मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय
प्रदेश सरकार

लुम्बिनीमा जोखबहादुर महरा : अर्थमन्त्रीबाट बाहिरिएको एक वर्षपछि मुख्यमन्त्रीको कुर्चीमा

शनिबार, २४ चैत २०८०, ०७ : २०
शनिबार, २४ चैत २०८०

बुटवल ।  लुम्बिनी प्रदेशमा दोस्रो प्रदेशसभा निर्वाचनपछि तेस्रो मुख्यमन्त्रीको रूपमा माओवादी संसदीय दलका नेता जोख बहादुर महरा नियुक्त भएका छन् ।  एमालेका  लीला गिरीको नेतृत्वमा बनेको सरकारमा झन्डै तीन महिना अर्थमन्त्री बनेको महराले  १ वर्षपछि मुख्यमन्त्रीको कुर्चीमा बस्ने अवसर पाएका हुन् । रोल्पाबाट निर्वाचित महरालाई शुक्रबार प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । उनले आइतबार दिउँसो पद तथा गोपनीयताको शपथ लिनेछन् । 

महराले लीला गिरीको सरकारबाट गत वर्षको चैत ११ गते केन्द्रीय समीकरण परिवर्तनपछि राजीनामा दिएका थिए । निर्वाचनपछि अर्थमन्त्री बन्दा समर्थन पाएका दलहरूकै आडमा उनी मुख्यमन्त्री बन्न सफल भएका हुन् ।

पछिल्लो ६ वर्षको अवधिमा लुम्बिनी प्रदेशले पाँचौँ मुख्यमन्त्रीको रूपमा महरा सरकार पाएको हो। सङ्घीय सत्ता समीरणसँगै नेपाली काँग्रेस मुख्यमन्त्री डिल्ली बहादुर चौधरी अल्पमतमा परेपछि राजीनामा दिए । त्यसपछि शुक्रबार नागरिक उन्मुक्ति पार्टी सहित ५ दलका ४८ जना सांसदको हस्ताक्षरमा महराले लुम्बिनी प्रदेश सरकारको नेतृत्व अवसर पाएका हुन्।

उनले सत्ता गठबन्धनको सहमति अनुसार नै छिटै मन्त्रीमण्डल विस्तार गर्ने छन्। लुम्बिनी प्रदेशमा २०७४को फागुन ३ गते प्रदेशको पहिलो मुख्यमन्त्रीमा शङ्कर पोखरेल नियुक्त भएका थिए । एमाले र माओवादी एकीकृत भई नेकपा बनेको बेलामा पोखरेलको  सरकार पार्टी विभाजनसँगै २०७८ साउन २७ गतेसम्म ढलेको थियो । त्यसलगत्तै साउन २८ गते काँग्रेसको समर्थनमा माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसी मुख्यमन्त्री नियुक्त भएका थिए।

मुख्यमन्त्री केसीले २०७९ पुससम्म सरकारको नेतृत्व गरेका थिए । निर्वाचन भएपछि ठुलो दलको नेताको हैसियतमा एमाले संसदीय दलका नेता लीला गिरी २०७९ पुस २७ गते मुख्यमन्त्री नियुक्त भए ।

सङ्घीय राजनीतिमा भएको गठबन्धन परिवर्तनपछि लीला गिरीको सरकार ०८० वैशाखमा  ढलेको थियो । त्यसपछि माओवादी सहित समर्थनमा काँग्रेस संसदीय दलका नेता डिल्ली बहादुर चौधरी ०८० वैशाख १४ गते मुख्यमन्त्री बनेको थिए । सङ्घीय सत्ता समीकरण फेरिँदा प्रदेशमा पटक पटक सरकार परिवर्तन भइरहेको छ । त्यसकाे असर स्वरूप चौधरी प्रतिपक्षको कुर्चीमा पुगे  भने महरा मुख्यमन्त्री कुर्चीमा ।

lumbini-pradesh-1_nuupKeV3BF

एमालेले लुम्बिनी प्रदेश संसदीय दलका नेता एवं पूर्व मुख्यमन्त्री लीला गिरीले गठबन्धनलाई कायम राख्ने सहमति अनुसार पुरा कार्यकाल मुख्यमन्त्री बन्न महरालाई शुभकामना दिए। उनले भने-'मेरो शुभकामना छ, केन्द्रमा हुने फेरबदलले यहाँको कार्यकाल असर नपरी पुरा  समय काम गर्न पाउनुहोस् ।' 

सङ्घीयता आएपनि प्रदेश सरकार फेरबदल र दलहरूको निर्णय अझैसम्म प्रदेशलाई अधिकार नदिँदा समस्या आएको छ । सबै दलहरूको केन्द्रको निर्देशनको आधारमा सरकारलाई समर्थन र फिर्ता गर्ने अवस्था हुँदा प्रदेश सरकार समेत अस्थिर बनेको बुटवलका बहुमुखी क्याम्पसका प्राध्यापक वसन्तराज खनालले बताए । उनले भने– 'सङ्घीयता आएपछि केन्द्रले प्रदेशको आवश्यकता र इच्छा अनुसार यहीबाट निर्णय गर्ने अधिकारी नदिँदा समस्या आयो, अव प्रदेशलाई आफ्नो निर्णय आफैँ  गर्ने जिम्मा दिनुपर्छ ।'  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप