मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

‘सञ्चय कोष र लगानी कोषको महँगो ब्याजको पैसा चाँडै फिर्ता गछौँ’

सोमबार, १९ चैत २०८०, १५ : ४६
सोमबार, १९ चैत २०८०

काठमाडौँ । नेपाल वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारीले अन्तर्राष्ट्रिय निकायहरूसँग सस्तो ब्याजमा कर्जा लिएर सञ्चय कोष र लगानी कोषको महँगो ब्याजको पैसा फिर्ता गरिने बताएका छन् ।  

सोमबार प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैठकमा बोल्दै अध्यक्ष अधिकारीले निगमले २०७५ असार १४ गते र २०७५ साउन ११ गते गरी दुईवटा वाइडबडी र न्यारोबडी जहाज नेपाल ल्याउनको लागि सरकारको जमानीमा कर्मचारी सञ्चय कोषबाट १२ अर्ब र नागरिक लगानी कोषबाट पनि १२ अर्ब रुपैयाँ महँगो ब्याजमा ऋण लिएर जहाज खरिद गरेको बताए । 

निमगले महँगो ब्याजदर घटाउनको लागि अन्तर्राष्ट्रिय निकायहरूसँग १ खर्ब ३५ अर्बको ऋण सहयोग माग गरेको उनले बताए । उनले उक्त लोन २ वा ४ प्रतिशतमा पाइयो भने महँगो ब्याजदरको पैसा फिर्ता गर्ने बताए । 

अध्यक्ष अधिकारीले नेपाल वायुसेवा निगमको काठमाडौँको न्युरोडमा १४ रोपना ७ आना,सिनामंगलमा ३४ रोपना १३ आना जग्गा तथा अन्य १३ जिल्लामा पनि जग्गा रहेको बताए । उनले न्युरोड र सिनामंगलका जग्गाहरुमा निगमको आधुनिक भवनहरू बनाउने योजना रहेको बताए । उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ५० वर्ष पुरानो घामपानी छेक्ने मात्रै ह्याङ्गर भएकाले आइका र आइकाओको मापदण्डअनुसार निगमले अत्याधुनिक प्रविधिको आफ्नै ह्याङ्गर बनाउनुपर्ने आवश्यकता रहेको बताए । उनले त्यसको लागि निगमले डिपीआर गरेर सरकारलाई पेस गरेर आर्थिक सहयोग जुटाइदिन माग समेत गरेको बताए । उनले यो विषयमा लगानीबोर्ड पनि चासो राखेको पनि बताए । उनले दुवैतिरको भवन बनाउँदा करिब १० अर्बभन्दा बढी रकम लाग्ने अनुमान रहेको बताए । उनले निगमको ह्याङ्गर बनाउनको लागि मात्र ५ अर्ब बढी रकम लाग्ने अनुमान रहेको बताए ।

अध्यक्ष अधिकारीले निगम सुधारको लागि निगम व्यवस्थापनले सरकारलाई र सरकारले निगमलाई आरोप प्रत्यारोप गरेर जिम्मेवारीबाट पन्छिने प्रवृत्ति देखापरेको बताए । उनले निगम सुधारको लागि व्यावसायिक योजनाहरू बनाउने चरण रहेको भन्दै बुद्धिष्ट सर्किटको लागि जहाजहरू लिजमा लिएर भए पनि काठमाडौँ–ब्याङ्गलोर,कोल्बो–काठमाडौँ उडान गर्ने योजना रहेको बताए । उनले जहाज लिजमा आएपछि भैरहवा—कोलम्बो उडानको लागि पनि योजना बनाएको दाबी गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप