सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

पोखरामा सुरु भयो देशकै पहिलो सावर बन्जी

बुधबार, २८ चैत २०८०, १५ : ३७
बुधबार, २८ चैत २०८०

पोखरा । पोखरामा देशकै पहिलो सावर बन्जी सुरु भएको छ । हाइग्राउण्ड एड्भेन्चर्स नेपालले पोखराको हेमजामा सावर बन्जी सुरु गरेको हो । 

अबदेखि बन्जी गर्नेहरूले बन्जीबाट झर्दा पानीको फोहोरामा रम्न पाउनेछन् । हाइग्राउण्डले पोखरामा विभिन्न साहसिक खेलहरू सञ्चालन गर्दै आएको छ । यसअघि नै ५ करोड भन्दा बढीको लागतमा यहाँ बन्जीजम्प सुरु गरिएको थियो । अहिले ५० लाख लगानी गरेर सावर बन्जी थपिएको हो ।

पर्यटन व्यवसायी र पत्रकारहरूको उपस्थितिमा बञ्जीको उद्घाटन बुधबार गरिएको हो । विश्वकै दोस्रो र नेपालको पहिलो सावर बन्जी सुरु गरिएको प्रबन्ध निर्देशक दिनेश महर्जनले बताए । सावर बन्जी गर्दा ६ हजार ५ सयमा फोटो, भिडियो र टिसर्ट समेत उपलब्ध गराउने उनको भनाई छ ।

यसमा लेकसाइडदेखि हेम्जासम्मको दुईतर्फी यातायातको सुविधा समेत समावेश गरिएको छ । ‘यो अनौठो प्रडक्ट हो । सावर बन्जी सुरु गरेको जानकारी गराउन पाउँदा निकै खुसी छौँ । यसले पोखराको पर्यटनमा अर्को आकर्षण थप्छ,’ उनले भने, ‘राज्यको अर्थतन्त्रमा पनि योगदान पुग्ने विश्वास छ ।’

उनका अनुसार ६० प्रतिशत विदेशी र ४० प्रतिशत आन्तरिक पर्यटकले बन्जी गर्ने गरेका छन् । पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले पर्यटन व्यवसायमा नयाँ प्रडक्टको रूपमा सावर बन्जी थपेकोमा बधाई दिए । ‘पोखरा पर्यटनको राजधानी हो । नयाँ नयाँ गतिविधि थप्नैपर्छ,’ उनले भने, ‘हाइग्राउण्डको प्रडक्टले यसमा टेवा पुगेको छ ।’

हाइग्राउण्डले जीपलाइन र स्वीङ समेत सञ्चालन गरिरहेको छ । कम्पनीले सन् २०१२ जुन २ मा नेपालमै पहिलो पटक जिपलाइन समेत भित्र्याएको थियो । त्यसपछि बन्जी सुरु गरिएको हो । अहिले पोखरा आउने पर्यटकको प्रमुख रोजाइमा पर्छ, बन्जी सहित साहसिक खेलकुद ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप