आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

‘एसियन हाइवे’ निर्माण गर्न पश्चिम खण्डमा रुख कटान सुरु

बुधबार, ०७ चैत २०८०, २० : २८
बुधबार, ०७ चैत २०८०

विराटनगर  । पूर्वपश्चिम एसियन राजमार्ग निर्माणका लागि मोरङको कानेपोखरीबाट रुख कटान सुरु भएको छ । 

‘दुई लेन’सडकलाई चार लेनमा रूपान्तरण गर्ने उद्देश्यअनुरूप निर्माण सुरु गरिएको एसियन राजमार्गको पश्चिम खण्डमा बुधबारदेखि रुख कटान सुरु भएको हो । कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री  गणेशप्रसाद उप्रेती (सुशिल)ले पश्चिम खण्डको रुख कटानको सुरुवात गरेका थिए । मन्त्री उप्रेतीले बाटो निर्माणका लागि रुख काट्नु स्वभाविक भएको र रुख काट्नका लागि बाटो बन्नु ठिक नभएको तर्क राखे । ‘एसियन हाइवे’ समयमै निर्माण गर्न प्रदेश सरकारले बाधा अड्चनहरूमा सहजीकरण गर्ने उनले प्रतिबद्धता जनाए ।  ‘एसियन हाइवे’ गौरवको योजना भएको उल्लेख गर्दै उनले कुनै पनि बहानामा निर्माण कार्य रोकिन नहुने बताए ।  

एसियाली विकास बैंकको सहयोगमा एसियन हाइवेसँग जोडिएको पूर्वी नेपालको काँकडभिट्टादेखि सुनसरीको लौकहीसम्म १२० किलोमिटर सडक चार लेनको काम अघि बढेको सडक आयोजना प्रमुख जगत प्रजापतीले बताए । सातदेखि ११ मिटर चौडाइको बिटुमिन सडकलाई ग्रामीण तथा वन क्षेत्रमा २४ मिटर, अर्धसहरी क्षेत्रमा ३३ मिटर र सहरी क्षेत्रमा सर्भिस लेनसहित ५० मिटर चौडाइको बनाउने बताइएको छ । एसियाली विकास बैंकको २८ अर्ब १७ करोड रुपैयाँको लागतमा झापा, मोरङ र सुनसरीसँग जोडिएको पूर्व पश्चिम राजमार्गको १२० किलोमिटर क्षेत्र चार लेनको बनाउनेछ ।  ७१ वटा नयाँ पुलसहित राजमार्ग विस्तार हुनेछ । राजमार्ग विस्तारका क्रममा १२ हजार भन्दाबढी रूख कटान हुनेछन् । 

एसिया महादेशका ३२ मुलुकलाई जोड्ने ‘महान् एसियाली राजमार्ग’ अन्तर्गत नेपालको एक किलोमिटर भागमा मेचीपुल निर्माणसँगै संरचना पूर्णरुपमा निर्माण भइसकेको छ । फराकिलो सडकका कारण सडकमा हुने सवारी दुर्घटना घटाउन तथा पूर्वी नाकाबाट स्थलमार्ग हुँदै आउने पर्यटकको संख्या बढ्ने हुँदा मुलुकको अर्थतन्त्रमै टेवा पुग्ने अपेक्षा गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप