सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

हेटौँडा-काठमाडौँ जोड्ने छोटो दुरीका २ सडक बन्द

बिहीबार, ०८ चैत २०८०, १२ : ०९
बिहीबार, ०८ चैत २०८०

मकवानपुर । हेटौँडा काठमाडौँ जोड्ने २ वटा सडक बन्द गरिएको छ । स्तरोन्नतिका लागि हेटौँडाबाट काठमाडौँ जोड्ने २ वटा छोटो दुरीका सडक बन्द गरिएको हो ।

हेटौँडा काठमाडौँ जोड्ने भीमफेदी कुलेखानी चखेल–मातातीर्थ सडक खण्ड १६ दिनका लागि बन्द गरिएको हो भने यस अघि कान्ति लोक पथ सडक पनि ४५ दिनका लागि बन्द गरिएको छ ।

चखेल–मातातीर्थ सडक खण्डमा कालोपत्रे बिछ्याउन सडक बन्द गरिएको हो भने कान्ति लोक पथ अन्तर्गतको काल्चेमा सडक फराकिलो बनाउन सवारी आवतजावत ठप्प पारिएको हो ।

चखेल–मातातीर्थ सडक खण्ड १६ दिनका लागि बन्द

सडक कालोपत्रेका लागि बेस बिछ्याउने कामका गर्न १६ दिनका लागि हेटौँडा हुँदै काठमाडौँ जोड्ने वैकल्पिक मार्गको रूपमा रहेको महालक्ष्मी दोभान–घट्टेखोला–चखेल–मातातीर्थ सडक खण्ड बन्द गरिएको छ ।

इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ५ ले एक विज्ञप्ति जारी गर्दै सडक कालोपत्रेका लागि बेस बिछ्याउने प्रयोजनका लागी उक्त सडक खण्ड बन्द गरेको हो । सूचनामा सडकमा निर्माण कार्य चलिरहेको समयमा सवारी आवतजावत पूर्ण रूपमा बन्द गरिएकोले वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरिएको छ ।

इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष दूतराज तितुङका अनुसार चैत २३ चैतसम्म सो सडक खण्डमा सवारी साधन आवतजावतमा रोक लगाइएको छ ।

पूर्वाधार विकास कार्यालय चितवनबाट ठेक्का सम्झौता भई निर्माण कार्य भइरहेको ६ किलोमिटर सडक खण्ड कालापत्रेका लागि सडक बन्द गरिएको हो । सो सडक खण्डको काठमाडौँ तर्फको मातातीर्थ सतुङ्गल खण्डको ८ किलोमिटर लम्बाइको सडक भने पूर्वाधार विकास कार्यालय ललितपुरले स्तरोन्नति कार्य गरिरहेको छ ।

हेटौँडाबाट काठमाडौँ प्रवेश गर्ने सबैभन्दा छोटो दूरीको उक्त सडक मार्गको २ दशकअघि ट्र्याक खोलिएको थियो । हेटौँडालाई– काठमाडौँ जोड्ने सो सडकको कुल लम्बाई ६१ किलोमिटर रहेको छ । उक्त सडक निर्माणका लागि पूर्वाधार विकास कार्यालय, ललितपुरले काठमाडौँको चन्द्रागिरि नगरपालिका–८, सतुङ्गलदेखि मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–५, मकैबारीसम्म र पूर्वाधार विकास कार्यालय, चितवनले इन्द्रसरोवर गाउँपालिका–५ मा पर्ने महालक्ष्मी दोभान–चखेल–मकैबारी खण्डको निर्माणको ठेक्का सम्झौता गरी काम गरिरहेको छ ।

सो सडकको दुवै खण्ड निर्माण कार्य सम्झौता मितिले १८ महिनामा सम्पन्न गर्नुपर्ने थियो । मकवानपुर तर्फ महालक्ष्मी दोभान– मकैबारी खण्ड आर्थिक वर्ष २०७७÷०७८ मा र मकैबारी– मातातीर्थ– सतुङ्गल खण्ड २०७५÷०७६ मा ठेक्का सम्झौता भएको थियो ।

जस अनुसार मकवानपुर तर्फको निर्माण कार्य आथिर्क वर्ष गत आर्थिक २०७९÷०८० मा सम्पन्न गरिसक्नु पर्ने थियो भने काठमाडौँ तर्फको निर्माण कार्य २०७७÷०७८ मा सम्पन्न गरिसक्नुपर्ने थियो । काठमाडौँ तर्फको उक्त खण्डको सडक निर्माण कार्यका लागि निर्माण कम्पनी अमर कन्स्ट्रक्सनसँग ठेक्का सम्झौता गरेको थियो भने मकवानपुर तर्फ महालक्ष्मी दोभान–चखेल–मकैबारी खण्डको सडक स्तरोन्नतिको लागि ७ करोड ३ लाख ६६ हजार रुपैयाँ लागतमा कविन्द्र एटीसी जेभीले ठेक्का सम्झौता गरी काम गरिरहेको छ ।

कान्ति लोकपथ ४५ दिन बन्द

यता हेटौँडा काठमाडौँ जोड्ने कान्ति लोकपथ चैत १ गतेदेखि बन्द गरिएको छ । सडक स्तरोन्नति गर्न ४५ दिनका लागि सो सडक खण्ड बन्द गरिएको हो । ललितपुरतर्फको काल्चे खण्डमा सडक चौडा र स्तरोन्नति गर्न चैत १ गतेदेखि बिहान १० देखि साँझ ५ बजेसम्म बन्द गरिएको हो ।

कान्ति लोक पथ सडक आयोजनाका अनुसार हेटौँडाबाट ठिंगन हुँदै बगुवा, काल्चे, भट्टेडाँडा, तीनपाने, टीकाभैरव हुँदै ललितपुरको सातदोबाटो पुग्ने कान्ति लोक पथ सडक १५ वैशाखसम्म बन्द हुने छ ।

काल्चेमा १.५ किलोमिटर सडक खण्डको साँघुरो ठाउँमा सडक चौडा गर्ने कार्यका लागि सडक बन्द गरिएको हो । सो सडक खण्डमा बन्द गरेर सडक माथिका कडा चट्टान कटिङ गरेर सडक चौडा गर्ने र सडक स्तरोन्नतिको काम भइरहेको छ ।

२०१३ मा शिलान्यास गरिएको सो सडक मार्गको करिब पाँच किलोमिटर भाग अझै कालोपत्रे हुन बाँकी छ । उक्त सडक खण्डको लम्बाई हेटौँडास्थित बुद्ध चोकदेखि ललितपुरको सात दोबाटोसम्म ९२ किलोमिटर रहेको छ ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप