शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

एमाले कास्कीको अधिवेशन : पृथ्वीसुब्बासँग प्रदेशमा हारेको बदला लिए खगराजले

बिहीबार, १५ चैत २०८०, ०७ : ३९
बिहीबार, १५ चैत २०८०

पोखरा । नेकपा एमाले कास्कीको आगामी २ वर्षे कार्यकालका लागि बैनबहादुर अधिकारीको नेतृत्वमा नयाँ कमिटी निर्वाचित भएको छ । बुधबार सम्पन्न मतगणना अनुसार उनले माधव बास्तोलालाई २ सय ४ मतको विशाल अन्तरले पराजित गरे । अधिकारीले ५ सय ५१ मत ल्याउँदा बास्तोलाको ३ सय ४७ मत मात्रै आयो । स्वतन्त्र उम्मेदवारी दाबी गरेका विवेक त्रिपाठीले १७ मत पाए ।

अधिकारी केन्द्रीय सदस्य खगराज अधिकारी निकटका हुन् । उनी विरुद्ध उठेका बास्तोला केन्द्रीय उपमहासचिव पृथ्वीसुब्बा निकटका हुन् । गण्डकीमा अधिकारी र गुरुङबिच कडा प्रतिस्पर्धा छ, कहिलेकाहीँ अस्वस्थ पनि । कास्कीको अधिवेशनबाट अध्यक्षमा मात्रै नभई पदाधिकारी र अधिकांश सदस्यहरूमा अधिकारी प्यानलको वर्चस्व छ ।

उपाध्यक्षमा केआर समूहका भेषराज बरालले ५ सय २७ मत पाएर विजयी हुँदा पीएस समूहका शिव आचार्यले ३ सय ८८ मत पाए । सचिवमा केआरकै लेखबहादुर तामाङ दर्शन लामाले ५ सय ९७ मत ल्याएर विजयी हुँदा निकटतम प्रतिस्पर्धी पिएस समूहका सुरेन्द्र गुरुङले ३ सय २० मत प्राप्त गरे ।

उपसचिवमा लालबहादुर परियार र सन्तु सुवेदी विजयी भए । परियारले राधिका शाही योगीलाई हराएका हुन् भने सन्तुले सीता परियारलाई हराएकी हुन् । परियारले ५ सय ८१ र सुवेदीले ५ सय १० मत पाए । पराजित भएका शाहीले ३ सय ४४ र परियारले ३ सय ३४ मत पाए । विजयी दुवैजना केआर समूहका हुन् भने पराजित पीएस समूहका ।

कास्कीको चुनावले प्रदेशमा भएको पराजयबाट केआर कमब्याक भएका छन् । उनले पीएससँग बदला मात्रै लिएनन्, गृह जिल्लामा आफ्नो पकड सावित गरेर देखाए । सुरुमा सहमतिको प्रयास गरिएपनि दुवै पक्ष निर्वाचनको पक्षमा थिए । उनीहरुले आन्तरिक रूपमा ह्विप जारी गरे । कास्कीमा केआर समूहको नेतृत्व केन्द्रीय सदस्यहरू कृष्णबहादुर थापा र राजीव पहारीले गरेका थिए । पीएस समूहलाई केन्द्रीय सदस्य जगत् विक र निवर्तमान जिल्ला अध्यक्ष मनबहादुर गुरुङले हाँकेका थिए ।

पदाधिकारीसँगै अधिकांश सदस्यमा केआर ग्रुपले सफलता हात पारेको छ । २०७४ पछि गण्डकीमा यो दुई समूहको प्रतिस्पर्धाले नेता कार्यकर्ताका मनमा समेत चिसो पसेको छ । उनीहरू हरेक चुनावलाई प्रतिष्ठाको लडाइँसँग जोडेर हेर्छन् । तल्लो हदसम्म छरेर मत माग्छन् । स्थानीय चुनावदेखि पार्टीभित्रको चुनावसम्म उनीहरुले एक अर्कालाई रोक्ने मात्रै होइन, हराउनेसम्मको खेल खेल्छन् । पोखरा महानगरपालिकाको चुनावदेखि जिल्ला कमिटी र पछिल्लो समय प्रदेशको अधिवेशनमा निकै टक्कर परेको थियो ।

दसौँ जिल्ला अधिवेशनमा भने मिश्रित नतिजा आएको थियो । पछिल्ला चुनावहरूमा प्यानल नै जित्ने र हार्ने भइरहेको छ । प्रदेशको अधिवेशनमा पिएस टीमले केआर टीमलाई नराम्रोसँग पराजित गरेको थियो । त्यसको बदला केआरले कास्की जिल्लाको अधिवेशनबाट उठाएका छन् ।

कसरी पल्टियो पासा ?

यसपालिको निर्वाचनमा केआर ग्रुपले ‘फेस भ्यालु’ लाई बढी जोड दियो । सङ्गठनमा निरन्तर काम गरेको, तल्लो तहबाट काम गरेको र भूगोलमा बसेर काम गरेका उम्मेदवार छान्यो । बैनबहादुर तल्लो कमिटीबाट निरन्तर पार्टीमा काम गरेका व्यक्ति हुन् । उनी यसअघि जिल्ला सचिवमा निर्वाचित भएका थिए । उनले सक्रियता झनै बढाए, नेता कार्यकर्ताको मन जिते । अहिले चुनाव जिते । दर्शन लामा पनि युवा हुन् । उनी कमिटीका सबै नेता कार्यकर्ताबिच परिचित छन् । दुख परेका बेला साथ दिन्छन् ।

पीएस टिमबाट उठेका माधव नराम्रो उम्मेदवार त होइनन् । तर भूगोलमा कम भिजेका व्यक्ति थिए । उनको टिम पनि त्यस्तै थियो । पीएस समूहलाई मनोनयनको समयसम्म पनि उम्मेदवारको टुङ्गो लगाउन सकस परेको थियो, जबकि केआर समूहले उम्मेदवार सार्वजनिक गरेर आन्तरिक रूपमा मत माग्न थालिसकेको थियो । दीपक पौडेल, तेजनारायण अधिकारी लगायतले पनि अध्यक्षमा दाबी गरेका थिए । तर पीएसले जिल्ला कमिटीमा पदाधिकारी भएर काम समेत नगरेका माधवलाई च्यापे । उनीहरूबिच मन मिल्नुको सट्टा अझै दुरी बढेको देखिन्थ्यो । चुनावी रणनीति बुन्न पनि पीएस टिम यसपालि असफल भयो ।

अधिवेशनबाट १ सय २० जना निर्वाचित भएका छन् । १२ जना मनोनीत गरिनेछ भने बाँकी १२ जना अरू पार्टीबाट आएकाहरूलाई समेट्ने विधि छ । जिल्ला कमिटी १ सय ४४ सदस्यीय हुनेछ । जिल्लाको नेतृत्व छान्न ९ सय १५ जनाले मतदान गरेका थिए । ९ सय ३६ जना प्रतिनिधि छानिएको थियो । विद्युतीय मतदान प्रणाली अपनाइए पनि मतदातामा मेसिनप्रति परिचय नहुँदा निकै लामो समय लाग्यो । १६ वटा मेसिनबाट २० घण्टामा मतदान सकिएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रकाश ढकाल
प्रकाश ढकाल
लेखकबाट थप