आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालमा अब गुगलको आधिकारिक प्रतिनिधि मेडियम वाइ अलेफ

बिहीबार, २९ चैत २०८०, १३ : ५८
बिहीबार, २९ चैत २०८०

काठमाडौँ । अलेफ ग्रुप अन्तर्गतको मेडियम वाइ अलेफ कम्पनी अब नेपालका लागि गुगलको आधिकारिक बिक्रेता बनेको छ । गुगलको आधिकारिक बिक्री प्रतिनिधिका रूपमा कम्पनीले स्थानीय विज्ञापन एजेन्सी र विज्ञापनदाताका लागि गुगल एडमार्फत प्रभावकारी विज्ञापनका लागि सहयोग गर्नेछ ।

कम्पनीले स्थानीय विज्ञापनदाताका लागि सर्च इन्जिन, युट्युब र डिस्प्लेलगायतका सेवासम्बन्धी सेवा प्रदान गर्नेछ । लक्षित उपभोक्तामा विज्ञापनको पहुँच बढाउनका लागि प्रभावकारी अभियान सञ्चालन गर्न पनि विभिन्न सुविधा उपलब्ध गराउने कम्पनीले जनाएको छ ।

गुगलमा प्रयोगकर्ताहरूले प्रत्येक दिन अर्बौ पटक विभिन्न कुराहरू खोजी गर्छन् । गुगल एडमार्फत विज्ञापनदाताले प्रयोगकर्ताहरूका ती रुचि र आवश्यकता अनुसारका सूचना, प्रडक्ट र सेवाका माध्यमबाट उनीहरूसम्मको पहुँच स्थापित गर्नमा कम्पनीले सहयोगी भूमिका खेल्नेछ ।

विश्वव्यापी रूपमा गुगल एड टुल्स कुनै पनि व्यवसाय प्रवर्द्धन गर्न, प्रडक्टलाई लक्षित ग्राहकसम्म पुर्याउन र प्रभावकारी बजारीकरणका लागि सबैभन्दा प्रभावकारी माध्यम बनेको छ । ग्राहकहरूले गुगल एडको सुविधामार्फत विज्ञापनको वास्तविक नतिजा मापन गर्न सक्छन् ।  

लगानीअनुसारको वेबसाइटमा कतिपटक क्लिक भयो वा सो विज्ञापनमार्फत कतिवटा फोन आए भन्नेसम्मको मापनको सुविधा विज्ञापनदाताले पाउनेछन् । त्यति मात्रै होइन, ग्राहकहरूले आफूलाई आवश्यकताअनुसार मासिक रूपमा कतिसम्म गुगल एडमा खर्च भन्ने निर्णय लिन पनि यस प्रकारको नतिजा सहयोगी हुनेछ ।

मेडियम वाइ अलेफले बंगालादेश, मोरक्को र इराकमा गुगल एडको आधिकारिक बिक्रेताका रूपमा रूपमा पनि काम गरिरहेको कम्पनीको भनाइ छ । मेडियम वाइ अलेफका प्रमुख कार्यकारी अधिकृत (सीइओ) अल्वर्टो अल्भारेजले भने, ‘गुगल एड एसिया प्यासिफिक क्षेत्रमा विकसित हुँदै गरेका व्यवसायका लागि नयाँ अस्त्र हो ।

यस अस्त्रमार्फत विज्ञापनदाताले गुगल सर्च टुल्सको प्रयोग गरी विभिन्न प्रकारका डाटा सङ्कलन, उपभोक्ता लक्षित विज्ञापन गर्न तथा विभिन्न माध्यम जस्तै युट्युब, गुगल म्याप र सर्च टुलमार्फत प्रयोगकर्तासम्म पुग्न र उनीहरूलाई त्यस प्रक्रियामा संलग्न गराउन सक्नेछन् । हामी आगामी दिनमा उपभोक्तालाई वास्तविक नतिजा उपलब्ध गराउँदै गुगल एडसँगको सम्बन्धलाई अझ बलियो बनाउन चाहन्छौँ’ उनले भने ।

गुगल सर्च इन्जिन, च्यानल सेल्सका पार्टनर प्रफर्मेन्स प्रमुख तारा यूनले भने, ‘हामी मिडियम ग्रुप वाई अलेफसँगको सहकार्यका लागि उत्साही छौँ । यस सहकार्यमार्फत हामीले कम्बोडिया र नेपालमा हाम्रो उपस्थिति बढाउने छौँ । डिजिटल इकोसिस्टमका क्षेत्रमा कैयन अवसरहरूमा हामी मिलेर काम गर्न सक्छौँ ।’

मेडियम ग्रुप सन् २०२१ मा एलडीएम होल्डिङ अन्तर्गत स्थापित कम्पनी हो । यो कम्पनीले विज्ञापनदातालाई लक्षित र अनुभवी स्थानीय संस्थामार्फत ल्याटिन अमेरिकामा गुगल एड खाता र अभियानलाई गुगलका सबै प्लेटफर्ममा उपलब्ध गराउनका लागि काम गरेको थियो ।

मेडियम ग्रुप यतिबेला एसिया प्यासिफिकसँगै मध्यपूर्व र उत्तर अमेरिकाका लागि गुगलको प्रतिबद्ध प्रतिनिधिका रूपमा काम गरिरहेको कम्पनी हो । हाल यस कम्पनीले बङ्गलादेश, मोरक्को र इराकमा गुगलको आधिकारिक बिक्री प्रतिनिधिका रूपमा त्यहाँको आर्थिक विकासको उद्देश्यले लागि काम गरिरहेको छ ।

यस्तै, अलेफ ग्लोबल डिजिटल एक्पर्टका लागि बहुआयामिक नेटवर्क भएको टेक्नोलोजी ड्रिभन कम्पनी हो । जसले डिजिटल इकोसिस्टमको क्षेत्रमा काम गरिरहेको छ । कम्पनीले विश्वका १३० भन्दा बढी देशका गुगल, मेटा, माइक्रोसप्ट, पिनट्रेस्ट, रेडिट, स्न्याप, स्पोटिफाइ, टिकटक, टिवीच, उबर, एक्स (ट्विटर) जस्ता ४५ भन्दा बढी डिटिजल प्लेटफर्ममार्फत अर्बौ विज्ञापनदाता र ग्राहकलाई एक आपसमा जोड्ने काम गरिरहेको छ । 

कम्पनीले उपयुक्त प्रविधिको विकास र आपूर्ति गरी स्थानीय स्तरमा देखिएको समस्या समाधान, स्थानीय उद्योगलाई प्लेटफर्म उपलब्ध, निःशुल्क डिजिटल विज्ञापन शिक्षा उपलब्ध गराउनका लागि सामाजिक रूपमा पहल समेत गर्दै आएको छ । कम्पनीले हालै नयाँ प्रडक्ट अलेफ पेमेन्टमार्फत क्रस बोर्डर विद्युतीय भुक्तानी क्षेत्रमा काम गर्दै आएको जनाएको छ । 

अलेफ सन् २००५ मा स्थापना भएको कम्पनी हो । कम्पनीको नेतृत्व संस्थापक सीइओ ग्यास्टोन तरोन्ताले हालसम्म गरिरहेका छन् । उनी प्रविधिका माध्यमबाट विश्व अर्थतन्त्रको विकासमा योगदान पुर्याएको योगदान बापत सन् २०२२ मा अर्नस्ट एण्ड योङ उद्यमी अवार्डबाट सम्मानित भएका थिए । हाल कम्पनीका ६५ भन्दा बढी कार्यालयमा एक हजार पाँच सयभन्दा बढी कर्मचारी कार्यरत छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप