जो बस्छन् गाउँमा, उसैको स्वास्थ्य बीमा
पोखरा । पोखरी स्वाँराका भीम बहादुर दमैको शनिबार स्वास्थ्य बीमा भएको छ । वडा कार्यालयले उनको निःशुल्क बीमा गरिदिएको हो ।
पहिलो पटक स्वास्थ्य बीमा गरिएपछि उनी दङ्ग छन् । `गाउँमा बस्नेलाई पनि सरकारले हेर्दो रहेछ । समय फरक भएछ, अब गाउँमा बस्नेलाई पनि सरकारले देख्न थालेको छ,´ उनले भने, `मलाई खुसी लाग्यो ।´
पोखरा महानगरपालिका वडा नम्बर १३ ले ग्रामीण क्षेत्रमा बस्नेलाई स्वास्थ्य बीमा गरिदिएको हो । थातथलो नछोडी गाउँमै बस्दै आएका नागरिकको बीमा गरिएको वडा कार्यालयले जनाएको छ ।
पोखरी स्वाँराकै सरस्वती घले पनि निःशुल्क स्वास्थ्य बीमा कार्ड पाएर दङ्ग छिन् । अब उनको १ लाखसम्म उपचार गर्न आफूले खर्च गर्नुपर्दैन । `थोरै पैसा भए पनि बीमा गरेको थिइनँ । वडाले बीमा गर्दियो, उपचार गर्न सजिलो हुने भो,´ उनले भनिन् । स्वास्थ्य बीमाको टोलीसहित गाउँ पुगेका वडाध्यक्ष किरण बरालले उनीहरूलाई बीमा कार्ड हस्तान्तरण गरेका हुन् ।
वडाभित्रका विजयपुर, खामघले, डिगाउँ र पोखरी स्वाँरामा स्वास्थ्य बीमा गरिएको बरालले बताए । उनका अनुसार ४० परिवारलाई १ लाख बराबरको बीमा निःशुल्क गरिएको छ ।
`गाउँमा बस्नेहरूलाई वडाले गरेको सम्मान हो यो । कतिपयले रोग लागे पनि पैसा नभएर उपचार गराएका छैनन्,´ उनले भने, `बीमा भएपछि त रोग लुकाएर बस्न परेन नि । आफ्नो स्वास्थ्यप्रति सचेत पनि हुन्छन् ।´ जो बस्छन् गाउँमा, उसैको स्वास्थ्य बीमा भन्ने नारा सहित वडा कार्यालयले बीमा गरिदिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनीमा शनिबारदेखि अन्तर्राष्ट्रिय बौद्ध गोष्ठी
-
रविको ‘आदेश’मा लुकाइयो साढे ४४ लाखमा तयार सुन आयोगको प्रतिवेदन
-
आईपीएलको लिग चरणपछि इङ्ल्यान्डका खेलाडी स्वदेश फर्कने
-
कर्णालीमा नागरिक समाज र संघ-संस्थालाई सहज रूपमा काम गर्ने वातावरण सुनिश्चित गर्न माग
-
फोनपेद्वारा नेपालमा यूपीआईमार्फत संचालित सेवाहरूको प्रदर्शनी
-
आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्मा पेस गर्दैछौँ : मन्त्री शर्मा