सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

छुट्टाछुट्टै मोटरसाइकल दुर्घटनामा चार जनाको मृत्यु

मङ्गलबार, ०४ वैशाख २०८१, १३ : ४५
मङ्गलबार, ०४ वैशाख २०८१

काठमाडौँ । देशका विभिन्न स्थानमा भएका मोटरसाइकल दुर्घटनामा परेर पछिल्लो २४ घण्टामा चार जनाको मृत्यु भएको छ ।

मोरङको उर्लाबारी नगरपालिका-३ मंगलबारेस्थित सडकमा मे.७ प ८४८० नम्बरको मोटरसाइकल डब्लुबी ७६ बी ०१११ नम्बरको ट्याङ्करसँग ठक्कर खाई  सोमबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार उर्लाबारी नगरपालिका-३ बस्ने ३३ वर्षीय धन बहादुर जोगीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मदन भण्डारी ट्रमा सेन्टर मंगलबारेमा उपचारको क्रममा मृत्यु भएको हो । उक्त मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिई अनियन्त्रित भई ट्याङ्करसँग ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जना र पैदलयात्रीलाई मदन भण्डारी ट्रमा सेन्टर मंगलबारे लगिएकोमा पैदलयात्रीलाई थप उपचारको लागि न्युरो अस्पताल विराटनगर रिफर गरिएको छ । ट्याङ्कर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

यता सुनसरीको बराहक्षेत्र नगरपालिका-५ जमटोकीस्थित सडकमा चतराबाट पकलीतर्फ जाँदै गरेको प्रदेश १-०२-०४२ प ५०४९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई गएराति दुर्घटना हुँदा चालक भोजपुर षडानन्द नगरपालिका-१ नेपालेडाँडा बस्ने २२ वर्षीय सुजन गौतमको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि न्यूरो अस्पताल विराटनगरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । 

त्यस्तै रामेछाप, खाँडादेवी गाउँपालिका-३ भिरपानीमा तिल्पुङबाट काठमाडौंतर्फ जाँदै गरेको बा.८९ प ४३८२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक मन्थली नगरपालिका-२ कठजोर बस्ने २६ वर्षीय अशोक नेपालीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको खाल्टे अस्पताल सिन्धुलीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको मन्थली अस्पतालमा उपचार भइरहेको छ ।

यसैगरी रुपन्देहीको देवदह नगरपालिका-१० चरङ्गेमा लु.३ प ९२८९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब ९ फिट तल खसेर मंगलबार बिहान दुर्घटना हुँदा चालक सोही नगरपालिका-१० बस्ने २९ वर्षीय रमेश रानाको घटनास्थलमै मृत्यु भएको छ । 

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप