सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

सवारी दुर्घटनामा चार जनाको मृत्यु

शुक्रबार, २३ चैत २०८०, २० : १२
शुक्रबार, २३ चैत २०८०

काठमाडौँ । विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ४ जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार  बैतडीको  पाटन नगरपालिका-८ झ्याउलेकस्थित सडकमा से.२ त ३६७८ नम्बरको ट्याक्टर सडकबाट  करिब १ सय ५० मिटर तल खसेर बिहीबार राति दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेहरूमा ट्रयाक्टरमा सवार सोही नगरपालिका-१० पनाली बस्ने ५० वर्षीय मान बहादुर बिष्ट र चालक कन्चनपुर शुक्लाफाटा नगरपालिका-३ पिपलाडी बस्ने ३० वर्षीय राजेश चौधरी  रहेका छन् ।

यसैगरी दोलखाको कालिन्चोक गाउँपालिका-२ पुटिस्याङस्थित सडकमा पुटिस्याङबाट सिंगटीतर्फ आउँदै गरेको लु.३ त १७१४ नम्बरको ट्रयाक्टर सडकबाट करिब ३५ मिटर तल खेतमा खसेर शुक्रबार बिहान दुर्घटना हुँदा ट्याक्टरमा सवार सोही गाउँपालिका-२ बाबरे बस्ने ३६ वर्षीया सन्ची माया थामीको घटनास्थलमै मृत्यु भएको छ ।

साथै दुर्घटनामा घाइते भएका ट्याक्टरमा सवार ४ जनाको धुलिखेल शाखा अस्पताल भिमेश्वरमा उपचार भइरहेको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

लमजुङको  मर्स्याङ्दी गाउँपालिका-६ डहरेस्थित सडकमा पनि बा.१७ च १४६५ नम्बरको जिप सडकबाट करिब २ सय मिटर तल खसेर शुक्रबार बिहान दुर्घटना हुँदा चालक दाङ घर भएका ३७ वर्षीय बिर सिंह परियारको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप