शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय
समाचार

७९ करोड रुपैयाँको मागदाबी लिई राजस्व अनुसन्धान विभागले दायर गर्‍यो मुद्दा

सोमबार, ०५ चैत २०८०, १९ : ३४
सोमबार, ०५ चैत २०८०

काठमाडौँ । राजस्व अनुसन्धान विभागले ७९ करोड रुपैयाँको मागदाबी  लिई उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ । दुई फरकफरक मुद्दामा विभागले कुल ७९ करोड रुपैयाँको बिगो कायम गरी मुद्दा दायर गरेको हो । 

राजस्व अनुसन्धान विभागका सूचना अधिकारी नवराज अधिकारीका अनुसार विभागले दुई फरकफरक मुद्दामा कुल ७९ करोडको मागदाबी  लिइएको हो । सूचना अधिकारीका अनुसार उनीहरुले नक्कली कारोबार देखाएको र भ्याट छली गरेको, नक्कली कारोबार देखाएर भ्याट रिटर्न लिएको लगायतको कसुरमा अनुसन्धान भई मुद्दा दायर भएको हो । 

विभागले पहिलो मुद्दा संदिप ट्रेडर्सविरुद्ध दर्ता गराएको छ । स्थायी लेखा नम्बर ६१८७४५१०६ को बिजनेस फर्मले ६ लाख ४९ हजार ४ सय रुपैयाँको सामान खरिद गरी ६ करोड ५४ लाख २२ हजार ६६० रुपैयाँको सामान विक्री गरेको र भ्याट बिल बेचेको भन्दै मुद्दा दायर गरेको हो ।

उक्त बिजनेस फर्मका मुख्य कारोबारी दयाशंकर चौधरी र सञ्चालक विमलावती देवी चौधरीले राजस्व चुहावट गरेको भन्दै उनीहरुले राजस्व चुहावट गरेको ६ करोड ५४ लाख २२ हजार ६६० को व्यापार गर्दा ६ लाख ४९ हजार ४ सय रुपैयाँको मात्रै सामान खरिद गरेको देखिएको भन्दै विक्री भएको सामानबाट खरिद भएको सामान घटाई हुन आउने रकममा ब्याज, हर्जाना, जरिवाना आदि सबै रकम जोडेर १२ करोड ८५ लाख २६ हजार २८० रुपैयाँको बिगो कायम गरी मुद्दा दायर गरिएको हो । 

त्यस्तै अर्को मुद्दामा विभिन्न बिजनेस फर्महरूले नक्कली भ्याट बिलको कारोबार गरेको लगायतका कसुरमा मुद्दा दायर गर्दै हदैसम्मको सजाय समेत मागदाबी  लिइएको छ । विभागको अनुसन्धानको क्रममा भिसिटिएस प्रणालीको अध्ययन गर्दा कैफियत भेटिएपछि भएको विस्तृत छानबिनमा राजस्व हिनामिना भएको पाइएको हो । 

मुद्दा दायर गरिएका जया एण्ड जिया ईम्पेक्शका प्रोपाइटर राहुल कुमार दुवेदीले प्रविष्ट गरेको खरिद बिक्रीको विवरण, निजले आन्तरिक राजस्व विभागले सञ्चालन गरेको प्रणालीमा प्रविष्ट गरेको विवरणबाट प्राप्त गरेको भ्याट रिटर्न आदिको अध्ययन गर्दा कैफियत भेटिएको हो । 

दुवेदीले गुरु इम्पेक्शका प्रोप्राइटर सीताराम प्रसाद रौनियार, शुभश्री इन्टरप्राइजेजका प्रोपाइटर रिजवान अन्सारी, न्यु कञ्चन इन्टरप्राइजेजका प्रोप्राइटर मिरा कुमारी श्रीवास्तव, एस.पी. कन्सर्नका प्रोपाइटर प्रभुशंकर रौनियार र न्यू एस कुमार इन्टरनेशनलका प्रोप्राइटर रामछत्री सा कलवारसँग मिलेर भ्याट रिटर्न लिएको र राजस्व हिनामिना गरेको पाइएको हो ।

अनुसन्धानका क्रममा राहुल कुमार दुवेदी, सीताराम प्रसाद रौनियार, रिजवान अन्सारी, मिरा कुमारी श्रीवास्तव, प्रभुशंकर रौनियार, रामछत्री सा कलवार र बिरबलजी भनिने भारतीय नागरिकसमेतको मिलेमतो र संलग्नतामा भन्सार छली गरी ल्याउने गरेको पाइएको थियो ।

अनुसन्धानका क्रममा राजस्व हिनामिना भएको पाइएपछि जया एण्ड जिया ईम्पेक्शका प्रोप्राईटर राहुल कुमार दुवेदीलाई १७ करोड ३८ लाख ८० हजार २४० रुपैयाँ, श्री गुरु इम्पेक्शका प्रोप्राइटर सीताराम प्रसाद रौनियारलाई १ करोड ८२ लाख ९४ हजार ४७८ रुपैयाँ, शुभश्री इन्टरप्राइजेजका प्रोपाइटर रिजवान अन्सारीसँग २ करोड ११ लाख १९ हजार २३६ रुपैयाँ, न्यु कञ्चन इन्टरप्राइजेजका प्रोप्राइटर मिरा कुमारी श्रीवास्तवसँग २ करोड ११ लाख ८१ हजार ९०४ रुपैैयाँ, एस.पी.कन्सर्नका प्रोप्राइटर प्रभुशंकर रौनियारसँग १ करोड ७८ लाख ४० हजार २०० रुपैयाँ र न्यू एस कुमार इन्टरनेशनलका प्रोप्राइटर रामछत्री सा कलवारसँग १ करोड ७७ लाख २८ हजार ६६० रुपैयाँ बिगो कायम गरेको छ । उनीहरूसँग बिगो बराबरकै जरिवाना मागदाबी  लिइएको छ । 

राजस्व अनुसन्धान विभागका महानिर्देशक नव राज ढुङ्गानाले विभागले पछिल्ला दिनहरूमा गम्भीर प्रकृतिका राजस्व छलीको घटनाका सम्बन्धमा अनुसन्धान अगाडी बढाएको बताउँदै त्यसको परिणाम पनि आउने दाबी गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप