बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय
सतर्कता जरुरी

दुई दिनमा देशका ३७ स्थानमा डढेलो

सोमबार, ०५ चैत २०८०, १६ : २६
सोमबार, ०५ चैत २०८०

काठमाडौँ । दुई दिनयता देशका विभिन्न ३७ स्थानमा डढेलोका घटना भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पाँचथर, इलाम, सङ्खुवासभा, तेह्रथुम, भोजपुर, खोटाङ, सोलुखुम्बु, ओखलढुङ्गा, मोरङ, धनुषा, रामेछाप, भक्तपुर, ललितपुर तनहुँ, कास्की, म्याग्दी र कपिलवस्तुका विभिन्न स्थानका जङ्गलमा डढेलोका घटना भएका हुन् ।

 घटनामा मानवीय क्षति नभए पनि एक घरमा क्षति पुगेको छ । त्यस्तै सोलुखुम्बुमा तीन, खोटाङमा एक र पाँचथरमा एक परिवार गरी पाँच परिवार प्रभावित हुन पुगेको प्राधिकरणले जनाएको छ । 

स्थानीय प्रहरी, सशस्त्र प्रहरी, सेना र सर्वसाधारणको प्रयासबाट आगलागी र डढेलो नियन्त्रण गरिएको जानकारी प्राधिकरणकी प्रवक्ता गोमादेवी चेमजोङले दिइन् । बर्सेनि डढेलोका घटना भए पनि सरकारले प्रभावकारी योजना नल्याउँदा प्राकृतिक विनाश निम्तिँदै आएको छ । 

पछिल्लो समय नेपालमा वन र अन्य प्राकृतिक वनस्पतिलाई असर गर्ने डढेलोका घटना बढ्दै गएको छ । बढ्दो जोखिमले मानव जीवन र सम्पत्तिमा गम्भीर खतरासमेत निम्त्याइरहेको छ । त्यस्तै जलाधार अवस्था र मूल्यवान् वन इकोसिस्टमको विनाश र ह्रास भइरहेको प्राधिकरणले जनाएको छ । 

डढेलोबाट वार्षिक दुई अर्ब रुपैयाँभन्दा बढीको नोक्सानी हुने अनुमान गरिएको छ । नेपालमा हुने डढेलोका घटनामध्ये ८० प्रतिशतभन्दा बढी मध्य फागुनदेखि मध्य वैशाखसम्म हुने गरेको प्राधिकरणले जनाएको छ ।

वन डढेको पहिचान तथा अनुगमन प्रणालीले नेपालका भू–भागहरूलाई डढेलो जोखिमका आधारमा उच्च जोखिम, जोखिम, मध्यम जोखिम, न्यून जोखिम र अत्यन्त न्यून जोखिमका रूपमा विभाजन गरेको छ । लुम्बिनीका रुपन्देही, नवलपरासी, कपिलवस्तु, दाङ, बाँके र बर्दिया डढेलोको उच्च जोखिममा छन् । यसै प्रदेशका पहाडी जिल्ला अर्घाखाँची र प्युठानका अधिकांश भूभाग तथा पाल्पा, गुल्मी र रोल्पाका केही भूभाग उच्च जोखिममा पर्दछन् ।

यसैगरी, पाल्पा, गुल्मी र रोल्पाका अधिकांश भू–भाग र प्युठान, अर्घाखाँची र बर्दियाका केही भू–भागलाई डढेलोको जोखिम क्षेत्रमाका रूपमा देखाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप