सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय
टी-२० क्रिकेट

आयरल्यान्ड ‘ए’ माथि नेपाल ‘ए’ को तीन रनको रोमाञ्चक जित

सोमबार, १९ चैत २०८०, १६ : ५२
सोमबार, १९ चैत २०८०


काठमाडौँ । नेपाल ‘ए’ ले सोमबार खेलिएको तेस्रो तथा अन्तिम टी–२० क्रिकेटमा आयरल्यान्ड ‘ए’ माथि तीन रनको रोमाञ्चक जित हासिल गरेको छ । जारी शृंखलामा नेपालले यो सान्त्वना जित हासिल गरेको हो । तीन खेलको टी–२० शृंखला भने आयरल्यान्डले २–१ ले जित्यो । पहिलो र दोस्रो खेलमा आयरल्यान्ड विजयी भएको थियो ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपाल ‘ए’ ले निर्धारित ओभरमा सात विकेट गुमाएर दुई सय १३ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको आयरल्यान्डले २० ओभरमा सात विकेट गुमाएर दुई सय १० रनमात्र बनाउन सक्यो ।  

जवाफी ब्याटिङ गरेको आयरल्यान्डका दुई ब्याट्सम्यानले अर्धशतकीय पाली खेले पनि टोलीको जितका लागि त्यो पर्याप्त हुन सकेन । आयरल्यान्डका लागि गारेथ डेलानीले ६८ रन बनाए । मोर्गन टपिङले पनि ६० रन बनाएका थिए । आयरल्यान्डले अतिरिक्त रुपमा १२ रन पायो ।

आयरल्यान्डलाई लक्ष्यसम्म पुग्न नदिन नेपाली टोलीका बलर विपिन खत्रीले तीन विकेट लिए । उनले चार ओभरमा एक मेडन राख्दै २३ रन खर्चिए । कमलसिंह ऐरी, नारायण जोशी र रासिद खानले पनि एक–एक विकेट हात पारे । अन्तिम ओभरमा रासिद खानले बलिङ गरेका थिए ।

पहिले ब्याटिङ गरेको नेपालका लागि भने आरिफ शेखले उत्कृष्ट पाली खेल्दै अविजित ९३ रनको योगदान गरेका थिए । पाँचौँ नम्बरमा क्रिज समाल्न आएका आरिफ शेखले आक्रामक पाली खेल्दै केवल ४८ बलमा ६ छक्का र सातवटा चौका पनि प्रहार गरे ।
आरिफ शेख केवल सात रनका कारण शतक पुरा गर्नबाट चुकेका थिए ।

त्यसअघि आरिफ शेखले २९ बलमा तीन छक्का र तीन चौकाको मद्दतले अर्धशतक पुरा गरेका थिए । आरिफ शेख म्यान अफ दी म्याच पनि घोषित भए । रासिद खानले पनि २४ रन बनाए । नवौँ नम्बरमा क्रिज समाल्न आएका कमलसिंह ऐरीले पनि टोलीको खातामा अविजित १९ रन थपे ।

उनले केवल सात बलको सामना गरी एक छक्का दुई चौका हिर्काए । बसिर अहमदले १९ रन बटुले । पवन सर्राफले १३ रन जोडे । कप्तान विनोद भण्डारी ११ रन बनाउँदै आउट भए । ओपनर लोकेश बम आठ र देव खनाल ६ रन बनाउँदै पेभेलियन फर्किएका थिए । नारायण जोशी भने एक रनमै आउट भए । नेपालले अतिरिक्त रुपमा पनि १९ रन पाएको थियो । आयरल्यान्डका बलर फियोन ह्यान्डले दुई विकेट लिए ।

आयरल्यान्डको पहिलो विकेट विपिन खत्रीले लिएका थिए । उनले आयरल्यान्डका ओपनर ब्याट्सम्यान जेम्स म्याकोलुमलाई सात रनको ब्यक्तिगत स्कोरमा देव खनालद्वारा क्याच गराएका थिए । ३.२ ओभरमा जेम्स आउट हुँदा आयरल्यान्डले ४० रन बनाएको थियो ।

आयरल्यान्डको दोस्रो विकेट पनि विपिन खत्रीले नै लिएका थिए । उनले आयरल्यान्डका ओपनर ब्याट्सम्यान रोस एडिरलाई पवन सर्राफद्वारा क्याच गराएका थिए । पेभेलियन फर्किनुअघि एडिरले १४ बलमा एक छक्का र पाँच चौकाको मद्दतले ३१ रन बनाँएका थिए । ३.५ ओभरमा एडिर आउट हुँदा आयरल्यान्डले ४१ रन बनाएको थियो ।

आयरल्यान्डको तेस्रो विकेट विपिन खत्रीले लिएका थिए । उनले आयरल्यान्डका तेस्रो नम्बरका ब्याट्सम्यान पिटर मुरलाई दुई रनको ब्यक्तिगत स्कोरमा पवन सर्राफद्वारा क्याच गराएका थिए । विपिनले लिएको यो तेस्रो विकेट थियो । ५.२ ओभरमा पिटर आउट हुँदा आयरल्यान्डले ४८ रन बनाएको थियो ।

आयरल्यान्डको चौथो विकेट नारायण जोशीले लिएका हुन् । उनले आयरल्यान्डका कप्तान निल रकलाई दुई रनको ब्यक्तिगत स्कोरमा कमलसिंह ऐरीद्वारा क्याच गराए । ७.१ ओभरमा निल रक आउट हुँदा आयरल्यान्डले ५२ रन बनाएको छ ।

आयरल्यान्डको पाँचौँ विकेट रासिद खानले लिएका थिए । उनले मैदानमा जमिसकेका आयरल्यान्डका ब्याट्सम्यान मोर्गन टपिङलाई पवन सर्राफद्वारा क्याच गराएका थिए । पेभेलियन फर्किनुअघि मोर्गनले आयरल्यान्डलाई जितको सँघारमा पु¥याएका थिए । उनले ६० रन बनाए ।

मोर्गनले केवल ३७ बलको सामना गरी चार छक्का र चार चौका हिर्काएका थिए । मोर्गन र गारेथ डेलानीले टोलीका लागि एक सय २९ रनको साझेदारी गरेका थिए । १७.४ ओभरमा मोर्गन आउट हुँदा आयरल्यान्डले एक सय ८१ रन बनाएको थियो ।

आयरल्यान्डको छैटौँ विकेट कमलसिंह ऐरीले लिएका थिए । उनले आयरल्यान्डलाई जितको नजिक पुर्याउने ब्याट्सम्यान गारेथ डेलानीलाई एलबीडब्लूको धरापमा पारेका थिए । डेलानीले पेभेलियन फर्किनुअघि ६८ रन बनाएका थिए ।

डेलानीले ३७ बलको सामना गरी पाँच छक्का र पाँच चौका पनि हिर्काएका थिए । १८.२ ओभरमा उनी आउट हुँदा आयरल्यान्डले एक सय ८३ रन बनाएको थियो । रासिद खानले मोर्गन टपिङ र कमलसिंह ऐरीले डेलानीको विकेट लिएपछि नै नेपालको जित सम्भव भएको थियो ।

आयरल्यान्डले सातौँ विकेटका रुपमा फियोन ह्यान्डलाई गुमाएको थियो । उनी सात बलमा दुई छक्का र एक चौकाको मद्दतले २२ रन बनाउँदै रनआउट भएका थिए । १९.५ ओभरमा उनी रनआउट हुँदा आयरल्यान्डले दुई सय नौ रन बनाएको थियो ।

त्यसअघि पहिले ब्याटिङ गरेको नेपाल ‘ए’ ले पहिलो विकेटका रुपमा ओपनर देव खनाललाई गुमाएको थियो । देवलाई ६ रनको ब्यक्तिगत स्कोरमा आयरल्यान्डका बलर फियोन ह्यान्डले कप्तान निल रकद्वारा क्याच गराएका थिए । दोस्रो ओभरको अन्तिम बलमा देव आउट हुँदा नेपालले केवल १० रन बनाएको थियो ।

नेपालले दोस्रो विकेटका रुपमा अर्का ओपनर लोकेश बमलाई गुमाएको थियो । लोकेश आठ रनको ब्यक्तिगत स्कोरमा लियाम म्याकार्थीको बलमा आयरल्यान्डका कप्तान निल रकद्वारा समातिएका थिए । तेस्रो ओभरको दोस्रो बलमा लोकेश आउट हुँदा नेपालले केवल १५ रन बनाएको थियो ।

नेपालले तेस्रो विकेटका रुपमा कप्तान विनोद भण्डारीलाई गुमाएको थियो । तेस्रो नम्बरमा क्रिज समाल्न आएका विनोद आठ बलमा एक छक्काको मद्दतले ११ रन बनाउँदै आउट भएका थिए । उनलाई आयरल्यान्डका बलर फियोन ह्यान्डले बोल्ड गरेका थिए । ४.५ ओभरमा कप्तान विनोद आउट हुँदा नेपालले ३३ रन बनाएको थियो ।

नेपालले चौथो विकेटका रुपमा बसिर अहमदलाई गुमाएको थियो । बसिर अहमख २१ बलमा तीन चौकाको मद्दतले १९ रन बनाउँदै आउट भएका थिए । चौथो नम्बरमा क्रिज समाल्न आएका उनलाई आयरल्यान्डका बलर गाभिन होएले एलबीडब्लूको धरापमा पारेका थिए । १०.२ ओभरमा बसिर अहमद आउट हुँदा नेपालले ८० रन बनाएको थियो ।

नेपालले पाँचौँ विकेटका रुपमा पवन सर्राफलाई गुमाएको थियो । पेभेलियन फर्किनुअघि उनले १२ बलमा एक चौकाको मद्दतले १३ रन बनाएका थिए । पवनलाई आयरल्यान्डका बलर गारेथ डेलानीले विकेटकिपर निल रकद्वारा स्टम्पिङ गराएका थिए । १४.१ ओभरमा पवन आउट हुँदा नेपालले एक सय २० रन बनाएको थियो ।

त्यसलगत्तै नेपालले आफ्नो छैटौँ विकेट पनि गुमाएको थियो । नेपालले छैटौँ विकेटका रुपमा नारायण जोशीलाई गुमाएको थियो । उनी एक बलमा एक रन बनाउँदै रनआउट भएका थिए । १४.३ ओभरमा उनी आउट हुँदा नेपालले एक सय २१ रन बनाएको थियो ।

नेपालले सातौँ विकेटका रुपमा रासिद खानलाई गुमाएको थियो । उनी उत्कृष्ट ब्याटिङ गर्दै पेभेलियन फर्किएका थिए । उनले केवल १३ बलको सामना गरी तीन छक्काको मद्दतले २४ रन बनाएका थिए । उनलाई आयरल्यान्डका बलर म्याथ्यू फोष्टरले गाभिन होएद्वारा क्याच गराएका थिए । १४.४ ओभरमा उनी आउट हुँदा नेपालले एक सय ६७ रन बनाएको थियो ।

तीन खेलको शृंखला भने आयरल्यान्ड ‘ए’ ले यसअघि नै जितिसकेको छ । शुक्रबार खेलिएको पहिलो खेलमा आयरल्यान्ड ‘ए’ ले घरेलु टोली नेपाल ‘ए’ लाई २१ रनले हराएको थियो । शनिबार खेलिएको दोस्रो टी–२० खेलमा पनि आयरल्यान्ड ‘ए’ ले नेपाल ‘ए’ लाई ४० रनले पराजित गरेको थियो । टी–२० शृंखलापछि नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बिच तीनवटा एकदिवसीय खेलको शृंखला खेलिने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप