शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

१८ इन्च लामो विश्वको सबैभन्दा ठुलो जुका

सोमबार, १२ चैत २०८०, १७ : ५४
सोमबार, १२ चैत २०८०

काठमाडौँ । जुका भन्ने बित्तिकै केही मान्छेलाई निकै डर लाग्छ । जुका १८ इन्च लामो हुन्छ भन्ने सुनेर डर नलाग्ने त को नै होला र ? जुकाहरू विश्वभर नै प्रायः ओसिलो र छिपछिपे पानी हुने ठाउँमा पाइन्छ । 

अधिकांश जुका मान्छेको माइली औँलाभन्दा पनि साना हुन्छन् । केही योभन्दा ठुलो हुन पनि सक्छन् । तर यसको एउटा प्रजाति यति ठुलो हुन्छ कि झट्ट हेर्दा कतिको सातो नै जान सक्छ ।

एमाजनको जंगलमा पाइने यो विशाल जुकाको नाम हेमेन्तेरिया घिलियानी हो । यो ब्राजिल नजिकका केही स्थान र फ्रेन्च गायनामा मात्रै पाइन्छ । त्यसैले तपाईँसम्म यो जुका आउने सम्भावना कम हुन सक्छ । फोटोमै यो जुका देख्दा पनि सिरिङ्ग हुन्छ । अधिकांश जुकाको प्रजाति ३० देखि ३६ सेमीसम्म लामो हुन सक्छन् । अपवादका केही प्रजाति ४६ सेमीसम्म पनि लामो हुन सक्छन् । तर हेमेन्तेरिया घिलियानी १८ इन्चसम्म लामो हुनसक्छ । यसलाई पहिलो पटक सन् १८४९ मा इटलीका प्रकृतिविद् भिट्टोरे घिलियानीले फेला पारेका थिए ।

अनलाइनमा भेटिएका केही जानकारीका अनुसार यो जीवले एक मिनेटमा मानव शरीरबाट ४ देखि १५ मिलिमिटरका दरले रगत चुस्न सक्छ । यो जुकाको सूँड मान्छेको शरीरमा १० सेमीसम्म भित्र पसेर रगत चुस्छ । सामान्य जुकाले रगत चुस्दा मुख गाँडेको ठाउँमा चिल्चिलाउन थाल्छ । तर यसको मुखबाट निस्कने केमिकलको ककटेलका कारण घोचेको ठाउँमा लट्ठ हुन्छ । त्यसैले मान्छेहरूले थाहै पाउँदैनन् । यो जुका महिनौँसम्म केही नखाईकन पनि बाँच्न सक्छ । रगत चुस्न थालेपछि यी जुकाको शरीरको तौल ३ देखि ६ गुणासम्म बढ्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप