शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

त्रिवि स्ववियु निर्वाचनको एक वर्ष : सुधारका थुप्रै प्रयास अघि बढे

सोमबार, ०५ चैत २०८०, १८ : ०३
सोमबार, ०५ चैत २०८०

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनको एक वर्ष पुरा भएको छ । २०७९ चैत ५ गते भएको स्ववियु निर्वाचनबाट सभापतिमा श्यामराज ओझा निर्वाचित भएका थिए । 

निर्वाचित भएको एक वर्षको अवसरमा पत्रकार सम्मेलन गरेर त्रिवि स्ववियुले गरेका काम कारबाही तथा भावी कार्ययोजनाहरू सार्वजनिक गरेको छ ।

१४ वर्षपछि निर्वाचन भएर अस्तव्यस्त अवस्थामा रहेको स्ववियुलाई व्यवस्थित गर्न नै केही समय लागेको सभापति ओझाको भनाइ छ । ‘निर्वाचित भएर आएको सुरूको ७/८ महिना त आफ्नै व्यवस्थापनमा लागियो । छोटो समयमा पनि विभिन्न समस्या चुनौतीका बिच राम्रो सुरूवात गरेका छौँ,’ सभापति ओझाले भने ।

लामो समयसम्म निर्वाचन हुन नसकेको, स्ववियुको कुनै रेकर्ड अफिस/फाइल नभएको विभागहरू र विभिन्न निकायहरूले स्ववियुको सहकार्य बिर्सिसकेको कठिन परिस्थितिमा निर्वाचित भएको एक वर्ष पुरा भएको सभापति ओझाले बताए ।

एक वर्षको अवधिमा त्रिविको पुस्तकालय २४ घन्टा नै खुल्ला रहने गरी व्यवस्थापन गराउन सफल भएको बताए । अब भावी दिनमा केन्द्रीय पुस्तकालयलाई हप्तामा सातै दिन २४ घन्टा नै खुला राख्नेगरी पहल गर्ने उनको भनाइ छ । त्यस्तै पुस्तकालयमा फर्निचर, सबै विभागका आवश्यक पुस्तकको पर्याप्तताका लागि भूमिका खेल्ने, साथै आवश्यक अन्य सुविधाहरूको व्यवस्थापन गर्न पहल गर्ने आगामी लक्ष्य स्ववियुको छ ।

त्यस्तै छात्रावास (क) (घ) विल्डीङ्ग मर्मत सम्भार र रंगरोगन, बाउन्ड्री तारवार, रेगुलर सरसफाइ लगायत कार्य काम भएको स्ववियुले जनाएको छ । स्ववियुले आफ्नो घोषणापत्र अनुसारका विभिन्न कार्यहरू गर्दै आएको सभापति ओझाको भनाइ छ ।  

एक वर्षको अवधिमा आफ्ना कार्यहरू सन्तोषजनक रहेको उनको भनाइ छ । स्ववियुले २०६७ सालदेखि हालसम्म विद्यार्थीबाट स्ववियुको नाममा उठाइएको शुल्क आफ्नो खातामा ल्याउने काम गरेको छ । जसअनुसार स्ववियुको  खातामा ४८ लाख ८७ हजार ६९५ रुपैयाँ रहेको सभापति ओझाले बताए । एक वर्षको अवधिमा ६ लाख १४ हजार ३१८ रुपैयाँ खर्च भइसकेको उनको भनाइ छ । स्ववियुको आफ्नै भवन निर्माणको कार्य समेत अघि बढिसकेको उनले बताए ।

अबको एक वर्षमा विद्यार्थी केन्द्रित तथा विश्वविद्यालय सुधारका विभिन्न कार्यहरू गर्ने योजना छ । त्रिविमा शैक्षिक क्यालेण्डर कार्यान्वयन नहुने समस्या, समयमै परीक्षा तथा नतिजा नआउने जस्ता समस्याका कारण विद्यार्थीहरूमा नकारात्मक असर परिरहेको भन्दै विश्वविद्यालय सुधारको लागि स्ववियुले कार्ययोजना बनाएर नै अघि बढेको सभापति ओझाले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप