आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

मन्त्री बनेपछि मनाङेले भने– ५ दिन समय दिनुस्, कसरी पेल्छु हेर्नुहोला

‘बल्ल असली राजनीतिमा आएको छु’
सोमबार, ०५ चैत २०८०, १९ : २३
सोमबार, ०५ चैत २०८०

पोखरा । सोमबारदेखि गण्डकी सरकारमा राजीव गुरुङ उर्फ दीपक मनाङेको ‘इन्ट्री’ भएको छ । आइतबार एकीकृत समाजवादी त्यागेर स्वतन्त्र बनेका उनी सोमबार भौतिक पूर्वाधार विकास मन्त्रीमा नियुक्त भएका हुन् ।

अल्पमतमा रहेका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उनलाई मन्त्रीमा नियुक्त गरेसँगै आफ्नो समर्थनमा २८ सांसद जुटाएका छन् ।

केन्द्रमा भएको समीकरण फेरबदलको असर गण्डकीमा पनि परेको छ । ६० सदस्यीय प्रदेशसभामा कुन पक्षले बहुमत पुर्याउने भन्ने सुनिश्चित छैन । दुवै पक्षले बहुमत जुटाउन आन्तरिक प्रयास गरिरहेका छन् ।

यही अवस्थामा नयाँ गठबन्धनमा रहेको एकीकृत समाजवादीबाट छुट्टिएर मनाङेले आफ्नै सुर कसे । मन्त्री बनेपछि उनले बल्ल असली राजनीतिमा लागेको प्रतिक्रिया दिएका छन् ।

मन्त्री नियुक्त भएपछि यसो भने मनाङेले...

चमत्कार केही पनि होइन । एक वर्ष फुटबल खेल्दै हिँडिरहेको थिएँ । हिजोचाहिँ जोस आयो । अब ४ वर्ष मैले पनि राजनीति गर्नुपर्छ कि जस्तो लागेको छ । अस्तिसम्म सामाजिक कामको हिसाबले गरिरहेको थिएँ । अब असली राजनीतिमा लागेको छु ।

हामीले यहाँ बसेर जुन राजनीति गर्छौं, केन्द्रले त्यो बुझेको छैन । केन्द्रमा समस्या आयो भने प्रदेश र जिल्लासम्म परिवर्तन हुन्छ । प्रदेशमा समस्या आएको त होइन नि । हामी चुनाव जितेर आएको मान्छे हो । हामी सबैभन्दा जिम्मेवार हुने मतदाताप्रति हो ।

गठबन्धन तोड्ने र बनाउने कुरा मतदाताले मान्दैनन् । त्यसैले म पुरानै टिममा छु । विश्वासको मत फिर्ता लिएको पनि थिइनँ । यो बेला मैले सहयोग गरिनँ भने मध्यावधिमा जान्छ । चुनाव धेरै महँगो छ । पैसा नदिई जित्न सकिन्न । जग्गा बेच्दै चुनाव लड्न सक्दैनौँ । मैले जस्तो सोचेको छु, त्यस्तै उनीहरू (नयाँ गठबन्धन) लाई पनि गाह्रो छ । मैले मध्यावधि चुनाव कसरी लड्ने भनेर चिन्ता लिएको छु, मध्यावधिमा जानै दिन्नँ । मध्यावधि भयो भने म चुनावमा भाग लिन्न ।

अब म गठबन्धन जे भए पनि कतै जान्न । बारम्बार यताउता गर्दा मजा आउँदैन । मेरो केही काम छैन, ढाका टोपी लाउँदै आउने होइन नि । तर मेरो कारणले सरकार बन्छ भने सहयोग गर्दिन्छु । केन्द्रमा मलाई सोधेर पार्टी र सरकार फुटेको होइन । गठबन्धन घरीघरी फुटाउँदै हिँड्छन्, म बटुल्दै हिँड्न सक्दिनँ । म स्वतन्त्र हो, ह्वीप लागे लागोस् । मलाई के मतलब ? म फेरि जितिहाल्छु ।

अब सत्ता टिकाउन मुख्यमन्त्रीले पहल गर्ने हो । राप्रपालाई मध्यावधि चाहिन्छ भने ठिकै छ । म त फेस गर्छु । हिजो पहिलो सरकार बन्ने बेलामै तीन वटा कम्युनिस्ट मिलौँ, ३१ सिट पुग्छ भनेर पहिल्यै खगराज दाइ (खगराज अधिकारी) लाई भनेको हो । राप्रपालाई सभामुख दिऔँ भनेको हो । अहिले यो दुःख हुन्थ्यो र ? उहाँको गल्तीको कारण हामी फसेको हो ।

अब भौतिकमा किन छिरेँ भने ७० प्रतिशत बजेट भौतिकमा छ । सबैभन्दा धेरै भौतिकमै भ्रष्टाचार छ । ५ दिन समय दिनुस्, कसरी पेल्छु हेर्नुहोला । ७० प्रतिशत बजेट भएको मन्त्रालय ताकेको कारण कमाउनका लागि होइन । चेताउनका लागि हो । जनताको पैसा जनतामा जानुपर्यो । सबै इन्जिनियर, मन्त्री र सचिवले खाएर सके । त्यसलाई मैले ब्रेक गर्ने हो ।

हिजोचाहिँ मन्त्रीमा नजाने नै योजना थियो । सबै कुरा मन्त्री नै होइन । १० महिनामा कुनै मन्त्रीले केही काम गर्न पाएको छैन । झण्डामात्रै हल्लाउनेलाई अहिले खेदिसके । विकास त्यसै हुन्छ ? भ्रष्टाचार रोक्नुपर्छ । हर्क साम्पाङ जस्तो बोकेर हिँड्न पर्दैन । ५ वटा विषयमा म अध्ययन गरिरहेको छु । यसका कारण ठेकेदारहरू आत्महत्या गर्न मात्रै बाँकी छ । यो समस्या समाधान भयो भने केन्द्रको भौतिक मन्त्रीलाई पनि गाह्रो हुन्छ ।

यो बेला मैले बार्गेनिङ मात्रै गर्ने होइन । चाहे त मुख्यमन्त्री पनि पाइन्छ । तर मुख्यमन्त्रीमा म एक्लै बसेर के गर्ने ? मसँग २–३ जना मन्त्री त चाहियो नि पार्टीको । जोकर बन्न त भएन । एक्लै मुख्यमन्त्री हुँदा जोगीजस्तो हालत हुन्छ । रिस्क लिन सक्नुपर्छ । म रिस्क लिन्छु ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप