शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

तस्करी नियन्त्रण गरी ४ अर्ब राजस्व सङ्कलन, ७ हजार ६७९ जनामाथि कारबाही

सोमबार, १९ चैत २०८०, २० : ३४
सोमबार, १९ चैत २०८०

काठमाडौँ । तस्करी नियन्त्रण गरी राजस्व सङ्कलन गर्ने क्रममा चालू आर्थिक वर्षको हालसम्म जम्मा ४ अर्ब ३ करोड ४४ लाख ९६ हजार ५२९ रुपैयाँ ४८ पैसा बराबरको राजस्व सङ्कलन भएको नेपाल प्रहरीले जानकारी दिएको छ । ती शीर्षकमा संलग्न ७ हजार ६७९ जनालाई प्रहरीले कानुनी दायरामा ल्याई उक्त राजस्व सङ्कलन गरेको प्रहरीको भनाई छ । 

उक्त राजस्व चोरी, पैठारी तथा अवैध सुन, चाँदी, मालसामान, नदीजन्य पदार्थ, अवैध काठ बरामद, अवैध मुद्रा, हुन्डी कारोबार, ट्राफिक जरिवाना, फैसला कार्यान्वयन लगायतका शीर्षकहरूबाट सङ्कलन भएको हो । राज्यको कानुन कार्यान्वयनको क्रममा फैसला कार्यान्वयनबाट पक्राउ, अवैध भन्सार छली, ट्राफिक कारबाही लगायतका कार्यहरूबाट नेपाल प्रहरीले वार्षिक रूपमा ठुलो परिमाणमा राजश्व सङ्कलन गर्दै आएको छ । 

सङ्कलित राजस्वमध्ये अवैध मालसामान बरामदीबाट १ अर्ब ३६ करोड ४४ लाख ३ हजार २५६ रुपैयाँ, ट्राफिक जरिवानाबाट १ अर्ब १० करोड ३६ लाख ४५ हजार ३५४ रुपैयाँ र फैसला कार्यान्वयनबाट १ अर्ब २ करोड ७८ लाख ३ हजार ५४३ रुपैयाँ सङ्कलन भएको हो । 

चालू आर्थिक वर्षमा हालसम्म सङ्कलित राजस्व तथ्याङ्कको विश्लेषण गर्दा राजस्व सङ्कलन ६ अर्ब ५ करोड १७ लाख ४४ हजार ७९४ रुपैयाँ २२ पैसा हुने प्रक्षेपण गरिएको छ । जुन गत आर्थिक वर्षको तुलनामा ३५ दशमलव १७ प्रतिशतले बढी हुने आँकलन गरिएको छ । उक्त रकम मासिक औसत ५० करोड ४३ लाख १२ हजार ६६ रुपैयाँ दरले हुन आउँछ । चालु आर्थिक वर्षको फागुन मसान्तसम्म ८ महिनाको राजस्व सङ्कलन गत आर्थिक वर्षको ८ महिनाको तुलनामा ५० दशमलव २८ प्रतिशतले राजस्व सङ्कलनमा वृद्धि भएको देखिन्छ । आर्थिक वर्ष २०७८/०७९ र आर्थिक वर्ष २०७९/०८० को फागुन मसान्तसम्मको राजस्व सङ्कलन दुवै आर्थिक वर्षको ८/८ महिनाको तुलना गर्दा १० दशमलव ४ प्रतिशतले राजस्व सङ्कलनमा कमी आएको देखिन्छ । 

यसै गरी आर्थिक वर्ष २०७८/०७९ को फागुन मसान्तसम्म २ अर्ब ९९ करोड १ लाख ४३ हजार २४८ रुपैयाँ ६२ पैसा र चालु आर्थिक वर्षको फागुन मसान्तसम्म ४ अर्ब ३ करोड ४४ लाख ९६ हजार ५२९ रुपैयाँ ४८ पैसा बराबर राजस्व सङ्कलन भएको देखिन्छ । दुवै आर्थिक वर्षको ८ महिनाको राजस्व सङ्कलन दर तुलना गर्दा ३५ दशमलव १८ प्रतिशतले वृद्धि भएको देखिन्छ ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप