मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

बिस्केटको ५५ हात लामो लिङ्गो ढालियो

शनिबार, ०१ वैशाख २०८१, २२ : ०६
शनिबार, ०१ वैशाख २०८१

भक्तपुर । भक्तपुरको प्रसिद्ध बिस्केट जात्राको प्रमुख मानिने लिङ्गो शनिवार साँझ ढालिएको छ । तान्त्रिक विधिअनुरूप पूजा अर्चना गरी शनिवार साँझ लिङ्गो ढालेपछि जात्रा सम्पन्न गरिएको हो ।  

बिस्केट जात्राको चौथो दिन शुक्रवार साँझ भेलुखेलस्थित ल्यासिंखेलमा उठाइएको लिङ्गो आज दिनभर जात्रा, पूजा एवं बली दिएर ढालिएको हो ।  

कूल ५५ हात लामो, नाङ्लो जत्रो फराकिलो लिङ्गो तान्त्रिक विधिपूर्वक दश कर्म विधान गरी ढालिएको हो । लिङ्गो ठड्याउनु अघि लिङ्गोको कोखा (टुप्पो) मा नाग र नागिनीको प्रतीक स्वरूप दुई वटा ध्वजा बाँधेर अष्ट मातृकाका प्रतीक आठ वटा डोरीले तानेर उक्त लिङ्गो ठड्याइने प्रचलन रहेको छ । त्यही आठ वटा डोरीले आठ कुनामा बसेर लिङ्गो ढालिएको थियो । 

लिङ्गोको कोखामा झुन्ड्याइएका दुई वटा ध्वजालाई वीरध्वजा, विश्वध्वजा, र आकाश भैरवका ध्वजासमेत भनिने ईतिहासविद् एवं संस्कृतिकर्मी डा पुरुषोत्तम लोचन श्रेष्ठले जानकारी दिए । भक्तपुरको प्रसिद्ध  बिस्केटको  लिङ्गो जात्रा हेर्नाले सुख, समृद्धि, सहकाल आउनुका साथै शत्रु नाश हुन्छन् भन्ने धार्मिक मान्यता रहेकाले यस जात्रालाई शत्रुहन्ता जात्रा पनि भन्ने गरिएको छ ।

लिङ्गो उभ्याइने र ढाल्ने जात्रा नै बिस्केटको प्रमुख जात्रा हो । मल्ल राजाहरूले भैरवनाथ र भद्रकालीको रथ जात्रा समावेश गरी तान्त्रिक पूजा विधि विधानसमेत थप गरी आठ रात नौ दिनसम्म जात्रा मनाउने प्रचलन थालिएको बताइन्छ ।

लिङ्गो ढालेपछि ल्योसिङखेलबाट भैरवनाथको रथ गःहिटी ल्याएर भैरवनाथ र भद्रकालीको रथ जुधाइएको छ । भैरव र भद्रकाली देवदेवीको समागम जात्रा भनेर चिनिने सो रथ जुधाउने कार्यलाई स्थानीय भाषामा द्यो ल्वाकिगु भनिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप