आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौँ विश्वविद्यालयमा नेपाली चलचित्र निर्माणसम्बन्धी राष्ट्रिय गोष्ठी

शनिबार, २४ चैत २०८०, १० : २८
शनिबार, २४ चैत २०८०

काठमाडौँ । काठमाडौँ विश्वविद्यालयमा नेपाली चलचित्र निर्माणसम्बन्धी दुई दिने राष्ट्रिय गोष्ठी सकिएको छ । विश्वविद्यालयको कला सङ्काय अन्तर्गत भाषा तथा आमसञ्चार विभागले बिहीबारबाट सुरू गरेको गोष्ठी शुक्रबार सकिएको हो । जसमा ३० भन्दा बढी चलचित्रकर्मी, प्राज्ञ तथा शोधार्थीको प्रस्तुति रह्यो ।

कार्यक्रममा चलचित्रकर्मी दीपा बस्नेतले समाज र संस्कृतिको रूपान्तरणमा चलचित्रको ऐतिहासिक भूमिकाबारे प्रकाश पारिन् । वैश्विक चलचित्र निमार्णको पृष्ठभूमिमा नेपाली चलचित्र निर्माणको अवस्थाको विश्लेषण गर्दै बस्नेतले थप अनुसन्धानमार्फत नेपाली चलचित्रको प्राज्ञिक इतिहास लेखिनुपर्नेमा जोड दिइन् ।

चलचित्र समीक्षक उर्जा आचार्यले दुई मुल धारका नेपाली चलचित्र “कबड्डी कबड्डी कबड्डी“ र “छक्का पन्जा ३“ को नारीवादी समालोचना प्रस्ताव गरिन् । आचार्यले नेपाली चलचित्रमा महिलाहरूको चरित्र निर्माण पुरुषको दृष्टिबाट गरिएको उनीहरूको भूमिका विकसित नभई सहयोगीमात्र हुनेमा प्रकाश पारिन् । 

आचार्यको तर्क थियो, यस्तो चित्रणले समाजमा लैङ्गिक मानदण्डहरूलाई चुनौती दिने चलचित्रको सम्भावनालाई कमजोर बनाउँछ । आचार्यले नेपाली चलचित्रले परम्परागत कथाभन्दा बाहिर गएर महिलालगायत विभिन्न व्यक्ति र समूहको सशक्त र सूष्म चित्रणलाई अंगाल्नुपर्ने आवश्यकतामा जोड दिइन् ।

मिडिया अध्ययनका अध्येता आकृति श्रेष्ठले हेर्ने कथाको “इन द जब अफ द टाइगर” र यस थ्योरीको “हनी हन्टर” नामक दुई वृत्तचित्रको तुलनात्मक विश्लेषण प्रस्तुत गरिन् । हेर्ने कथामा निर्देशकको सहभागितामूलक दृष्टिकोणले डकुमेन्ट्रीका विषयवस्तुसँग आत्मीयताको भावना सृजना गर्दा ‘हनी हन्टर’ मा लिइएको तुलनात्मक रूपमा दुरीको दृष्टिकोणले विषयवस्तु र दर्शकबिच आत्मीयताको सम्भावनालाई बाधा पुर्याउने गरेको बताइन् । 

मिडिया अनुसन्धानकर्ता सेजोल प्रधानाङ्गाले “कबड्डी“ शृङ्खलामा काजी चरित्रको गहन विश्लेषण गरिन् । प्रधानाङ्गले सामाजिक गतिशीलता भित्र चरित्रको भूमिका अर्थ्याउँदै आफ्नो प्रेम रुचि, मैया, र इर्ष्या र क्रोधपूर्ण उनको भावनात्मक यात्रालाई जित्नका लागि उसको निरन्तर प्रयासमाथि प्रकाश पारिन् । बदलिँदो सामाजिक परिवेशका बाबजुद काजीको चरित्र शारीरिक रूप र सामाजिक हैसियतमा स्थिर रहेको प्रधानाङ्गले बताइन् ।

तुलनात्मक अध्ययनमा मिडिया अनुसन्धानकर्ता सन्देश चौहानले ओस्कार अवार्डमा मनोनित चलचित्र  ‘ग्रीन बुक’ र ओस्कारका लागि नेपालको आधिकारिक छनौट ‘बुलबुल’को दृश्य पक्षबारे चर्चा गरे । चौहानको विश्लेषण बजेट र गुणस्तर, प्राविधिक र दृश्यका भिन्नताहरू बीचको सम्बन्धमा केन्द्रित थियो ।

नेपाल टुरिज्म बोर्ड, काठमाडौँ इन्टरनेशनल माउन्टेन फिल्म फेसिटभल र फिल्म डाइरेक्टर्स गिल्ड अफ नेपालको सहआयोजना तथा सहकार्यमा आयोजित कार्यक्रममा प्राज्ञिक लेख प्रस्तुतिका साथै  करीब आधा दर्जन लघु चलचित्रको प्रदर्शनी समेत भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप