बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय
बागमती प्रदेश सरकार

बागमतीका नवनियुक्त अर्थमन्त्री थपलिया : यस्तो छ राजनीतिक जीवन

शनिबार, १७ चैत २०८०, १९ : २८
शनिबार, १७ चैत २०८०

हेटौँडा । बागमती प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रीमा एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया नियुक्त भएका छन् । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले नेता थपलियालाई उक्त मन्त्रलयको जिम्मेवारी सहित नियुक्त गरेका हुन् । 

मुख्यमन्त्री जम्कट्टेलको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेता थपलियालाई पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन् । नेता थपलिया प्रदेश सरकारमा दोस्रो कार्याकालका लागि मन्त्री नियुक्त भएका हुन् । थपलिया प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयको दोस्रो इनिङ सम्हाल्न मन्त्री नियुक्त भएका हुन् । 

विद्यार्थी जिवनदेखि नै राजनीतिमा होमिएका जगन्नाथ थपलिया गत मंसिर ४ मा भएको निर्वाचनमा चितवन क्षेत्र नम्बर १ (१) बाट निर्वाचित भएका हुन् । चितवनका पुराना  कम्युनिस्ट नेता स्व.जागृतप्रसाद भेटवाल (जेपी) को झल्को मेटाउने थपलिया ‘जेएन’ उपनामले पनि परिचित छन् ।  

२०१३ साल साउन २० गते जन्मेका थपलियाका  बुवा धर्मानन्द थपलिया र आमा प्रममाया थपलिया हुन् । उनी २०२८ सालमा दोलखाको खिमावती माविको स्ववियु सचिव बनेर विद्यार्थी राजनीतिमा आएका हुन् । थपलिया २०३१–२०३२ सालसम्म आइपुग्दा तत्कालीन कम्युनिस्ट पार्टी कोअर्डीनेसन केन्द्रमा आवद्ध रहेका थिए । 

उनको सक्रियतासँगै २०३६ सालमा मिनभवन क्याम्पसको स्ववियु सभापति भए । उनले २०३९ सालमा पार्टी निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुको केन्द्रीय सचिव भएपछि २०४० सालदेखि ४४ सालसम्म ४ वर्ष राजनीतिका कारण मुद्दा खेप्नुपरेको थियो । 

मुद्दाका कारण थपलियाले केही समय केन्द्रीय कारागारमा बस्नुपरेको थियो । थपलियाले पटक-पटक गरी ५ वर्ष जेल जीवन बिताउनुपरेको थियो ।  राजनीतिलाई कमाइको पेसा बनाइनु हुँदैन भन्ने धारणा अवलम्बन गर्ने थपलिया सुरुमा शिक्षण पेसामा आवद्ध रहेका थिए ।

जनजीवन माबी खैरहनी चितवनमा २०४३ सालदेखि २०५१ सालसम्म प्रधानाध्यापक भएर काम गरेका थिए । व्यवस्थापन संकायमा स्नातकोत्तरसम्मको अध्ययन पूरा गरेका उनले २०६५ देखि २०६७ सालसम्म चितवन, भरतपुरको सप्तगण्डकी बहुमुखी क्याम्पसको प्रमुखको जिम्मेवारीमा समेत रहेका थिए । यस्तै २०६८ सालमा मदन भण्डारी फाउन्डेसन चितवनको संस्थापक अध्यक्ष पनि भएका थिए ।

 लामो समय नेकपा एमाले चितवन जिल्ला कमिटीमा प्रभावशाली भूमिका खेल्दै आउँदा उनले २०७० देखि २०७४ सम्म ४ वर्ष एमाले जिल्ला कमिटीको नेतृत्व गरे । मुलुकमा भएका दुई ठुला आन्दोलनहरु जनआन्दोलन २०४६ र २०६२–०६३ मा नेतृत्वदायी भूमिका खेलेका उनले २०७३ सालदेखि करिब साढे ३ वर्ष बागमती प्रदेशका तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख राजनीतिक सल्लाहकारको जिम्मेवारीमा रहेका थिए । 

उनी २०७९ पुस १४ गते नेकपा एमाले बागमती प्रदेश सभाको दलको नेता चयन भएका हुन् भने पुस २६ तत्कालीन सरकारमा आर्थिक मामिला तथा योजनामन्त्रीका रुपमा जिम्मेवारीमा रहेका थिए ।

हाल थपलिया नेकपा एमालेको केन्द्रीय सदस्य,भरतपुर महानगर पालिका इन्चार्ज एवम् पार्टीको केन्द्रीय शिक्षा विभाग उप–प्रमुखको रुपमा पार्टीमा क्रियाशील रहेका छन् । उनले अमेरिका,चीन,सिङ्गापुर लगायतका देश भ्रमण गरिसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप