बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

सिरिया आक्रमणको जवाफबाट इजराइल पूर्णरूपमा आतङ्कित भएको छ : इरान

शनिबार, ०१ वैशाख २०८१, २३ : ०६
शनिबार, ०१ वैशाख २०८१

तेहरान । सिरियामा भएको हमलामा आफ्नो रिभोल्युसनरी गार्डका सदस्यहरू मारिएपछि इरानका तर्फबाट सम्भावित प्रतिशोधको प्रतिक्रियाले इजराइल आतङ्कित बनेको इरानका सर्वोच्च नेताका एक सल्लाहकारले शनिबार बताएका छन् । 

“यहुदीहरू पूर्णरूपमा आतङ्कित बनेको र सतर्क अवस्थामा रहेको एक साता भएको छ”, सर्वोच्च नेता आयातुल्लाह अली खमेनीका वरिष्ठ सल्लाहकार याह्या रहिम सफवीको भनाइ उद्धृत गर्दै आइएसएनएले भनेको छ, “इरानले के गर्न खोजेको छ भन्नेबारे उनीहरूलाई थाहा छैन, त्यसैले उनीहरू र उनीहरूका समर्थक भयभीत भएका छन् ।”

इरानले अप्रिल १ मा दुई जनरलसहित इस्लामिक रिभोल्युसनरी गार्डका सात सदस्यको मृत्यु हुनेगरी सिरियाको राजधानी दमास्कसमा वाणिज्य दूतावासको भवन ध्वस्त पार्ने हमलाका लागि इजराइललाई दोष दिँदै हमलाको बदला लिने वाचा गरेको छ । 

यस घटनामा कुनै टिप्पणी नगरेको इजराइलले हमलापछि आफ्ना सेनाले बिदा निलम्बनको घोषणा गरेको बताएको छ । अधिकारीहरूले हवाई सुरक्षा सञ्चालन गर्नका लागि जनशक्ति बढाउन र जगेडा सैनिकहरू तयार गर्ने फैसला गरेको सेनाले बताएको छ ।  

सफवीले भने, “यो मनोवैज्ञानिक सञ्चारमाध्यम र राजनीतिक युद्धका लागि युद्धभन्दा पनि भयानक छ किनकी इजराइल प्रत्येक रात हमलाको प्रतीक्षा गरिरहेको छ, तीमध्ये धेरै भागेका छन् र आश्रयमा गएका छन् ।”

बेलायतस्थित युद्ध निगरानीकर्ता सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले अप्रिल १ मा भएको हमलामा १६ जना मारिएको बताएको छ । मृतकहरूमा जनरल मोहम्मद रजा जाहेदी र मोहम्मद हाजी हाजी रहिमी पनि थिए । उनीहरू आइआरजिसीका विदेशी अपरेसन शाखा कुद्स फोर्सका वरिष्ठ कमान्डर थिए । 

सन् २०२० मा बगदाद विमानस्थलमा अमेरिकाको मिसाइल हमलामा कुद्स फोर्सका प्रमुख जनरल कासिम सुलेमानी मारिएपछि मारिएका ६३ वर्षीय जाहेदी सबैभन्दा वरिष्ठ इरानी सैनिक थिए । 

दमास्कसमा भएको हमला गाजा युद्धको पृष्ठभूमिमा भएको थियो । अक्टोबर ७ मा इजराइलमाथि हमासबाट सुरु भएको हमलामा अधिकांश सर्वसाधारणसहित एक हजार एक सय ७० जनाको ज्यान गएको थियो । 

तेहरानले हमासलाई समर्थन गर्दछ तर उसले हमलामा कुनै पनि प्रत्यक्ष संलग्नतालाई अस्वीकार गरेको छ । हमासको हमलापछि गाजा क्षेत्रमा हमासविरुद्ध ठूलो मात्रामा इजराइली जवाफी कारवाहीलाई जन्म दिएको छ । इरानले इजराइललाई मान्यता दिँदैन र दुवै मुलुकले वर्षौंसम्म छायाँ युद्ध लडेका छन् । 

इरानले इजराइलमाथि उसको आणविक कार्यक्रमलाई निशाना बनाउँदै तोडफोड र हत्याहरूको शृङ्खला चलाएको आरोप लगाएको छ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप