बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय
विश्व

इजरायलसँग बदला लिने ताकत छ त इरानसँग ?

बिहीबार, २२ चैत २०८०, १७ : २९
बिहीबार, २२ चैत २०८०

तेहरान । सिरियाको राजधानी दमस्कसमा रहेको आफ्नो वाणिज्य दूतावासमा इजरायलद्वारा गरिएको हमलाको जवाफ दिने चेतावनी इरानले दिएको छ । सिरियास्थित इरानी राजदूतका अनुसार इजरायलले गरेको हमलामा इस्लामिक रिभोल्युशनरी गार्ड्स कोर (आईआरजीसी)का ७ र सिरियाका ६ नागरिक सहित १३ जनाको मृत्यु भएको छ ।

मारिनेमा बिग्रेडियर जनरल मोहम्मद रजा जाहेदी पनि रहेको बताइएको छ । उनी आईआरजीसीको विदेशी शाखा कुर्द्स फोर्सका महत्त्वपूर्ण व्यक्ति थिए । इजरायलले अहिलेसम्म यो घटनामाथि कुनै टिप्पणी गरेको छैन ।

तर इरान र सिरियाले हमलाका लागि इजरायललाई नै दोष दिएका छन् । यो हमलालाई विश्लेषकहरूले इरानमाथि मात्रै नभएर आईआरजीसीको शीर्ष नेतृत्वमाथिकै हमला भनिरहेका छन् । यो हमलामा आईआरजीसीलाई ठुलो क्षति भएको छ । यसले लेबनानमा हिजबुल्लाह र सिरियासँग समन्वय र हतियार एवम् प्रविधि हस्तान्तरणका लागि ठुलो धक्का भएको बताइएको छ ।

इरानका वरिष्ठ अधिकारीहरूले आक्रमणको आलोचना गर्दै इजरायलविरुद्ध जवाफी कार्बाही गर्ने धम्की दिएका छन् । इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनेइले चेतावनी दिँदै भनेका छन्, ‘हामी उनीहरूलाई यो अपराध गरेको अनि यस्तो कार्बाही गरेकोमा पश्चाताप गर्न बाध्य पार्नेछौँ ।’ इरानी राष्ट्रपति इब्राहिम राईसीले यस हमलालाई अमानवीय, आक्रामक र घृणित कार्य भन्दै यसको प्रतिकार गरिने बताएका छन् ।

सन् १९७९ मा भएको इरानको इस्लामिक क्रान्तिले पश्चिमलाई चुनौती दिने नेतृत्व सत्तामा आउन मौका दियो । त्यतिबेलादेखि इरानी नेताहरूले इजरायललाई ध्वस्त पार्ने कुरा गरिरहेका छन् । इजरायलको अस्तित्वलाई इरानले स्वीकार गर्दैन । इजरायलले मुसलमानहरूको भूमि अवैध रूपमा कब्जा गरेको इरानको भनाइ छ । अर्काेतर्फ इजरायलले पनि इरानलाई खतराको रुपमा हेर्छ । इरानसँग आणविक हतियार हुनुहुँदैन भनेर उसले बारम्बार बताउँदै आएको छ । इरान र इजरायलको सीमा एकअर्कासँग टाँसिएको छैन ।

तर इजरायलको छिमेकी देश लेबनान, सिरिया र प्यालेस्टाइनमा इरानको प्रभाव प्रस्ट देखिन्छ । सिरियाली विदेशमन्त्रीसँग फोनमा कुरा गर्दै इरानी विदेशमन्त्री हुसेन अमीर–अब्दुल्लाहियनले आक्रमणबाट सबै अन्तर्राष्ट्रिय दायित्व र सम्झौताको उल्लङ्घन भएको बताएका छन् । यसका लागि उनले इजरायलमाथि सिधै औंला उठाएका छन् ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले पूर्ण रूपमा आफ्नो मानसिक सन्तुलन गुमाएको इरानको विदेश मन्त्रालयको वेबसाइटमा अमिर–अब्दुल्लाहियनलले भनेका छन् ।

गाजा युद्धबिचमा इजरायल र इरानका सहयोगीहरूबिच हिंसाको डर बढेको यी बयानले देखाएको जानकारहरु बताउँछन् । यद्यपि इरानको प्रतिकारात्मक कार्बाहीको दायरा सीमित रहन सक्छ ।

‘सैन्य क्षमता र आर्थिक–राजनीतिक अवस्थालाई हेर्ने हो भने इजरायलसँग ठुलो भिडन्त गर्न इरान असक्षम छ । तर घरेलु राजनीतिको लागि भए पनि उसले यसको जवाफ दिनुपर्छ । आफ्ना क्षेत्रीय सहयोगीहरू बिच आफ्नो प्रतिष्ठा पनि जोगाउनुछ,’ पश्चिम एसिया मामिलाका विज्ञ अली सद्रजादेह भन्छन् ।

c37b9030-f204-11ee-a967-b9f431368451

यस्तै धारणा फवाज गेर्जेसले पनि राखेका छन् । इरानले इजरायल विरुद्ध सिधै जवाफी कार्बाही नगर्ने उनी मान्छन् । इजरायलले अपमानित गरेको अनि दुःख दिए पनि इरानले रणनीतिक धैर्य राख्ने सम्भावना भएको गेर्जेसको भनाइ छ । उसले यो भन्दा ठुलो लक्ष्य अर्थात् आणविक बम बनाउनेलाई प्राथमिकता दिनु पर्ने गेर्जेसको धारणा छ ।

‘यतिबेला इरानले ताकत बटुलिरहेको छ । युरेनियम प्रवर्द्धन गर्दै अगाडि बढिरहेको छ । इरानका लागि ५० वटा ब्यालेस्टिक मिसाइल पठाएर १०० इजरायलीहरूलाई मार्नु ठुलो उपलब्धि होइन । बरु इजरायल र अमेरिकाविरुद्ध रणनीतिक डटरेन्स कायम राख्नु हो,’ उनले भनेका छन् ।

गाजा युद्धपछि सिरिया, इराक, लेबनान र यमनमा इरान समर्थित लडाकुहरूद्वारा इजरायल विरुद्ध मिसाइल र ड्रोन आक्रमण बढेको छ । इजरायलसँग पूर्णस्तरमा युद्ध नहोस् भनेर उनीहरूले आफ्ना आक्रमणहरू सीमित राख्न चाहेका छन् ।

‘इरानको प्रोक्सी ताकतबाट इजरायली कूटनीतिक मिसनविरुद्ध आक्रमणको कल्पना गर्न पनि गाह्रो छ, तर इरानी समर्थक हुथी विद्रोहीहरूले लाल सागरमा इजरायली वा अमेरिकासम्बद्ध जहाजमाथिको हाल भइरहेको आक्रमण जारी राख्ने निकै सम्भावना छ,’ सद्रजादेह भन्छन् ।

तर इरान समर्थित हिजबुल्लाह लडाकुहरूले दमास्कस आक्रमणको जवाफ देलान् त ?

हिजबुल्लाह भारी हातहतियार भएको विश्वको सबैभन्दा ठूलो सशस्त्र गैर–सरकारी सैन्य बलहरू मध्ये एउटा हो । यो संगठनमा २० देखि ५० हजार लडाकु भएको अनि सिरियाली गृहयुद्धमा भाग लिएकाले उनीहरू राम्ररी प्रशिक्षित र बलियो पनि छन् । सेन्टर फर स्ट्राटेजिक एण्ड इन्टरनेशनल स्टडीज बौद्धिक संस्थाका अनुसार यस संस्थासँग करिब १ लाख ३० हजार रकेट र मिसाइलको भण्डार छ । तर, बीबीसीसँग कुराकानी गरेका विज्ञहरूले चाहिँ यो संस्थाले इजरायलविरुद्ध कुनै ठुलो अभियान चलाउने सम्भावना कम रहेको जनाए ।

‘हिजबुल्लाह वास्तवमा इजरायलको पासोमा पर्न चाहँदैन, किनकि उनीहरूले बुझेका छन् कि नेतान्याहु र उनको युद्ध मन्त्रीमण्डलले लडाइँलाई विस्तार गर्न धेरै प्रयास गरिरहेका छन् । नेतान्याहुको राजनीतिक भविष्य गाजामा युद्ध जारी र उत्तरी मोर्चामा हिजबुल्लाह र इरानसँग यसको विस्तारमा निर्भर गर्छ,’ गेर्गेज भन्छन् ।

अली सद्रजादेहचाहिँ इरानले इजरायलसँग युद्धको जोखिम लिनुको सट्टा प्रतीकात्मक जवाफ दिने बताउँछन् । सन् २०२० को जनवरीमा अमेरिकी ड्रोन हमलामा आईआरजीसीका शीर्ष कमाण्डर कासिम सुलेमानी मारिएको बदलामा इरानले बगदादको अल असद एयरपोर्टलाई निशाना बनाएको थियो । आफ्नो सबैभन्दा महत्त्वपूर्ण सैन्य कमाण्डर सुलेमानीको हत्याको जवाफमा इरानले प्रतिक्रियामा हमलामात्रै गरेको थियो । सो हतयाको गम्भीर बदला लिने बाचा इरानले गरेको थियो । तर इरानको जवाफी हमलामा हवाईपट्टीमा तैनाथ कुनै पनि अमेरिकी सैनिक मारिएनन् । अमेरिकी सेनालाई त्यो आक्रमणबारे अग्रिम चेतावनी दिइएको खबर आएका थिए ।

ebc0bf60-f205-11ee-a967-b9f431368451

दमास्कसस्थित इरानी वाणिज्य दूतावासमा भएको हमला विश्वसामु इरानको रक्षा शक्तिको कमजोरी देखाउन र इरानको सुरक्षा तन्त्रको कम्मर भाँच्ने फवाज गेर्गेसको विश्वास छ । इरानमा सत्तामा रहेकाहरूबिच द्वन्द्व चलिरहेको भर्जिनिया टेक स्कूल अफ पब्लिक एन्ड इन्टरनेशनल अफेयर्सका सार्वजनिक प्रशासनमा अनुसन्धानकर्ता युसुफ अजीजीको विश्वास छ । एक पक्षले इजरायललाई रोक्न इरानलाई आणविक शक्तिका रूपमा स्थापित गर्नुपर्छ भनेको अनि अर्को झनै आक्रमक र उग्र पक्षले भने इजरायल र यसको सैन्य प्रतिष्ठानहरूमा सिधै आक्रमणको सुझाव दिइरहेको होला भनेर उनी बताउँछन् ।

सरकारी मिडिया र सामाजिक सञ्जालको विश्लेषणले ‘रणनीतिक धैर्यता’ कायम राख्नु पर्छ भन्ने समर्थकहरूको हात माथि हुने सम्भावना देखाएको गेर्गेसको भनाइ छ ।

यस्तोमा इरानका जनताका लागि अर्को कुन बाटो खुला छ भन्ने प्रश्न उठ्छ । ‘इरानले इजरायलसँग बदला लिन साइबरस्पेस प्रयोग गर्न सक्छ भन्ने कुरालाई हामी नकार्न सक्दैनौँ,’ इजरायली इन्स्टिच्युट फर साइबर पोलिसी स्टडीजका ताल पावेलले बीबीसीलाई भनेका छन् । ‘हामीलाई थाहा छ कि इरान र इजरायलबिच पछिल्लो डेढ दशकदेखि गोप्य साइबर युद्ध चलिरहेको छ । त्यसैले यो यसैको अर्काे चरणमात्रै हुन सक्छ,’ उनले भनेका छन् ।

यो इरानका सर्वोच्च नेतामाथि निर्भर रहने इरानी विदेश मन्त्रालयका प्रवक्ता नासेर कनानी भन्छन् । ‘इरानसँग जवाफ दिने अधिकार सुरक्षित छ । जवाफ दिने तरिका र आक्रमणकारीहरूलाई सजाय दिने फैसला इरानले मात्रै गर्नेछ,’ उनी भन्छन् । इरानले विगत केही वर्षहरूमा प्राविधिक क्षेत्रमा प्रगति गरेको छ । अब उसँग उन्नत ड्रोनदेखि लामो दूरीको मिसाइलसम्म सबै कुरा छ । इजरायलको सामना गर्न सक्ने हतियारहरू छन् । तर पनि ऊ यसबाट बच्न चाहनेछ । इजरायलसँग पनि हतियार छ । तर इजरायललाई अमेरिकाको समर्थन छ । युद्ध भयो भने इजरायलले अमेरिकाको समर्थन पाउनेछ र यो इजरायलको लागि फाइदा जस्तै हो ।

यस्तो अवस्थामा इरानले इजरायलसँग सिधा युद्ध गर्न चाहेको जस्तो नलाग्ने विज्ञहरू बताउँछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप