बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

वैशाख १५ गतेदेखि अङ्ग्रेजी भाषा सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुँदै

बिहीबार, ०६ वैशाख २०८१, १८ : १८
बिहीबार, ०६ वैशाख २०८१

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, अङ्ग्रेजी शिक्षा विभागले यही वैशाख १५ र १६ गते अङ्ग्रेजी भाषा शिक्षण तथा प्रायोगिक भाषा विज्ञान सम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गर्ने भएको छ ।

विभागका प्रमुख तथा सम्मेलनका अध्यक्ष डा. गोपाल पाण्डेले कीर्तिपुरस्थित त्रि.वि. केन्द्रीय क्याम्पसको अडिटोरियम हलमा सञ्चालन हुने सम्मेलनको मूल विषय अङ्ग्रेजी भाषा शिक्षणमा रूपान्तरण: नव–प्रवर्तन, सहकार्य र उत्प्रेरणा हुने जानकारी दिएका छन् ।

सम्मेलनमा नेपालसहित १२ राष्ट्र गरी ५ सय जना भन्दा बढी विज्ञहरूको सहभागिता रहने पाण्डेद्वारा बिहीबार जारी विज्ञप्तिमा जनाइएको छ ।

त्रिविका उपकुलपति प्रा.डा.केशर जङ्ग बरालले उद्घाटन गर्ने सम्मेलनमा अन्तर्राष्ट्रिय विश्वविद्यालय मलेसियाका प्राध्यापक डा. ङग्ग म्यु लुआन, त्रिविका पूर्व उपकुलपति प्रा. डा. तीर्थ राज खनियाँलगायतले प्रवचन दिने छन् । सम्मेलनको मूल वक्ता नेपालस्थित अमेरिकी दूतावासका रिजनल इङ्लिस ल्याङ्वेज अफिसर रोजर कोहेन रहेका छन् ।

सम्मेलनमा शिक्षक शिक्षा,शिक्षकहरूको पेसागत विकास, भाषा शिक्षणमा रूपान्तरण, शिक्षणमा उत्प्रेरणा र सहकार्य, नव प्रर्वदनमा आधारित भाषा शिक्षण पद्धति, शिक्षण र प्रविधि लगायतका शीर्षकहरूमा ९० भन्दा बढी अनुसन्धानकर्ताहरूबाट कार्यशाला सञ्चालन एवं कार्यपत्रहरू प्रस्तुत गरिने डा. पाण्डेले जनाएका छन् 

स्थानीय र वैश्विक शिक्षण पद्धतिहरूलाई एकल मञ्चमा ल्याउने, सामाजिक, सांस्कृतिक र भू–राजनीतिक सन्दर्भहरूमा अङ्ग्रेजी पढाउने सम्भावनाहरू अन्वेषण, मिडिया र सामग्रीहरू समावेश गर्दै अङ्ग्रेजी भाषा शिक्षणका विद्यमान अनुसन्धानमूलक अभ्यासहरूलाई उत्कृष्ट बनाउने, अङ्ग्रेजी भाषा शिक्षणका हालका प्रवृत्ति र विधिहरू साझेदारी गर्नका लागि राम्रो मञ्च सिर्जना गर्नु र  इ.एल.टी. पद्धति र अभ्यासमा परिवर्तनका लागि निरन्तरता, सहयोग र प्रेरणा प्रदर्शन गर्ने विभागको परम्परालाई निरन्तरताका साथै त्रिविको अङ्ग्रेजी शिक्षा विभागलाई शैक्षिक उत्कटताको केन्द्रको रूपमा स्थापित गर्नेलगायतका उद्देश्यले सम्मेलन आयोजना गरिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप