ब्याट्सम्यानहरु निरीह बनेपछि आयरल्यान्डसँग हार्यो नेपाल
काठमाडौँ । ब्याट्सम्यानहरुले गतिलो प्रदर्शन गर्न नसकेपछि आयरल्यान्ड ‘ए’ विरुद्धको पहिलो एकदिवसीय खेलमा बुधबार नेपालको ‘ए’ टोली २१ रनले पराजित भएको छ । सामान्य विजलक्ष्य पछ्याए पनि नेपाली ब्याट्सम्यानले टोलीलाई लक्ष्यसम्म पुरयाउन सकेनन् ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको आयरल्यान्डले ३८.३ ओभरमा अलआउट हुनुअघि एकसय ५७ रनमात्र बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नेपालले २५.३ ओभरमै अलआउट हुनुअघि एक सय ३६ रनमात्र बनाउन सक्यो ।
नेपालका कुनै पनि ब्याट्सम्यान लामो समय क्रिजमा टिक्न सकेनन् । नेपालका लागि साहब आलमले सर्वाधिक ३७ रनको योगदान गरे । नवौँ नम्बरमा क्रिज समाल्न आएका साहब आलमले ३४ बलको सामना गरी एक छक्का चार चौका हिर्काए ।
साहब आलम क्रिजमा रहेसम्म नेपालले खेल जित्ने सम्भावना देखिएको थियो । तर, टोली जिततर्फ अगाडि बढिरहँदा बाउन्ड्री प्रहार गर्ने धुनमा साहब आलम क्याच आउट भएपछि नेपालको जितको आशा पनि समाप्त भएको थियो । उनी नवौँ विकेटका रुपमा पेभेलियन फर्किएका थिए ।
त्यसअघि नेपालका लागि ओपनर देव खनालले पनि २६ रन बनाए । उनले २२ बलमा चार चौका हिर्काए । छैटौँ नम्बरमा क्रिज समाल्न आएका बसिर अहमदले २० रन जोडे । उनले २१ बलमा एक छक्का र दुई चौका हिर्काए । रिजन ढकाल ३५ बलमा १२ रन बनाउँदै अविजित रहे । नेपालका अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन बनाउन सकेनन् । ओपनर अर्जुन कुमाल नौ रनमा आउट भए । भीम सार्की, आरिफ शेख र मौसम ढकालले त खातासम्म खोल्न सकेनन् । अर्जुन साउद चार रन बनाउँदै पेभेलियन फर्किए ।
कप्तान विनोद भण्डारी पनि नौ रनभन्दा अगाडि बढ्न सकेनन् । कमलसिंह ऐरी ६ रनमा आउट भए । नेपालले अतिरिक्त रुपमा १३ रन पायो । आयरल्यान्डका बलर म्याथ्यू हमफ्रेयसले पाँच विकेट लिए । लियाम म्याकार्थीले पनि चार विकेट हात पारे । नेपालका एक ब्याट्सम्यान रन आउट भएका थिए ।
त्यसअघि आयरल्यान्डलाई सस्तोमा समेट्न नेपाली टोलीका बलरहरुले उत्कृष्ट प्रदर्शन गरेका थिए । कमलसिंह ऐरी ह्याट्रिकसहित चार विकेट लिएका थिए । कमलले ६.३ ओभरमा एक मेडन राख्दै केवल २१ रन खर्चिएका थिए ।
कमल ३९ औँ ओभर बलिङ गर्न आएका थिए । २३ वर्षीय मध्यमतेज गतिका बलर कमलले ३९औँ ओभरको पहिलो बलमा आयरल्यान्डका लियाम म्याकार्थीलाई साहब आलमद्वारा क्याच गराएका थिए । त्यसपछि ३९औँ ओभरको दोस्रो बलमा उनले आयरल्यान्डका म्याथ्यू हमफ्रेयसलाई बोल्ड गरेका थिए ।
त्यसलगत्तै अर्को बलमा कमलले आयरल्यान्डका बेन ह्वाइटलाई पनि बोल्ड गरेका थिए । साहब आलम र मौसम ढकाल पनि दुई–दुई विकेट हात पारेका थिए । रिजन ढकालले पनि आयरल्यान्डका एक ब्याट्सम्यानलाई पेभेलियन फर्काएका थिए ।
आयरल्यान्डका लागि केड कार्मिचलले अर्धशतकीय पाली खेलेका थिए । चौथो नम्बरमा क्रिज समाल्न आएका केडले टोलीको खातामा ५१ रन थपेका थिए । यस क्रममा उनले ७७ बलको सामना गरी चार चौका पनि हिर्काए ।
यसैगरी कप्तान निल रकले पनि टोलीको खातामा ३९ रन थपे । पाँचौँ नम्बरमा क्रिज समाल्न आएका विकेटकिपर ब्याट्सम्यान निलले ३२ बलमा तीन छक्का र दुई चौका हिर्काए । आयरल्यान्डका अन्य ब्याट्सम्यानको प्रदर्शन भने सन्तोषजनक रहेन ।
ओपनर ब्याट्सम्यानद्वय जेम्स म्याककोलुम र स्टिफन डोहेनी भने १२–१२ रन बनाउँदै पेभेलियन फर्किएका थिए । तेस्रो नम्बरका ब्याट्सम्यान पिटर मुरले टोलीको खातामा २१ रन थपे । उनले ३४ बलमा एक छक्का र एक चौका हिर्काए । आयरल्यान्डले अतिरिक्त रुपमा पनि सात रन पाएको थियो ।
नेपाल र आयरल्यान्डबिच तीनवटा खेलको एकदिवसीय शृंखला खेलिने कार्यक्रम छ । दोस्रो एकदिवसीय शुक्रबार खेलिने छ । तेस्रो एकदिवसीय खेल आइतबार हुनेछ । यसअघि खेलिएको तीन खेलको टी–२० शृंखलामा भने आयरल्यान्ड ‘ए ’२–१ ले विजयी भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै युवाहरूकाे आन्दोलन
-
‘केनलाई डिफेन्डर किन बनाइयो ?’ ट्रम्पले पनि उठाए इंग्ल्याण्डको रणनीतिमाथि प्रश्न
-
इन्टर्नसिप गरिरहेका चिकित्सकहरूले गरे विरोध प्रदर्शन
-
युक्रेनकाे तीव्र आक्रमण : रूसमा इन्धनको अभाव चर्कियो
-
अरूलाई न्याय दिने अदालत आफैँ अन्यायमा !
-
टिपरको ठक्करबाट साइकल चालकको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण