शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

नेताहरूको फागु पूर्णिमा : ओलीले अबिर लगाएर बैठक सुरु गरे, प्रधानमन्त्रीले शोकका कारण मनाएनन् होली

आइतबार, ११ चैत २०८०, १९ : २८
आइतबार, ११ चैत २०८०

काठमाडौँ । रङहरूको पर्व फागु पूर्णिमा (होली) आइतबार काठमाडौँ उपत्यका लगायत पहाडी क्षेत्रमा हर्षोल्लासका साथ मनाइएको छ । हरेक वर्ष वसन्त  ऋतुको आगमनसँगै फागुन शुक्ल पूर्णिमाको दिन मनाइने यो पर्वमा रङमार्फत खुसी साट्ने गरिन्छ ।

काठमाडौँ उपत्यकाका वसन्तपुर, ललितपुरको पाटन दरबार क्षेत्र, भक्तपुरको दरबार क्षेत्र लगायतमा होली उत्सव आयोजना गरिएको छ । बालबालिका, युवायुवती, वृद्धवृद्धा, कलाकार, विद्यार्थी, पत्रकारदेखि नेताहरूले समेत फागु पूर्णिमा उल्लासका साथ मनाएका छन् ।

फागु पूर्णिमाको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल लगायतले बिहानै शुभकामना सन्देश दिएका छन् ।

यसै सिलसिलामा विभिन्न दलका शीर्ष नेताले समेत फागु पूर्णिमा मनाएका छन् । सत्तारुढ दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले केन्द्रीय कार्यालय च्यासलमा नेताहरूलाई अबिर लगाएर फागु पर्व मनाएका छन् ।

आइतबार सचिवालयको बैठक बोलाएका ओलीले नेताहरूलाई अबिर लगाएर बैठक सुरू गरेका थिए । त्यसपछि नेताहरूले एकअर्कालाई अबिर लगाइदिँदा बैठकको माहोल नै रमाइलो भएको थियो ।

oli holi

प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फागु पर्व नमनाएको सचिवालयले जनाएको छ । प्रचण्डले यसअघि पनि फागु पर्व मनाउने गरेका थिएनन् । यसपटक धर्मपत्नीको शोकमा रहेकाले पनि उनले होली पर्व नमनाएको सचिवालयले बताएको छ ।

यस्तै पूर्वप्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नै निवास बुढानीलकण्ठमा सुदूरपश्चिमका नेता तथा कार्यकर्तासँग फागु पर्व मनाएको स्वकीय सचिव भानु देउवाले जानकारी दिए । उनका अनुसार देउवासँग फागु मनाउन बिहानैदेखि निवासमा सुदूरपश्चिमका नेताहरू आएका थिए ।

यसैगरी पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले योपटक त्रिचन्द्र क्याम्पसमा विद्यार्थीहरूसँग फागु पर्व मनाएका छन् । आइतबार बिहान बसेको सचिवालय बैठकमा शुभकामना आदानप्रदान भए पनि होली नखेलिएको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले आफ्नो निर्वाचन क्षेत्र चितवनमा पुगेर मतदाताहरूसँग फागु पर्व मनाएका छन् । उनी गृहमन्त्री भएपछि पहिलोपटक निर्वाचन क्षेत्रमा पुगेका हुन् ।

rabi

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप