बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

सत्ता राजनीतिले तीन वटा प्रदेशमा किचलो, आज के–के छन् शीर्ष १० समाचार ?

बिहीबार, ०६ वैशाख २०८१, २३ : ०१
बिहीबार, ०६ वैशाख २०८१

आज मिति २०८१ साल वैशाख महिनाको ६ गते बिहीबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित हामी रातोपाटीको रात्रीकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’ लिएर उपस्थित भएका छौँ । विशेषगरी प्रदेशको सत्ता राजनीतिका कारण तीन वटा प्रदेशमा दलहरुबीच किचलो देखिन्छ ।

जसअनुसार कोशी प्रदेशमा विपक्षी दलले प्रदेशसभामा बिहीबार संकल्प प्रस्ताव पेश गरेका छन् भने सुदूरपश्चिम प्रदेशमा एकीकृत समाजवादीका दीर्घ सोडारी मुख्यमन्त्री नियुक्त भएपनि समस्या कायमै छ। सोडारीलाई समर्थन गर्दै नागरिक उन्मुक्ति पार्टीको एक समूहले हस्ताक्षर बुझाएपनि अर्को समूहले विरोध गरेको छ । यसले प्रदेशका मुख्यमन्त्री भएर शपथ लिइसकेका सोडारीको आगामी यात्रा सहज नहुने प्रष्ट छ । यस्तै सोडारीलाई केन्द्रको निर्णयअनुसार मुख्यमन्त्री बनाइएपनि प्रदेशमा एमाले बेखुस रहेको अवस्था छ ।

यसैगरी गण्डकी प्रदेशमा खगराज अधिकारीको पदबारे पनि उस्तै अनिश्चितता छ । मुख्यमन्त्रीमा दाबी पेश गर्दा सभामुखको समेत हस्ताक्षर प्रयोग गरिएपछि उनको नियुक्तिको वैधानिकतामागि प्रश्न उठाउँदै सर्वोच्चमा मुद्दा छ । सो मुद्दा विचाराधीन रहेकै अवस्थामा उनले शुक्रबार विश्वासको मत लिने प्रयास गरेपनि कांग्रेस लगायतको विरोध र आवश्यक प्रक्रिया पनि पुरा नहुने भएपछि हाललाई स्थगित गरिएको छ ।

सम्बन्धित समाचार विस्तृतमा

यसैबीच प्रदेशकै समाचारमा बिहीबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले मन्त्रिपरिषद् विस्तार गरेका छन् । महराले ७ जनालाई विना विभागीय मन्त्रीमा नियुक्त गरेका हुन् ।  यस अघि ४ सदस्यीय मन्त्रीमण्डल रहेको लुम्बिनीमा अब ११ सदस्यीय बनेको छ ।

महराले बिहीबार मन्त्रिपरिषद्मा एमालेबाट दिनेश पन्थी,अर्जुनबहादुर केसी, भूमिश्वर ढकाल र रत्नबहादुर खत्री, नागरिक उन्मुक्तिबाट धर्मबहादुर चौधरी,स्वतन्त्र सांसद खड्गबहादुर बस्नेत र एकीकृत समाजवादी पार्टीबाट भगवती अधिकारीलाई नियुक्त गरेका हुन् ।

मधेस प्रदेशका नव नियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुखको कार्यालयमा आयोजित शपथ ग्रहण कार्यक्रममा प्रदेश प्रमुख सुमित्रा सुवेदीले शपथ ग्रहण गराएकी हुन् ।

चौथो पटक विश्वासको मत लिएपछि थपिएका तीन मन्त्री र एक राज्यमन्त्रीको शपथ खुवाएका छन् ।

यस्तै कर्णालीको मुख्यमन्त्रीमा यामलाल कँडेल नियुक्त भएको बिहीबार १० दिन पुग्यो । तर, सरकार विस्तार गरेर जनताका कामलाई तीव्रता दिने विषयमा अलमल देखिन्छन् । मुख्यमन्त्रीको यो अलमलले अझै कति दिन मन्त्रालयहरू मन्त्रीविहीन रहन्छन् भन्नेमा सत्तारुढ गठबन्धनका नेताहरू नै जवाफ दिन सक्ने अवस्थामा छैनन् ।

प्रदेशमा प्रसंगबाहेक अब अन्य शीर्ष १० समाचार–

१. ओली–प्रचण्ड छलफल

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ ।

अध्यक्ष ओली बिहीबार झापाबाट एयरपोर्ट हुँदै प्रधानमन्त्री प्रचण्डलाई भेट्न सिंहदरबार पुगेका हुन् । भेटमा वर्तमान राजनीतिक विषयवस्तुमा केन्द्रित रहेर कुराकानी भएको बताइएको छ ।

२. मन्त्रिपरिषद् बैठकका निर्णय

मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले विभिन्न निर्णय गरेको छ । बैठकले तीन जना सहसचिवलाई सचिवमा बढुवा गरेको छ ।

३. श्रममन्त्रीको निर्णय

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले निवर्तमान श्रम मन्त्रीले गरेको विवादास्पद निर्णयहरू खारेज गरेको छ । श्रम मन्त्री डीपी अर्यालले निवर्तमान मन्त्री शरतसिंह भण्डारीले गरेको विभिन्न विवादास्पद निर्णयहरू खारेज गरेका हुन् ।

नेपालले कतारसँग नयाँ श्रम सम्झौता गर्ने प्रस्ताव गरेको छ । सन् २००५ मा भएको श्रम सम्झौतालाई समयानुकूल परिमार्जन गर्नुपर्ने भन्दै नेपालले नयाँ श्रम सम्झौताको प्रस्ताव गरेको हो ।

४. सहकारी ठगी प्रकरण

बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी घोटाला प्रकरणमा पक्राउ परेकाहरूको थुनछेक बहस जारी छ । जिल्ला अदालत रुपन्देहीमा बिहीबार प्रतिवादीको तर्फबाट  ७ जना अधिवक्ताहरूले बहस गरेका हुन् । अब आदेश शुक्रबार आउने बताइएको छ ।

काठमाडौँको कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाबारे पनि प्रहरीले अनुसन्धान सुरु गरेको छ । सो सहकारीका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई हुन् ।

५. एक्सनमा महानगर

काठमाडौँ महानगरपालिका भित्रका  विद्यालयले विद्यार्थी भर्ना शुल्क प्रतिमहिना निर्धारण भएको शुल्कको १ महिनाको भन्दा बढी लिन नपाउने भएका छन् ।

महानगरले बिहीबार एक सूचना जारी गर्दै संस्थागत विद्यालयहरूलाई कुनै एक कक्षामा भर्ना भइसकेको विद्यार्थी सोही विद्यालयको अर्को कक्षामा भर्ना गर्दा शुल्क नलिन पनि निर्देशन दिएको हो ।

६. लगानी सम्मेलन

तेस्रो लगानी सम्मेलनमा जलविद्युत परियोजनापछि यातायात पूर्वाधारले प्राथमिकता पाएको छ । लगानी बोर्डको कार्यालयले वैशाख १६ र १७ गते चल्ने लगानी सम्मेलनलाई ‘सोकेस’का लागि तयार पारेको सूचीअनुसार यातायात पूर्वाधार क्षेत्रले जलविद्युतपछिको प्राथमिकता पाएको हो ।

७. वाम एकतामा चीनको जोड

चीनले नेपालमा वामपन्थीहरूबिचको एकतामा जोड दिएको छ । चीन भ्रमणमा रहेको नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङ नेतृत्वको प्रतिनिधिमण्डलसँगको भेटका क्रममा चीनको इन्टरनेशन डिपार्टमेन्ट सेन्ट्रल कमिटी अफ सीपीसी (आईडीसीपीसी) का प्रमुख लिउ चियानचाओले वामपन्थी एकीकरणमा जोड दिएका हुन् ।

८. सेयर बजार

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बिहीबार पनि गिरावट आएको छ । साताको अन्तिम कारोबार दिन बिहीबार परिसूचक १९.५६ अंकले घट्दै १९७२ अंकमा आइपुगेको छ । यो ०.९८ प्रतिशतको गिरावट हो ।

९. सुन तस्करी भारतको नयाँ दिल्लीबाट काठमाडौँ आएको इन्डिगो एयरको जहाजको सिटमा बेवारिसे अवस्थामा एक किलो भन्दा बढी सुन फेला परेको छ ।

१०. यो पनि

बुधबार मात्र पक्राउ परेका अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष दावा लामा रिहा भएका छन् । दावाले सर्वोच्चमा दायर गरेको रिटको आधारमा उनलाई रिहा गरिएको जिल्ला अदालत काठमाडौँले जनाएको छ।

नवनियुक्त महालेखापरीक्षक तोयम रायाले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार  राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले नवनियुक्त महालेखापरीक्षक तोयम रायालाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । यस्तै राष्ट्रियसभा सदस्यमा अञ्जान शाक्य नियुक्त भएकी छन् ।

नेपाली कांग्रेसले गण्डकी र सुदूरपश्चिममा प्रदेश सरकार निर्माणबारे प्रदेश प्रमुखको भूमिकामाथि प्रश्न उठाएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको शीर्ष नेताहरूको बैठकले प्रदेश प्रमुखहरूले गण्डकी र सुदूरपश्चिम प्रदेशमा संविधान विपरीत काम गरेको निष्कर्ष निकालेको हो ।

थप समाचार लिंक

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप