'मोटरसाइकल जोगाउन खोज्दा जीप भिरमा खस्यो'
कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका–५ सल्यान घर भई पोखरामा अध्ययन गर्दै आएकी १५ वर्षीया सोनिसा सुनारको कक्षा ९ को वार्षिक परीक्षा सकिएको थियो । उनी सिमपानीस्थित स्पाइरल ग्यालेक्सीमा अध्ययन गर्छिन् । परीक्षा सकिएकाले आमा सुशीला, बुबा प्रकाश र २२ महिनाको भाइ सुप्रिमसँगै उनी घर सल्यान जाँदै थिइन् । वैदेशिक रोजगारीमा रहेका बाबु प्रकाश केही दिनअघि मात्र आएकाले परिवारमा छुट्टै रमाइलो थियो । बिदाको समय घर र मामाघरमा बसेर बिताउने तथा रमाइलो गर्ने योजना थियो । तर सोनियाको त्यो चाहना पूरा हुन सकेन ।
घर जानका लागि चारैजना चढेको ग१ज ५५४७ नम्बरको जीप आइतबार दिउँसो अन्नपूर्ण गाउँपालिका–४ भदौरेमा सडकबाट दुई सय ५० मिटर तल खसेर दुर्घटना भयो । दुर्घटनापछि घाइते चारै जनाको अहिले मणिपाल शिक्षण अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको छ ।
पोखराको हरिचोक सल्यान रुटमा चल्ने जीप दुर्घटनामा दुई जनाले ज्यान गुमाएका छन् । घटनामा १० जना घाइते भएका छन् । दुर्घटनामा घाइते सोनिसाको हात र खुट्टामा चोट छ भने परिवारका अन्य सदस्यको अवस्था मध्यम छ ।
सोनिसा जीपको अघिल्लो सिटमा थिइन् । ग्रामीण सडक भए पनि जीपको गति तीव्र थियो । “सल्लाघारीको डाँडाको ओरालो घुम्तीमा पुगेपछि विपरीत दिशाबाट एउटा मोटरसाइकल आयो । मोटरसाइकल तीव्र गतिमा थियो । घुम्तीमा मोटरसाइकलाई जोगाउन खोज्दा जीप भिरमा खस्यो”, सोनिसाले दुर्घटनाबारे बताइन् ।
घुम्तीमा दायाँ मोडिनुपर्ने जीप बायाँ मोडिएर भिरबाट तल खसेको थियो । दुर्घटनापछि स्थानीयले उद्धार गरी अस्पताल ल्याएको सोनिसाको भनाइ छ । “दुर्घटनापछि पनि म पूरै होसमा थिएँ । हामीलाई गाउँकै अन्यले उद्धार गरी अस्पतालमा ल्याउनुभएको हो”, उनले भनिन् । सो जीप दुर्घटनामा पोखरा–२३ कार्कीतगराका ५५ वर्षीय लक्ष्मण सुनार र ५२ वर्षीय जयराम सुनारको मृत्यु भएको छ ।
घटनामा पोखरा–२३ का ६० वर्षीय रामप्रसाद सुनार, अन्नपूर्ण गाउँपालिका–४ की ५० वर्षीया देउमाया केसी, सोही ठाउँका २२ वर्षीय धनराज सुनार, पोखरा–२३ का ५८ वर्षीय लक्ष्मण कामी, सल्यानका सात वर्षीय आरुष विक र ४१ वर्षीय राजकुमार विक घाइते भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । घाइतेमध्ये ६ जनाको मणिपाल र अन्यको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उज्बेकिस्तानविरुद्ध पहिलो हाफमा कोलम्बियाको अग्रता
-
स्वयम्भूको सार्वजनिक जग्गादेखि डल्लुको देवस्थलसम्म व्यक्तिको कब्जामा
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
पत्रकारलाई बिमा र सामाजिक सुरक्षा कोषमा जोड्दै बागमती प्रदेश सरकार
-
पूर्वाधार विकास कार्यालय बाराका प्रमुख एक वर्षमा ६ पटक फेरिए
-
मनसुनजन्य रोग व्यवस्थापनमा कस्तो छ सरकारको तयारी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण