बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय
विश्वविद्यालय

त्रिभुवन विश्वविद्यालयमा किचलो सुरू, प्रधानमन्त्रीले रोके पदाधिकारीको नियुक्ति

बुधबार, २१ चैत २०८०, १० : ५४
बुधबार, २१ चैत २०८०

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष (रेक्टर) र रजिष्ट्रारको नियुक्ति प्रक्रिया रोकिएको छ । उपकुलपति प्राडा केशरजंग बरालले सिफारिस गरेको रेक्टर र रजिष्ट्रारको नियुक्ति विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रोकेका हुन् । 

उपकुलपति बरालले सिफारिस गरेर पठाएका नामहरू रोकेर प्रधानमन्त्री प्रचण्ड सत्तारूढ दल नेकपा एमालेसँग छलफलमा लागेका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नै उपकुलपति बरालले सिफारिस गरेका नाममा असन्तुष्टि जनाएपछि कुलपतिसमेत रहेका प्रधानमन्त्री प्रचण्डले नियुक्ति नगरी रोकेर राखेका हुन् ।

आफूले सिफारिस गरेका व्यक्तिलाई नियुक्ति नगरेको भन्दै उपकुलपति बराल भने असन्तुष्ट बनेका छन् । उपकुलपति बरालले रेक्टरमा प्राडा खड्क केसी र रजिष्ट्रारमा प्राडा केदार रिजाललाई नियुक्तिका लागि सिफारिस गरेका थिए ।

सिफारिस भएका केसी अन्तर्राष्ट्रिय सम्बन्धन विभागका प्राध्यापक हुन् भने रिजाल खुला विश्वविद्यालयका डीन र त्रिभुवन विश्वविद्यालय वातावरण विज्ञान विभागका प्राध्यापक हुन् ।

नेकपा एमाले र नेपाली कांग्रेसले आफूले भनेका व्यक्ति सिफारिसमा नपरेको भन्दै असन्तुष्टि जनाएका छन् । दुवै पार्टीको तर्फबाट सिफारिसमा परेका नामहरूमा असन्तुष्टि जनाएपछि कुलपतिले नियुक्ति रोकेको उपकुलपति कार्यालय स्रोतले जनाएको छ ।

कांग्रेस निकट प्रजातान्त्रिक प्राध्यापक संघले अध्यक्ष जगत तिमिल्सिना र एमाले निकट प्रगतिशील प्राध्यापक संगठनले अध्यक्ष प्राडा वेदराज केसीलाई बनाउन भनेका थिए ।  

प्रचण्ड समेत सिफारिस गर्नुअघि आफूसँग कुनै छलफल नगरेको भन्दै उपकुलपति बरालसँग असन्तुष्ट थिए । त्यही क्रममा एमाले र कांग्रेसले समेत असन्तुष्टि जनाएपछि कुलपतिले नियुक्ति ‘होल्ड’ गरेका हुन् । 

सिफारिसमा परेका केसी एमाले र रिजाल कांग्रेस निकट हुन् । तर सिफारिस भएका खड्क केसीलाई अध्यक्ष ओलीले चित्त नबुझाएको एमाले निकट स्रोतले जनायो । 

शिक्षामन्त्री तथा विश्वविद्यालयका सहकुलपति सुमना श्रेष्ठ र उपकुलपति बराल मिलेर केसी र रिजालको नाम सिफारिस गरेका थिए । तर, कुलपतिले दुवै नाममा असन्तुष्टि जनाएको उपकुलपति कार्यालयका एक अधिकारीले बताए ।

‘कुलपति समक्ष पेस गरिएको हो । उपकुलपति सरसँग के कुरा भयो, थाहा भएन । तर, सिफारिस भएको नाममा सन्तुष्ट देखिनुभएको छैन । नत्र हिजै नियुक्ति भइसकेको हुन्थ्यो,’ ती अधिकारीले भने ।

त्रिभुवन विश्वविद्यालयका एक प्राध्यापकका अनुसार एमाले र कांग्रेसको तर्फबाट भनेका व्यक्ति सिफारिसमा नपरेपछि कुलपतिले नियुक्ति रोकेका हुन् । ‘ओलीले भनेको प्राडा वेदराज केसी हुन् । उनी प्रगतिशील प्राध्यापक संगठनको केन्द्रीय अध्यक्ष हुन् । उनी सिफारिसमै परेका थिएनन् । सिफारिसमा नपरेपछि कुलपतिले रोक्नुभएको छ । संघको तर्फबाट जगत तिमिल्सिनालाई बनाउनुपर्ने भन्ने थियो,’ ती प्राध्यापकले भने ।

तिमिल्सिना त मापदण्डभन्दा बाहिर भएकाले आवेदन नै दिनबाट रोकिएका थिए । बेदराज केसीले आवेदन दिए पनि उनी छनौटमा परेका थिएनन् ।

उपकुलपति बरालले रेक्टर र रजिष्ट्रारका लागि बायोडाटा माग गरेका थिए । त्यसमा ११० जना प्राध्यापकले आफ्नो बायोडाटा पठाएको उपकुलपति कार्यालयले जनाएको छ । आवेदन दिएकाहरूमध्ये के मापदण्डको आधारमा २ जनाको नाम सिफारिस गरिएको भन्ने कुनै जानकारी छैन ।

‘गतिला व्यक्ति परेनन् । उपकुलपतिले के आधारमा नियुक्ति सिफारिस गर्नुभयो भन्ने कुुरा प्रमुख हो । एमालेको नाममा खड्क सर र कांग्रेसको नाममा रिजाल सर भनेर पठाएका हुन् । तर, आधार केही छैन,’ ती प्राध्यापकले भने ।

उनले मेट्रोक्रेसी तथा पार्टीगत वा व्यक्तिगत समेत कुनै आधारविनै सिफारिस गरेको ती प्राध्यापकको भनाइ छ । सिफारिसमा परेका दुवै जना उपकुलपति बरालसँगै पोखरा विश्वविद्यालयमा सँगै काम गरेका प्राध्यापक हुन् । सोही आधारमा उनले आफ्नो टिम बनाउन खोजेको हुन सक्ने स्रोत बताउँछ ।

चौतर्फी दबाब

गत फागुन ११ गते बराल उपकुलपति बनेका थिए । उपकुलपति बनेसँगै उनले आफ्नो टिम आफैँले छान्न पाउनुपर्ने बताउँदै आएका थिए । सोही आधारमा चैत ६ गते सार्वजनिक सूचना मार्फत ईच्छुक प्राध्यापकहरूसँग बायोडाटा माग गरेका थिए । दुवै पदका लागि कम्तीमा प्राध्यापक उपाधि प्राप्त गरेको हुनुपर्ने मापदण्ड तोकिएको थियो ।

एमाले र कांग्रेसले भनेका दुवै जना नपरेपछि कुलपतिलाई दबाब दिएर नियुक्ति रोकिएको भन्ने आफूहरूले बुझेको उपकुलपति निकट स्रोतले बतायो । त्यसका लागि उपकुलपति बरालमाथि चौतर्फी दबाब सिर्जना गरिएको छ । केही दिन अगाडि नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु, कांग्रेस निकट विद्यार्थी संगठन नेविसंघ लगायतले उपकुलपतिलाई भेटेर ज्ञापनपत्र बुझाएका थिए । विद्यार्थीको ज्ञापनपत्र बुझेको भोलिपल्टैबाट उपकुलपति बराल बिदामा बसेका हुन् ।

उनी चौतर्फी दबाव थेग्न नसकेर बिदामा बसेका छन् । तर, उपकुलपतिको सचिवालयले भने बिरामी भएकाले बिदामा बसेको जनाएको छ । बिदाको समयमा अत्यावश्यक कार्यहरू घरबाटै तथा भर्चुअल माध्यमबाट गर्दै आएको सचिवालयले जनाएको छ । कुलपतिले सिफारिस गरेकै व्यक्तिहरूलाई नियुक्ति गर्नेमा आफू विश्वस्त रहेको उपकुलपति बराललाई उद्धृत गर्दै उनको सचिवालयले बतायो ।

‘रेक्टर र रजिष्ट्रारमा सिफारिस गरेकै व्यक्तिहरू नियुक्त भएर आउनुहुन्छ भन्नेमा उपकुलपति विश्वस्त हुनुहुन्छ,’ सचिवालय स्रोतले भन्यो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्णसिंह धामी
कृष्णसिंह धामी

धामी श्रम/वैदेशिक रोजगार र शिक्षा विटमा विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप