चैतको हिउँले सेताम्मे बन्यो खुम्बु क्षेत्र

सोलुखुम्बु । सगरमाथा क्षेत्रमा भारी हिमपात भएको छ । बुधबारदेखि सुरु भएको हिमपात अहिले पनि जारी रहेको स्थानीयले बताएका छन् ।
चैतमा परेको हिउँले खुम्बु क्षेत्र सेताम्मे बनेको छ भने पर्यटकदेखि बालबालिका हिउँ खेलेर रमाइरहेका खुम्जुङका स्थानीय छिमी शेर्पाले बताए । उनका अनुसार खुम्बु क्षेत्रमा आठदेखि दश इन्चसम्म हिउँ जमेको छ ।
“पूरै खुम्बु सेताम्मे बनेको छ । यहाँ हिउँले वनजङ्गल, घर, विद्यालय सबै ढाकिएको छ । बुधबार दिउँसोदेखि सुरु भएको हिमपात अहिले पनि जारी छ । विद्यार्थीको परीक्षा चलिरहेकाले केही समस्या भइरहेको छ”, उनले भने ।
हिमपातपछि किसान भने खुसी भएका छन् । यतिखेर हिमाली भेगमा आलु रोप्ने समय भएकाले जमिन रसिलो हुने खुम्जुङकी ल्हेमी शेर्पाको भनाइ छ । चैतमा हिमपात भएपछि स्थानीयदेखि पर्यटन व्यवसायीसमेत आश्चर्यमा परेका उनको भनाइ छ ।
विगतमा पुस, माघमा पर्ने हिउँ अहिले चैतमा पर्नु स्वाभाविक मान्न नसकिने नाम्चेका पर्यटन व्यवसायी लामाकाजी शेर्पाले बताए ।
जलवायु परिवर्तनको असरका कारण हिमाली भेगमा अस्वाभाविक प्रणाली देखिन थालेको भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन् । यस सिजनमा वर्षात् हुनुपर्ने भए पनि नाम्चेसहितका क्षेत्रमा पुस, माघकै झल्को दिनेगरी भारी हिमपात भएको स्थानीय साङ्गे शेर्पाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रौतहटमा “जय नेपाल कप” क्रिकेट प्रतियोगिता सुरू
-
खानेपानी मन्त्रालय र कर्णाली प्रदेश जलस्रोत मन्त्रालयबीच सम्झौता
-
सङ्क्रमणकालीन न्याय सम्बन्धी आयोग : माओवादीलाई अध्यक्ष छाड्न तयार छैनन् कांग्रेस–एमाले
-
प्रबलको पहिरनमा चम्किएका दिलजीतदेखि बेबी बम्पसहित उपस्थित कियारासम्म, तस्बिरहरू
-
युद्धविरामका लागि वार्ता गर्नुको कुनै तुक छैन : हमास
-
केही देशका लागि भिसा आवेदनमा प्रतिबन्ध लगाउँदै बेलायत