आइतबार, ०२ असार २०८१
ताजा लोकप्रिय
वायु प्रदूषण

किन बढ्यो काठमाडौँमा वायु प्रदूषण ?

मङ्गलबार, २७ चैत २०८०, १३ : ५७
मङ्गलबार, २७ चैत २०८०

काठमाडौँ । काठमाडौँको वायुको गुणस्तर पछिल्लो पटक विश्वकै अस्वस्थकर सूचीमा पुगेको छ । सोमबार (चैत २६ गते)  बिहान काठमाडौँको वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) १७३ थियो भने मंगलबार १८० पुगेको छ । जनस्वास्थ्यको हिसाबले ५० भन्दा बढी एक्यूआईलाई ‘अस्वस्थकर’ मानिन्छ ।

केही दिन यता काठमाडौँ उपत्यकासहित नेपालको वायुमण्डल तुवाँलोले भरिएको छ । यसो हुनुमा कृषि अवशेष जलाउनु, वनमा डढेलो लाग्नु मुख्य कारण रहेको वायु गुणस्तर विज्ञ डा. भुपेन्द्र दास बताउँछन् । ‘नेपालमा वायु प्रदूषण बढेको दुईदेखि तीन हप्ता भयो,’ डा. दासले भने, ‘यो सिजनमा कृषि अवशेष जलाउनु र वन डढेलो लाग्नु वायु प्रदूषणको मुख्य कारण हुन् ।’

डा. दासले उद्योग, सवारी साधनले वर्षभर नै वायु प्रदूषण हुने तर अहिलेको सिजनमा डढेलो र कृषि अवशेषका कारण वायुको गुणस्तर थप खस्किएको उल्लेख गरे । वर्षभर हुने वायु प्रदूषणको ५० प्रतिशत हिस्सा अप्रिल महिनाले नै ओगट्ने उनले सुनाए ।

काठमाडौँ उपत्यकामा पछिल्ला समय वायुको गुणस्तर खतरनाक स्तरभन्दा निकै माथि पुगेको छ । यस्तो अवस्थामा घाँटी बस्ने, खस–खस हुने, रुघाखोकी लाग्ने, श्वासप्रश्वासमा समस्या हुने गर्दछ । डढेलो, कृषि अवशेष जलाउनु, सवारी साधन, उद्योग, निर्माण कार्य लगायतका कारण वायु प्रदूषण भएको वातावरण विभागका सिनियर डिभिजनल केमिष्ट दिपक ज्ञवालीले बताए । ‘काठमाडौँ उपत्यका कचौरा आकारको भएकाले यहाँ हावा सजिलै आए पनि निस्किन सक्दैन,’ उनले भने, ‘त्यसैले यहाँ प्रदूषण बढेको हो ।’

ज्ञवालीका अनुसार उत्तरपश्चिम र दक्षिण पश्चिमबाट काठमाडौँ उपत्यकामा हावा प्रवेश गर्ने हावा उडेर पूर्वमा साँखुबाट बाहिरिन्छ । तर हावा नचल्ने, पानी नपर्ने भएकाले उपत्यकाको वायु गुणस्तर झनै खराब भएको हो ।

‘एक पटक काठमाडौँ उपत्यकामा वायु प्रवेश गरेपछि यहाँबाट हावा निस्कान नसक्ने हुन्छ ।’ डा. दासले भने, ‘काठमाडौँ उपत्यकामा माथिल्लो तहमा हावाको वेग चल्ने तर तलको भागमा नचल्ने भएकाले हावा निस्कन सक्दैन । काठमाडौँ उपत्यकामा वायु प्रदूषण नियन्त्रणमा आउन पानी पर्नुपर्ने हुन्छ ।’

दुई सिजनमा वायु प्रदूषणको जोखिम

नेपालमा मुख्य गरी जाडो मौसम र हालको मौसम गरी दुई सिजनमा वायुको गुणस्तर घट्ने जोखिम हुन्छ । डा. दासले भने, ‘ड्राई सिजन भनेको चैत र वैशाख हो । यो दुई महिना वायु प्रदूषणको मुख्य खतराको सिजन मानिन्छ ।’

डब्ल्यूएचओले एक्यूआई १५० भन्दामा माथि पुग्दा वायुलाई ‘अस्वस्थ’ मानेको छ । सो अङ्क ३०० भन्दा माथि पुगे त्यसलाई ‘खतरनाक’ मानिन्छ । केही साता यता नेपालको वायु गुणस्तर २०० भन्दा बढी पुगेको डा. दासले बताए । ‘नेपालमा पछिल्लो दुईदेखि तीन साता यता वायुको गुणस्तर खस्किएको छ, करिब एक्यूआइ २०० भन्दा बढी समेत भएको छ ।’

जोगिन के गर्ने ?

वायु प्रदूषणका कारण दिन प्रतिदिन मानव स्वास्थ्यमा असर पर्दछ । यस्तो अवस्थामा सकेसम्म स्वास्थ्य सुरक्षाको मापदण्ड प्रयोग गर्नुपर्ने हुन्छ ।

जङ्गलमा लाग्ने डढेलोमा ९० प्रतिशत मानवीय कारण रहने गरेको वन तथा भू–संरक्षण विभागका उपमहानिर्देशक दिपक ज्ञवालीले बताए । व्यक्ति स्वयंले डढेलो लाग्न नदिन सतर्कता अपनाउनुपर्ने उनको भनाइ छ ।

पछिल्लो समय वायु प्रदूषण बढ्नुको मुख्य कारण पत्ता लगाई त्यसलाई नियन्त्रण गर्नु पर्ने डा. दास सुझाउँछन् । ‘बर्सेनि किन डढेलो लाग्छ, सोको पहिचान गरी नियन्त्रण गर्नुपर्छ,’ उनले भने ।

विशेषतः काठमाडौँ उपत्यका लगायत देशभर नै वायु प्रदूषण बढेको छ । यसले मानव स्वास्थ्यमा नकारात्मक असर पार्ने र विशेष गरी बालबालिका, वृद्धवृद्धा एवं श्वासप्रश्वास र मुटुका बिरामी बढी प्रभावित हुने भएकाले यस्तो बेला विशेष सावधानी अपनाउनसमेत सम्वद्ध अधिकारीहरूको सुझाव छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सरिता थारू
सरिता थारू

सरिता थारूले कृषि र समसामयिक विषयमा रिपोर्टिङ गर्छिन् ।

लेखकबाट थप