शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

बम विस्फोटपछि चिनियाँ कामदारका लागि पाकिस्तानले बढायो सुरक्षा

बुधबार, १४ चैत २०८०, २२ : ३८
बुधबार, १४ चैत २०८०

पेशावार । एक आत्मघाती बम विस्फोटमा पाँच चिनियाँ कामदार मारिएको एक दिनपछि पाकिस्तानले मुलुकको उत्तर–पश्चिम क्षेत्रमा बेइजिङसम्बद्ध परियोजनाहरू निर्माण गरिरहेका चिनियाँ इन्जिनियरहरूको सुरक्षा बढाएको एक अधिकारीले बुधबार बताएका छन् । 

पाकिस्तान बेइजिङको सबैभन्दा नजिकको क्षेत्रीय सहयोगी हो र पाकिस्तानलाई हालैका वर्षहरूमा अर्बौं डलर लगानीको फाइदा भएको छ तर आफ्नो भूमिमा चिनियाँ श्रमिकहरूको सुरक्षाको प्रत्याभूति दिन पाकिस्तानले सङ्घर्ष गर्नुपरिरहेको छ । 

उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तको दासुमा एउटा जलविद्युत् बाँध निर्माण स्थलमा काम गरिरहेका चिनियाँ कामदारहरू इस्लामाबाद जाँदै गर्दा भएको आत्मघाती बम विस्फोटमा पाँच चिनियाँ इन्जिनियर र एक पाकिस्तानी चालकको मृत्यु भएको थियो । 

प्रान्तीय गृह मन्त्रालयका एक शीर्ष अधिकारीले बुधबार खैबर पख्तुनख्वामा चिनियाँ इन्जिनियहरूको आतिथ्यता गर्ने दुई दर्जनभन्दा बढी साइटहरूमा सुरक्षा बढाइएको बताए 

“चिनियाँ नागरिक र अन्य सबै विदेशीहरूो सुरक्षा बढाउनका लागि सबै कानून प्रवर्तन एजेन्सीहरूलाई निर्देशन जारी गरिएको छ”, नाम उल्लेख नगर्ने सर्तमा ती अधिकारीले भने, “विदेशी नागरिकहरूलाई पनि आफ्नो आवागमनमा प्रतिबन्ध लगाउन निर्देशन दिइएको छ ।”

सूचनामन्त्री अताउल्लाह तरारले इस्लामाबादमा पत्रकार सम्मेलनमा भने, “कुनै पनि अन्तरालको पहिचान गर्न र त्यसलाई हटाउन ध्यान केन्द्रीत गर्दै सुरक्षा प्रक्रियाको समीक्षा गरिने छ ।” यसैबीच हमलाका बारेमा थप विवरण आएका छन् । उक्त हमलाको अहिलेसम्म कसैले पनि जिम्मेवारी लिएको छैन । 

स्थानीय प्रहरी अधिकारी बख्त जहिरले बेशम सहर नजिकै मारिएका पाँच इन्जिनियरमा चार पुरुष र एक महिला रहेको जानकारी दिए । उनले हमलाकारीले १२ जनाको सुरक्षासहितको सवारीहरूमा बीचको सवारीलाई निशाना बनाएको बताए ।

“आत्मघाती हमलाकारीले आफ्नो वाहनलाई सवारीहरूको ताँतीमा घुसाए र आफैँलाई विस्फोट गराउँदा चिनियाँ इन्जिनियरहरूको वाहन एक सय ८० फिट गहिरो खाडलमा खसेर आगो लाग्यो”, उनले भने ।
पाकिस्तानको घरेलु शाखा तालिबान यस क्षेत्रमा सबैभन्दा सक्रिय आतङ्कवादी खतरा हो तर समूहका प्रवक्ताले मङ्गलबार राति जारी गरेको विज्ञप्तिमा पछिल्लो घटनामा आफ्नो संलग्नतालाई अस्वीकार गरेका छन् । 

चीनले आफ्नो ‘बेल्ट एन्ड रोड’ पहलअन्तर्गत विश्वभरमा २० खर्ब डलरको सम्झौतामा हस्ताक्षर गरेको छ । यसमा बेइजिङले हालका वर्षहरूमा पूर्वाधारहरूलाई बढावा दिन पाकिस्तानमा अर्बौं डलर लगानी गरेको छ ।

सन् २०१५ देखि पाकिस्तानका दुर्गम क्षेत्रहरूमा संयुक्त पाकिस्तानी–चिनियाँ टिमहरूले विद्युत् संयन्त्र, बन्दरगाह र यातायात परियोजनाहरूको निर्माण गरिरहेका छन् ।

यद्यपि चिनियाँ अनुदानमा सञ्चालित परियोजनाहरूले विशेषरूपमा पृथकतावादी समूहरूबीच असन्तोष सिर्जना गरेको छ । उनीहरूले यस्तो लगानीले स्थानीय बासिन्दालाई अत्यन्तै कम लाभ हासिल हुने र अधिकांश नोकरी बाहिरी मानिसले पाउने बताएका छन् । 

चिनियाँ लगानीको आधारशिला मानिएको दक्षिण पश्चिम पाकिस्तानमा ग्वादर बन्दरगाहको कार्यालयमा हमला गर्ने प्रयासमा सुरक्षा बलले कम्तीमा सात आतङ्कवादीलाई मारेको केही दिनपछि मङ्गलबारको हमला भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप