सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

‘पोखरा पत्रकारिता सम्मान’ पराजुलीलाई

शुक्रबार, १६ चैत २०८०, २२ : २४
शुक्रबार, १६ चैत २०८०

गण्डकी । नेपाल पत्रकार महासङ्घ कास्की शाखामा स्थापित ‘पोखरा पत्रकारिता सम्मान’ बाट पत्रकार गङ्गाधर पराजुली सम्मानित भएका छन् । महासङ्घको ६९औँ स्थापना दिवसका अवसरमा आज पोखरामा आयोजित समारोहमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले रु ५० हजार पाँच सय ५५ राशिसहित पराजुलीलाई सम्मानपत्र र दोसल्ला प्रदान गरे ।

सम्मानित हुने पराजुली राष्ट्रिय समाचार समितिको पूर्वसञ्चालक समेत हुन् । न्यूनतम् पारिश्रमिक निर्धारण समितिका पूर्वअध्यक्षसमेत रहेका उनी लामो सयमदेखि पत्रकारितामा क्रियाशील रहेका छन् । पराजुलीलाई व्यक्तिगततर्फ विसं २०७९ को सम्मान प्रदान गरिएको महासङ्घ कास्की शाखाका अध्यक्ष विमला भण्डारीले बताइन् ।

संस्थागततर्फ विसं २०८० को उक्त सम्मान महासङ्घमा स्थापित ‘गजेन्द्र भण्डारी स्मृति सिर्जनशील पत्रकारिता पुरस्कार’ का संस्थापक राजु भण्डारी र उनका परिवारजनलाई प्रदान गरिएको उनको भनाइ छ । संस्थागततर्फ ताम्रपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो । शाखाले बर्सेनि पत्रकारिता क्षेत्रमा योगदान पुर्याउने पत्रकार र संस्था गरी आलापालो रुपमा उक्त सम्मान प्रदान गर्दै आएको छ ।  

सम्मान अर्पण समारोहमा मुख्यमन्त्री पाण्डेले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षाका पक्षमा प्रदेश सरकार दृढ रहेको धारणा राखे । लोकतन्त्रको आधार स्तम्भ पत्रकारिता रहेको भन्दै उनले उक्त पेसालाई जिम्मेवार र मर्यादित बनाउनुपर्नेमा जोड दिए ।

“हरेक नागरिक आन्दोलनमा पत्रकारिताले अहम् भूमिका खेल्दै आएको छ”, उनले भने, “पत्रकारिता कमजोर हुँदा स्वतन्त्रताको अधिकार खुम्चिन्छ, लोकतन्त्र पनि कमजोर हुन्छ ।”

उनले मिडिया क्षेत्रमा देखिएका कतिपय विकृतिको भने अन्त्य हुनुपर्नेमा जोड दिए । मिडिया र सामाजिक सञ्जालबीचको भिन्नता आम नागरिकलाई बुझाउनुपर्ने मुख्यमन्त्री पाण्डेले बताए । “लोकतन्त्र भने छाडातन्त्र होइन, मिडियाले पनि स्वतन्त्रताको दुरुपयोग गर्ने अवस्था आउनुहुँदैन”, उनले भने ।

मुख्यमन्त्री पाण्डेले सञ्चारमाध्यमको संस्थागत विकास र पत्रकारहरूको पेसागत हकहितका लागि सहयोग गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताए । सम्मानित पत्रकार पराजुलीले पछिल्लो समय पत्रकारलाई पेसामा टिकाइराख्ने चुनौती बढेको बताए ।

पत्रकारिताको संरक्षण गर्ने दायित्व पत्रकार, सञ्चार उद्यमीको मात्रै नभएर राज्य र नागरिक समाजको पनि भएको उनको भनाइ छ । “पत्रकारको पेसागत सुरक्षादेखि अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि राज्यले अभिभावकीय भूमिका खेल्नुपर्छ”, पराजुलीले भने, “पत्रकारको व्यावसायिक सुरक्षा, र वृत्तिविकासमा सबैको ध्यान जानु जरुरी छ ।”

पत्रकार महासङ्घ स्थापना दिवस : ‘सङ्कटको घेराभित्र पत्रकारिता’

पत्रकारिता जगत्ले भोगिरहेको विद्यमान अवस्था र सङ्कटप्रति सम्बद्ध क्षेत्रका व्यक्तिले चिन्ता प्रकट गरेका छन् । नेपाल पत्रकार महासङ्घको ६९ औँ स्थापना दिवसका अवसरमा महासङ्घको कास्की शाखाद्वारा आज यहाँ आयोजित ‘पत्रकारितामा सङ्कट र समाधानका उपाय’ विषयक संवाद कार्यक्रममा उनीहरूले पत्रकारिता सङ्कटको घेराभित्र रहेको बताए ।

महासङ्घ कास्की शाखाका निवर्तमान अध्यक्ष दीपेन्द्र श्रेष्ठले पत्रकारको पेसागत सुरक्षामा ठूलो खतरा पैदा भएको बताए । “पत्रकारिता चौतर्फी सङ्कटमा छ, कोभिड–१९, आर्थिक मन्दीजस्ता कारण देखाएर पत्रकार कटौती गरिएको छ, कतिपय मिडिया बन्द भएका छन्, छापा माध्यम बढी मारमा छ”, उनले भने, “पत्रकारिता पेसाबाट पलायन हुने प्रवृत्ति पनि बढ्दो छ ।”

श्रेष्ठले समाचार लेखेबापत पत्रकारको भौतिक सुरक्षा पनि जोखिममा परको बताए । “यही वर्षमात्र कास्कीमा दश जना पत्रकारमाथि धम्की र कुटपिटका घटना भएका छन्, स्वतन्त्र ढङ्गले पत्रकारिता गर्न सक्ने वातावरण छैन”, उनले भने, “राज्यले प्रेस स्वतन्त्रताको ग्यारेन्टी गर्न सकेको छैन, जोखिम र असुरक्षा छ ।”

पत्रकारकै कतिपय कार्यशैली र व्यवहारका कारण नागरिक समाज र अन्य क्षेत्रबाट पत्रकारिताप्रति टिकाटिप्पणी भइरहेको उनको भनाइ छ । “पत्रकारले पत्रकारिताबाहेक सबैथोक गर्ने गरेको भनेर व्यङ्ग्य पनि गर्ने गरेको सुनिन्छ, आवरणमा पत्रकारिता गर्ने भित्र अरु नै पेसा, व्यवसाय गर्ने गरेको आरोप पत्रकारप्रति लाग्ने गरेको छ”, श्रेष्ठले भने ।

नेपालमा मात्र नभएर विश्वभर नै पत्रकारिता क्षेत्र सङ्कटबाट गुज्रिरहेको भन्दै उनले सम्बद्ध सबै पक्ष जिम्मेवार भएर काम गर्नुपर्ने बताए । प्रेस सेन्टर नेपाल कास्कीका इञ्चार्ज सन्देश श्रेष्ठले स्वतन्त्र र व्यावसायिक पत्रकारितामा जोड दिए । उनले पत्रकार महासङ्घलगायत प्रेस सम्बद्ध सङ्घसङ्गठलाई राजनीतिबाट मुक्त राख्नुपर्ने बताए ।

नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष वासुदेव मिश्रले पत्रकार आफू स्वयं पनि मिडिया बजारमा प्रतिस्पर्धी रूपमा उत्रनुपर्ने बताए । “पत्रकार पनि सक्षम हुनुपर्छ, पाठक÷श्रोताले चाहेको विषयवस्तु हामीले दिन सक्नुपर्छ”, उनले भने, “हामी सिर्जनशील भएनौँ, नयाँ युगलाई पछ्याउन सकेनौँ भने नयाँ पुस्ताले हामीलाई विस्थापित गर्छ ।” अध्यक्ष मिश्रले पारिश्रमिक नदिने मिडियामा पत्रकारले काम गर्न नहुने बताए ।

महासङ्घ गण्डकी प्रदेश समितिका महासचिव गोविन्द सुवेदीले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितता राज्यले गर्नुपर्ने बताए । उनले मिडियाको संस्थागत विकास र पत्रकारको पेसागत सुरक्षाको विषयलाई सरकारले नीति, कार्यक्रममार्फत् समेट्नुपर्ने बताए ।

पत्रकार महासङ्घका केन्द्रीय सदस्य सरिता तिम्सिना पङ्गेनीले पत्रकारिता बौद्धिक पेसा भएकाले समाजले सोही अनुसार हेर्नुपर्ने बताए । मिडिया सरकारको स्थायी प्रतिपक्ष भएको भन्दै मिडियाले नागरिकका आवाजलाई बुलन्द पार्नुपर्ने उनको भनाइ छ । 

संस्थागततर्फ विसं २०८० को उक्त सम्मान महासङ्घमा स्थापित ‘गजेन्द्र भण्डारी स्मृति सिर्जनशील पत्रकारिता पुरस्कार’ का संस्थापक राजु भण्डारी र उनका परिवारजनलाई प्रदान गरिएको उनको भनाइ छ । संस्थागततर्फ ताम्रपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो । शाखाले बर्सेनि पत्रकारिता क्षेत्रमा योगदान पुर्याउने पत्रकार र संस्था गरी आलापालो रुपमा उक्त सम्मान प्रदान गर्दै आएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप