मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

गाजा सम्झौता र नेतन्याहुको राजीनामाको माग गर्दै हजारौँ इजरायली सडकमा

आइतबार, २५ चैत २०८०, ०९ : २४
आइतबार, २५ चैत २०८०

इजरायल । हमासको कब्जामा रहेका इल्हाद काट्जिरको शव फेला परेपछि इजरायली जनताको आक्रोश भड्किएको छ । हजारौँ मानिस इजरायलको सडकमा उत्रिएका छन् । आफ्नो भाइको मृत्युको लागि काट्जिरकी बहिनी कार्मिट पल्टीले सामाजिक सञ्जालमा एउटा पोस्टमा इजरायली अधिकारीहरूलाई जिम्मेवार ठहराएकी थिइन् । यदि नयाँ युद्ध विराम सम्झौता भएको भए उनको भाइ जीवित हुने उनको भनाई थियो ।

तेल अभिवसहित देशका ५० स्थानमा एक लाख मानिसले प्रदर्शन गरेको दाबी इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका विपक्षीहरूले गरेका छन् । नेतान्याहुले तत्कालै राजीनामा दिनु पर्ने र चुनाव गराउनु पर्ने माग प्रदर्शनकारीहरूले गरिरहेका छन् । आइतबार गाजा युद्धको सुरु भएको ठ्याक्कै छ महिना पूरा हुँदै छ । तर गत अक्टोबर ७ मा हमासको हमलामा गाजामा इजरायलले बन्धक बनाएकाहरूलाई अझै रिहा गर्न सकिएको छैन ।

जनवरीमा काट्जिरको एउटा भिडियो सार्वजनिक भएको थियो । यसमा उनी सुरक्षित देखिएका थिए । उनी तीन महिनासम्म सकुशल रहेको विश्वास गरिएको थियो । शनिबार भएको सरकार विरोधी प्रदर्शनमा अपहरणमा परेकाका परिवारका सदस्य पनि समावेश भएका थिए । अहिले पनि हमासको कब्जामा कम्तीमा १३० इजरायली बन्धकहरू छन् । इजरायली प्रदर्शनकारीहरूले यी बन्धकहरूलाई मुक्त गर्न जतिसक्दो चाँडो बन्धक सम्झौता गर्न जोड दिइरहेका छन् ।

अर्को चरणको वार्ता कायरोमा हुँदै छ । यसमा हमास र इजरायलका प्रतिनिधिहरूका साथै सीआईए निर्देशक बिल बन्र्स र कतारका प्रधानमन्त्री मोहम्मद बिन अब्दुलरहमान अल थानी सहभागी हुनेछन् । अक्टोबर ७ यता पहिलो पटक इजरायलमा गत हप्ता नेतन्याहुविरुद्ध ठूलो प्रदर्शन सुरु भएको थियो । गाजा युद्धलाई लिएर नेतान्याहुको दृष्टिकोणका कारण जनतामा धेरै आक्रोश छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप