शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय
प्रहरी प्रशासन

६ महिनाअघि आईजीपीले पुरस्कृत गरे, अहिले बढुवामा छुटे

नेतृत्व परिवर्तन पिच्छे सरुवा र बढुवा नीति
सोमबार, १९ चैत २०८०, १९ : २६
सोमबार, १९ चैत २०८०

काठमाडौँ । नेपाल प्रहरीमा जनपद समूहतर्फ चैत १४ मा ८ जना डीएसपीहरु एसपीमा बढुवा सिफारिस भए । तीमध्ये ३ जना प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका पीएसओहरु छन् ।

प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीको व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) भएर काम गरेकाहरूले वरीयता सूचीको पुछारमा भएपनि अवसर पाए । तर, बढुवा सूचीको १ नम्बरमा रहेका डीएसपी प्रदीप बहादुर क्षेत्री चाहिँ बढुवा हुनबाट वञ्चित भएका छन् । प्रतिनिधिसभा बैठकको शून्य समयमा त्यसबारे प्रश्न उठेको छ । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले पहिलो नम्बरमा रहेका डीएसपी किन छुटेको भन्दै प्रश्न गरेका हुन् । सत्ता गठबन्धनको सिण्डिकेटका कारण क्षेत्रीलाई बढुवामा छुटाइएको उनले टिप्पणी गरे ।

Pradip 2 (2080)

बढुवा सिफारिस हुनबाट वञ्चित भएका प्रदीप क्षेत्रीलाई ६ महिनाअघि प्रहरी महानिरिक्षक वसन्त कुँवरले पुरस्कृत गरेका थिए । प्रहरी कार्यदक्षता मूल्याङ्कन ‘पुलिस ब्याटन’–२०८० मा देशभरका इलाका प्रहरी कार्यालयहरूमध्ये उच्च व्यवस्थापन गरेको मूल्याङ्कन समितिको सिफारिसका आधारमा आईजीपी कुँवरले उनलाई पुरस्कृत गरेका हुन् । आईजीपीले हस्ताक्षर गरेको प्रशंसा पत्र मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादवले क्षेत्रीलाई हस्तान्तरण गरेका हुन् । त्यसबेला डीएसपी क्षेत्री बारास्थित इलाका प्रहरी कार्यालय सिमरामा कार्यरत थिए । प्रहरी दिवस–२०८० को अवसरमा असोज ३० मा उनी पुरस्कृत भएका हुन् । तर, पुरस्कृत गरेको ६ महिना पुरा नहुँदै तिनै आईजीपीले उनलाई बढुवा हुनबाट वञ्चित गरेका छन् । क्षेत्रीले डिएसपी भएपछि २० वटा पुरस्कार पाएका छन् ।

डीएसपीबाट एसपीमा बढुवा सिफारिस समितिको अध्यक्ष आईजीपी हुन्छन् । बढुवा समितिमा प्रहरी अतिरिक्त महानिरिक्षक र गृह मन्त्रालयका सहसचिव सदस्य हुन्छन् ।

आईजीपी वसन्त कुँवर नेतृत्वको बढुवा समितिले निकालेको बढुवा सिफारिस सूचीमा ६ नम्बर वरीयतामा रहेका नारायण रंजिनकार पनि बढुवाको सूचीमा परेनन् । बढुवा सिफारिस भएका राजन लिम्बु र सन्तोष तामाङ एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा पीएसओ थिए । ओलीसँग लामो समय काम गरेका लिम्बु बढुवा प्रतिस्पर्धाको ८ औँ नम्बरमा थिए । सूचीको ९ औँ नम्बरका सन्तोष तामाङ चौथो नम्बरमा बढुवा भएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को पीएसओ भएर लामो समय काम गरेका डीएसपी विनोद घिमिरे सूचीको १२ औँ नम्बरमा थिए । उनी बढुवा सिफारिस भएका छन् ।

डीएसपीहरु ढकेन्द्र खतिवडा, अंगुर जिसी, यादव ढकाल, श्याम बाबु ओलिया र निरन्जन दत्त भट्टलाई एसपीमा बढुवा सिफारिस गरिएको छ । भट्टले भुटानी शरणार्थीको नाममा ठगी गरेको घटनाको अनुसन्धान गरेका हुन् । बढुवा सिफारिस भएका ८ जना २०७२ साउन १ मा इन्स्पेक्टरबाट डीएसपीमा बढुवा भएका थिए ।

प्रहरीमा आईजीपी र गृहमन्त्री परिवर्तन भएपिच्छे नयाँ नीति बन्ने र भत्कने हुँदै आएको छ । आईजीपी नियुक्त भएपछि वसन्त कुँवरले सिरियल नम्बरको आधारमा बढुवा गर्ने नीति ल्याए । तर, अहिले १ नम्बर वरीयतालाई नै भत्काएर उनले आफैँले ल्याएको नीतिको धज्जी उडाएका छन् ।

यसअघि इन्स्पेक्टरबाट डीएसपी बढुवा गर्दा आफू निकटकालाई बढुवा पुरस्कार दिन कुँवरले प्रतिस्पर्धी मध्येबाट छान्ने नीतिबाट बढुवा सूची प्रकाशन गरे । सरुवामा पनि आफू निकटका अफिसरहरूलाई आकर्षक ठाउँमा पठाउन आईजीपी र गृहमन्त्री परिवर्तन भएपिच्छे सरुवा नीति बन्ने र भत्किने प्रथा निरन्तर छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप