मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

चौथो राष्ट्रिय खुला फ्रेन्डसिप तेक्वान्दो वैशाख २ गते

मङ्गलबार, २७ चैत २०८०, १७ : १९
मङ्गलबार, २७ चैत २०८०

काठमाडौँ । कोटेश्वर तेक्वान्दो डोजाङले आगामी वैशाख २ गते ‘चौथो राष्ट्रिय खुला फ्रेन्डसिप तेक्वान्दो प्रतियोगिता’ आयोजना गर्ने भएको छ ।

प्रतियोगिता नेप्लिज तेक्वान्दो एकेडेमीको सह–आयोजना तथा अन्तर्राष्ट्रिय ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिपको सहयोगमा आयोजना गर्न लागिएको हो ।

चौथो संस्करणको सम्पूर्ण तयारी पुरा भइसकेको जानकारी प्रतियोगिताका संयोजक नविनकुमार श्रेष्ठले दिए । प्रतियोगितामा देशभरबाट ६ सयभन्दा बढी खेलाडीको सहभागिता रहने बताइएको छ ।

प्रतियोगिताका खेलहरू त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सञ्चालन हुनेछन् । प्रतियोगितामा क्योरोगीको सिनियर पुरुष र महिलातर्फ ६–६ वटा स्पर्धा समावेश गरिएको छ ।

क्योरोगीकै जुनियर पुरुष र महिलातर्फ भने १०–१० वटा स्पर्धा समावेश गरिएको छ । पुम्सेको व्यक्तिगत, समूहगत र जोडीसहित १२ स्पर्धामा खेलाडीले आफ्नो क्षमता प्रदर्शन गर्ने बताइएको छ । प्रतियोगितामा क्योरोगी र पुम्सेमा गरी कुल ४४ वटा स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ ।

यो प्रतियोगिता आगामी अगस्त २३ र २४ तारिखमा दक्षिण कोरियाको सोलमा आयोजना हुने ‘१४औँ अन्तर्राष्ट्रिय ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप’ का लागि खेलाडी छनोटको आधारसमेत भएको बताइएको छ ।

यो प्रतियोगिताबाट तीन पुरुष र तीन महिला गरी ६ खेलाडी सोलमा आयोजना हुने प्रतियोगिताका लागि छनोट गरिने छ । सोलमा आयोजना हुने प्रतियोगिताका लागि छनोट हुने खेलाडीले जनही ५० हजार रुपैयाँ नगद पुरस्कार पनि प्राप्त गर्नेछन् ।

यो प्रतियोगितामा शीर्ष तीन स्थान हासिल गर्ने टोलीले क्रमशः एक लाख, ५० हजार र २५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । उत्कृष्ट प्रशिक्षक र उत्कृष्ट निर्णायकले पनि जनही १० हजार रुपैयाँ पुरस्कार हात पार्नेछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप