आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय
राजनीति

उपनिर्वाचनमा उम्मेदवार उठाउने/नउठाउनेबारे अलमलमा माओवादी

सोमबार, १२ चैत २०८०, ११ : १९
सोमबार, १२ चैत २०८०

काठमाडौँ । वैशाख १५ गते २ स्थानमा हुने प्रतिनिधिसभा र प्रदेश सभा सदस्य उपनिर्वाचनमा उम्मेदवार उठाउने वा नउठाउने सम्बन्धमा सत्तारुढ दल माओवादी केन्द्र अलमलमा देखिएको छ । रिक्त रहेको इलाम २ मा प्रतिनिधिसभा सदस्य र बझाङ १(१)मा प्रदेश सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले चैत्र २४ गते बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता प्रकाशित गरेको छ । 

तर सत्ता घटक एमाले र रास्वपा उपनिर्वाचनका लागि सक्रिय हुँदा माओवादी अहिलेसम्म कुनै निष्कर्षमा नपुगेको हो । यद्यपि उपनिर्वाचनमा आफ्नै उम्मेदवार उठाउने कि गठबन्धनबाट साझा उम्मेदवार बनाउने भन्ने विषयमा छलफल भइरहेको सचिव दीनानाथ शर्माले जानकारी दिए । 

‘उपनिर्वाचनबारे छलफल भइरहेको छ । आवश्यकता अनुसार निर्णय गर्न पदाधिकारी बैठक बस्न सक्छ । तर उम्मेदवार उठाउने विषयमा अहिले नै कुनै निष्कर्षमा पुगेका छैनौँ’, रातोपाटीसँग उनले भने । 

सत्ता गठबन्धनका ठुलो दल एमालेले इलाम २ मा युवा सुहाङ नेम्बाङलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । आइतबार बसेको एमालेको सचिवालय बैठकले दिवङ्गत नेता सुवासचन्द्र नेम्बाङका कान्छा छोरा समेत रहेका सुहाङलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । 

आफ्ना उम्मेदवारलाई सहयोग गर्न गठबन्धन दलहरूलाई एमालेले आह्वान गरेको छ । यस्तै बझाङ १(१) प्रदेशसभा सदस्यको उम्मेदवार जिल्ला अध्यक्षसमेत रहेका दमनबहादुर भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

 यस्तै रास्वपाले केन्द्रीय नेताहरूलाई इलाम क्षेत्र नम्बर २ मा उतारेर मतदाताहरूसँग भेटघाट गरिरहेको छ । तथापि कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा अहिले नै निष्कर्षमा पुगेको छैन । तर  प्रदेश सभामा भने उम्मेदवार नउठाउने निर्णय रास्वपाले गरेको छ । 

 

अर्को सत्ता घटक एकीकृत समाजवादी पार्टीले पनि प्रतिनिधिसभा र प्रदेश सभा सदस्यमा उम्मेदवार उठाउने वा नउठाउने सम्बन्धमा सचिवालय बैठकमा छलफल गरिरहेको छ । यसैगरी प्रमुख प्रतिपक्षी दल कांग्रेसले रिक्त प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवार छनोटको विषयमा छलफल गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप