रकम पाइन्छ कि भन्ने आश बढेको छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप