आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

देउवा, ओली, प्रचण्ड र लामिछानेसँग सभामुख घिमिरेले छलफल गर्ने

आइतबार, २५ चैत २०८०, १९ : ५५
आइतबार, २५ चैत २०८०

काठमाडौँ । प्रमुख प्रतिपक्षको मागबारे छलफल गर्न सभामुख देवराज घिमिरेले प्रमुख चार दलका शीर्ष नेतालाई छलफलका लागि बोलाएका छन् । 

सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेका सन्दर्भमा प्रमुख प्रतिपक्षले संसदीय छानबिन समिति गठनको मागसहित सदन चल्न नदिने अल्टिमेटम दिएकाले सभामुखले दलका शीर्ष नेतासँग छलफल गर्न लागेका हुन् ।

सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीका अनुसार सभामुखले सोमबार बिहान साढे १० बजे सभामुखको कार्यकक्ष सिंहदरबारमा शीर्ष नेतालाई छलफलका लागि बोलाएका हुन् । अधिकारीका अनुसार  प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र रास्वपाका सभापति रवि लामिछानेलाई छलफलका लागि बोलाइएको हो ।

घिमिरेले आइतबार चार जना नेतासँग टेलिफोनमा कुरा गरेर छलफलको समय निर्धारण गरेका हुन् ।

गत २१ गतेको प्रतिनिधि सभा बैठकमा नेपाली कांग्रेसले अर्को बैठकमा छानबिन समिति गठन नभए संसद् ठप्प पार्ने अल्टिमेटम दिएको थियो । प्रतिनिधि सभाको अर्को बैठक चैत २७ गते मंगलबार बोलाइएको छ । सत्तारुढ दलले कांग्रेसको माग अनुसार समिति गठन नहुने बताउँदै आएका छन् । कांग्रेसले विगत एक महिनायता निरन्तर लामिछानेमाथि प्रश्न उठाउँदै आएको छ । 

यसैबिच सरकारले यही साता हिउँदे अधिवेशन अन्त्य गर्नै तयारी गरेको छ । स्रोतका अनुसार आगामी बिहीबारको मन्त्रिपरिषद् बैठकमार्फत हिउँदे अधिवेशन अन्त्यका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने तयारी छ । जेठ १५ मा बजेट पेस गर्नुपर्ने भएकाले सो अगावै वर्षे अधिवेशन  आह्वान हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप