आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
फिल्म

‘महाजात्रा नेताहरूले हेर्न सक्दैनन्’

महिलाको भूमिकामा अभिनय गर्न पनि तयार छु : विपिन कार्की
बुधबार, ०७ चैत २०८०, १० : ०८
बुधबार, ०७ चैत २०८०

काठमाडौँ । पछिल्लो समय प्रदर्शनमा आएका अधिकांश नेपाली चलचित्रले राम्रो व्यवसाय गर्न सकेका छैनन् । अभिनेता विपिन कार्की दर्शकको रुचि अनुसार निर्माण गर्न नसकेका कारण चलचित्रको व्यापार खस्किएको बताउँछन् ।

नेपाली दर्शकले के रुचाउँछन्, कस्तो फिल्म खोज्छन् भन्ने पत्ता लगाउन सकेमा नेपाली फिल्मको भविष्य राम्रो हुने अभिनेता विपिनले बताए । उनले भने, ‘दर्शक हलसम्म तान्न नसक्नुमा हामी फिल्म मेकरकै कमजोरी छ ।’

दर्शकका लागि स्तरीय फिल्म दिन नसकेको उनको भनाइ छ । ‘एनिमल’ र ‘केजीएफ’ जस्ता बलिउड फिल्म चल्ने तर नेपालमै नेपाली फिल्म नचल्ने भन्ने हुन्छ र भन्ने प्रतिप्रश्न समेत उनले गरे । उनले भने, ‘हामीले प्रयास गर्‍यौँ भने फिल्मको भविष्य बदल्न सक्छौँ ।’

नेपालमा फिल्म कलेज खुल्नु, विभिन्न डिजिटल प्रविधि भित्रिनु र एमिनेसन फिल्म बन्नु, नवीनतम् कथा खोजिनु नेपाली फिल्मका लागि सुखद सङ्केत रहेको विपिनको बुझाइ छ । उनी भन्छन्, ‘डेढ सय वर्ष पुगेका विदेशी फिल्म उद्योगको हालत त खराब छ । हाम्रो त भर्खर ६० वर्षको इतिहास न हो ।’

विपिन पछिल्लो समय फिल्म ‘महाजात्रा’का कारण चर्चामा छन् । ‘जात्रा’को तेस्रो सिक्वेलको रुपमा यो फिल्म निर्माण भएको हो । फिल्ममा उनी ‘जात्रा’कै फणिन्द्रेको भूमिकामा देखिँदैछन् । फणिन्द्रे पात्र पुरानो भए पनि समयसँगै उसमा आएको परिवर्तन यो फिल्ममा देख्न सकिने उनी बताउँछन् ।

‘जात्रा’को सोझो फणिन्द्रे जीविकोपार्जनका लागि ‘महाजात्रामा’ केही बदलिएको विपिनले खुलासा गरे । उनले भने, ‘कमेडी पञ्चिङ, धेरै कुरामा यो फिल्म फरक छ ।’ ‘महाजात्रा’ ठुलो क्यानभासमा बनेको राम्रो सन्देश बोकेको फिल्म भएको उनले सुनाए ।

फणिन्द्रे ‘जात्रा’ र त्यसपछि ‘जात्रै जात्रा’मा रुचाएको क्यारेक्टर पनि हो । हरेक फिल्ममा नयाँ चरित्र निर्वाह गर्ने उनी ‘महाजात्रा’ सिक्वेल भएकाले नयाँ चरित्र गर्न नपाएको बताउँछन् ।

विपिनबाट दर्शकले हरेक फिल्ममा नयाँ क्यारेक्टरको आश गर्छन् । यो फिल्ममा पुराना क्यारेक्टर गर्दा नयाँ केही छैन कि भन्ने प्रश्न स्वाभाविक रुपमा उठिरहेको छ । उनले भने, ‘आजभन्दा ८ वर्ष अगाडि पहिलो पटक फणिन्द्रे क्यारेक्टर गरेको थिएँ । त्यो समयदेखि अहिलेसम्मको अपडेट र परिवर्तन दर्शकले फिल्ममा पाउनुहुन्छ ।’

400805924_1436288540570670_6703919281519150564_n

विपिन अहिले फिल्म ‘महाजात्रा’को प्रचारमा पनि छन् । सोही सिलसिलामा रातोपाटीसँग उनको भेट भएको थियो । भेटमा उनले करिब ६ महिनामा आफ्नो फिल्म आउन लागेको जानकारी दिए । यसअघि उनको ‘पशुपति प्रसाद २ ः भष्मे डन’ रिलिज भएको थियो । कतिपय कलाकारको एकैसाता दुई फिल्म जुधेका छन् । धेरै समयपछि फिल्म आउन लागेकाले पनि ‘महाजात्रा’ दर्शकको रुचिमा पर्ने उनको विश्वास छ ।

‘महाजात्रा’ ब्ल्याक कमेडी र ब्ल्याक ह्युमरले भरिएको फिल्म हो । फुल कमेडी जनरामा निर्माण भएको यस फिल्मले पात्रको दुःखमार्फत दर्शक हसाउँछ । ‘जात्रा’ र ‘जात्रै जात्रा’को कमी कमजोरी ‘महाजात्रा’मा केलाइएको विपिन बताउँछन् । ‘कमेडी फिल्ममा यो कोसेढुङ्गा साबित हुनेछ,’ उनले दाबी गरे ।

विपिनका अनुसार फिल्ममा प्रचारमा नआएका झन् धेरै कुरा छन् । यो फिल्म नेताहरूले हेर्न नसक्ने उनी बताउँछन् ।

विपिन धेरै अफर पाउने र कम फिल्म खेल्ने हिरो हुन् । त्यसैले अहिले उनको हातमा साइन गरेका ‘काजी’, ‘तेल भिषा’ र ‘उनको सुइटर’ गरेर तीन फिल्म छन् । यो सकाएपछि एक राजनीतिक फिल्म गर्ने सोच उनको छ । जसको अफर मिलिसकेको उनले बताए । यसपछि अभिनयका लागि ६÷७ वटा स्क्रिप्ट पढिरहेको उनले सुनाए ।

‘अहिले हरेक दिन नयाँ फिल्मको अफर आउने गरेको छ’, उनी भन्छन्, ‘साइन गरेको फिल्म नसकेसम्म नयाँ गर्दिनँ भनेर टार्ने गरेको छु ।’

‘फिल्मको अफर आयो भन्दैमा सबैमा काम गर्ने सोच मेरो होइन’, उनले अगाडि भने, ‘भोलिको दिनमा दर्शक र पत्रकारप्रति पनि जबाफदेही हुनुपर्‍यो ।’ जथाभावी किन फिल्म खेल्नुभयो भन्ने प्रश्न आउँदा पैसाको अभाव थियो, खेलेँ भन्न नमिल्ने उनको विचार छ ।

उनी आफ्नो एक किसिमको स्ट्यान्ड बनाउने कोसिसमा छन् । त्यसका लागि ‘महाजात्रा’ उनको आशा र भरोसा हो । यसले आफ्नो आगामी करियरसमेत निर्धारण गर्ने उनले सुनाए ।

366358995_6708483665840205_8430708336450614965_n

हरिवंश चुनौती

‘महाजात्रा’ विपिनको मुख्य भूमिका रहेको फिल्म हो भन्नेमा दुईमत छैन । किनभने यो ‘जात्रा’को तीन मुख्य पात्रसहितको सिक्वेल हो । यो सिक्वेलमा आएर फिल्ममा वरिष्ठ कलाकार हरिवंश आचार्यको प्रवेश भएको छ । हरिवंश अभिनयका महारथी हुन् । उनीसँग अभिनयमा नारिनु भनेको ठुलै चुनौती सामना गर्नु हो । तर विपिनले यसलाई अवसरका रुपमा लिएका छन् । फिल्ममा हरिवंश आचार्यको प्रवेश आफ्ना लागि पनि राम्रो भएको उनी बताउँछन् ।

‘फिल्मको मुख्य चरित्र म हो । हरिवंश दाई एन्टागोनिष्ट भएर आउनु भएको छ । म पोटागोनिष्ट हो’, उनी भन्छन्, ‘एन्टागोनिष्ट बलियो भएन भने पोन्टागोनिष्ट कहिल्यै बलियो हँुदैन । पोटागोनिष्ट बलियो भएन भने एन्टागोनिष्ट खेर जान्छ ।’

हरिवंश र आफू फिल्ममा एक अर्काको परिपूरक रहेको उनले खुलाए । ‘हरिवंश दाइले यो फिल्ममा जति राम्रो गरेर मेरो क्यारेक्टर उठाइदिनु भएको छ, मैले त्यो सिरियसली लिँदा उहाँको क्यारेक्टर उठेको छ’, उनी थप्छन् ‘हरिवंशसँग प्रतिस्पर्धा भन्नु मेरो मुर्खता हुनेछ ।’

फिल्मको ट्रेलर, पोष्टर लगायतका प्रचार सामग्रीमा पनि निर्माण युनिटले विपिनलाई भन्दा हरिवंशलाई बढी प्राथमिकता दिएको छ । हरिवंश सिनियर कलाकार भएकाले त्यो उचित ठान्छन् उनी । ‘पहिलेका सिक्वेलमा ठुला कलाकार थिएनन् । म हाइलाइट भएँ’ उनले भने ।

नेगेटिभ भूमिका

हरेक फिल्ममा फरक पात्रमा देख्न मिल्ने कलाकार हुन् विपिन । ती पात्र मार्फत दर्शकको मनसमेत छुँदै आएका छन् उनी । कुनै फिल्ममा एउटै पात्र दोहोर्‍याउनु भन्दा नयाँनयाँ पात्रको जोमिख उठाउँदा सुख मिल्ने उनले बताए । त्यो जोखिमले उनलाई अवार्ड पनि दिलाउने गरेको छ ।

गत भदौमा रिलिज भएको फिल्म ‘एक भगवत एक गीता’मा उनले ट्रान्सजेन्डरको भूमिका निर्वाह गरेका थिए । सोही भूमिकाबाट उनले सोमबार सम्पन्न सातौँ निफ फिल्म फेष्टिभलमा उत्कृष्ट अभिनेता अवार्ड हात पारे । यसलाई कर्मको फल ठान्छन् उनी ।

अहिलेसम्म धेरै चरित्र निर्वाह गरिसकेका उनलाई ‘एनिमल’ फिल्ममा बबी देओलको भाइको रोलजस्तो काम गर्न मन छ रे ।

‘मलाई नेगेटिभ क्यारेक्टरको पराकाष्ठा गर्न मन छ । त्यो एउटा यस्तो क्रुर भिलेन होस्, जसको कल्पना गर्दा पनि मानिसमा डर होस्,’ उनले भने । एउटा एक्टरलाई सधैँ फरक भूमिकाको लोभ हुने उनले सुनाए ।

फिल्म ‘एक भगवत एक गीता’ मा उनको भूमिका र अभिनय हेरेपछि धेरै दर्शकले अब महिलाको भूमिकामा हेर्न मन रहेकोसमेत भनेका थिए । त्यतातिर पनि उनले ध्यान दिएका छन् । फिल्मको कथाले मागे त्यो चुनौती स्वीकार गर्ने उनले बताए ।

उनले कुराकानीको बिट मार्दै भने, ‘एउटा कलाकारमा संसारमा देखिएको सबै भूमिकाको लोभ हुन्छ । महिलाको भूमिका अफर आए पनि सजिलै स्वीकार्छु ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप