आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय
सुन तस्करी प्रकरण

जाँचबुझ आयोगलाई सीआईबीले दिएन शङ्कास्पदको सीडीआर र डीएफएल रिपोर्ट

आईजीपीलाई गुहार्दा पनि कागजात नपाएको तथ्य जाँचबुझ प्रतिवेदनमा
मङ्गलबार, ०६ चैत २०८०, १३ : ४८
मङ्गलबार, ०६ चैत २०८०

काठमाडौँ । सुन तस्करी जाँचबुझ गर्न गठित आयोगलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले असहयोग गरेको भेटिएको छ । सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगलाई सीआईबीले शङ्कितहरूको सीडीआर (कल डिटेल्स रेकर्ड) र डीएफएल (डिजिटल फरेन्सिक ल्याब रिपोर्ट) उपलब्ध नगराएको हो । आयोगले सो तथ्य आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ ।  

इलेक्ट्रिक चुरोट ‘भेप’ र ६० किलो सुन तस्करीमा संलग्न चिनियाँ नागरिक र बेल्जियन नागरिक दावा छिरिङ भन्दा बाहेक अन्य शङ्कितको ल्याब रिपोर्ट सीआईबीले नदिएको गृह मन्त्रालयका एकजना उच्च अधिकृतले रातोपाटीलाई बताए । ती अधिकृतले भने–‘आयोगले सो तथ्य प्रतिवेदनमा पनि उल्लेख गरेको छ ।’

सहसचिव झलकराम अधिकारी र विध ल्याबका सञ्चालक भीमकान्त भण्डारी लगायत पक्राउ परेका शङ्कितहरूको विवरण नपाउँदा काम गर्न समस्या परेको आयोगका अधिकारीहरू बताउँछन् । सीआईबीकी तत्कालीन प्रमुख किरण बज्राचार्यले ‘बहाना’ बनाएर मोबाइल जाँच रिपोर्ट र कल डिटेल्स नदिएकी हुन् ।

एआइजी बज्राचार्यले रिपोर्ट नदिएपछि आयोगले प्रहरी प्रधान कार्यालयमा पनि पत्राचार गरेको थियो । त्यसबारे आईजीपी वसन्त कुँवरसँग पनि रिपोर्ट उपलब्ध गराइदिन आग्रह गरिएको आयोगका पदाधिकारीहरू बताउँछन् । तर, प्रहरी प्रधान कार्यालयको ‘डिजिटल फोरेन्सिक ल्याब’मा परीक्षण गरिएको रिपोर्ट उपलब्ध गराउन आईजीपी कुँवरले ‘असमर्थता’ जनाएका थिए । फोरेन्सिक ल्याबले आयोगसँग सीआईबीको चलानी नम्बर भए उपलब्ध गराउने जवाफ दिएको तर, सीआईबीका अधिकारीहरूले चलानी नम्बर नदिएको पाइएको छ ।

 गृह मन्त्रालयका एकजना उच्च अधिकृतका अनुसार दावा छिरिङको सीडीआर र डीएफएल रिपोर्ट ब्यूरोका अधिकृतहरूले ‘कटिङ’ गरेर पठाएको भेटिएको छ । सुनको अनुसन्धानमा गम्भीर त्रुटि गरेको भन्दै पूर्व न्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको आयोगले एआईजी बज्राचार्य सहित सीआईबीका ४ जना अधिकृतहरूलाई कारबाही गर्न सिफारिस गरेको छ ।

डीएफएल रिपोर्ट दिन आनाकानी गर्दै एआइजी बज्राचार्यले धेरैको चाहिँ ‘मोबाइल परीक्षण गरिएको छैन’ भन्ने जवाफ दिएकी थिइन् । तर, शङ्कितहरूले आयोगका पदाधिकारीहरूसँग १५–१६ पेजको रिपोर्ट अनुसन्धान अधिकृतहरूले देखाएको बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप