बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय
सहकारी ठगी प्रकरण

जीबी राई समूहद्वारा स्वर्णलक्ष्मीका बचतकर्ताको २ अर्ब ७४ करोड भन्दा बढी रकम अपचलन

बिहीबार, ०६ वैशाख २०८१, १९ : ४०
बिहीबार, ०६ वैशाख २०८१

काठमाडौँ । सहकारी ठगीको फरार सूचीमा रहेका गीतेन्द्र बाबु राई (जीबी) आबद्ध अर्को सहकारीमा पनि अर्बौँ रकम अपचलन भएको पाइएको छ । काठमाडौँको कालीमाटीमा केन्द्रीय कार्यालय रहेको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडबाट  बचतकर्ताहरूको अर्बौँ रुपैयाँ अपचलन भएको पाइएको हो । उक्त सहकारीको अध्यक्ष राई नै हुन् ।

गोर्खा मिडिया नेटवर्क प्रा.लि. (ग्लालेक्सी फोर–के टेलिभिजन) का सञ्चालक समेत रहेका राईले स्वर्णलक्ष्मी सहकारीबाट ८० करोड रुपैयाँ बराबरको बचत रकम लगेको बताइएको छ ।

यसअघि पोखराको सूर्य दर्शन सहकारीबाट १० करोड रुपैयाँ, सहारा चितवन सहकारीबाट ११ करोड ७१ लाख रुपैयाँ र बुटवलको सुप्रिम सहकारीबाट १० करोड ७४ लाख गरी ३२ करोड ४५ लाख रुपैयाँ राईले विभिन्न खाता तथा ऋणी खडा गरेर अपचलन गरेको देखिएको थियो ।

‘टेलिभिजनको नाममा विभिन्न बैंक खातामा गरी २२ करोड रुपैयाँ ट्रान्सफर भएको प्रस्टै देखिएको छ । अरू विभिन्न माध्यम, व्यक्ति तथा शीर्षकहरू खडा गरी अध्यक्ष राईले ५० करोड रुपैयाँमाथिको बचत रकम टेलिभिजनमा मात्रै लगेको देखिन्छ । सबैगरी यस्तो अपचलन गरिएको रकम ८० करोड हाराहारी रहेको हामीले पाएका छौँ’, सदस्य एवम् स्वर्णलक्ष्मी सहकारी पीडित संघर्ष समितिका सहसंयोजक सुमन खनालले रातोपाटीसँग भने ।

अन्य सहकारीहरूमा जस्तै स्वर्णलक्ष्मी सहकारीमा समेत गोर्खा मिडिया नेटवर्कको नाममा गएको ऋणमा उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख गरिएको छ । तथापि, ऋणमा लामिछाने आफ्नै सहीछाप तथा ल्याप्चे नहानेकाले सो प्रमाण सार्वजनिक नगरिएको खनालले रातोपाटीसँग बताए ।

ff341ac9-8208-48b1-a624-84661dea01d5

२ अर्ब ७४ करोड भन्दा बढी बचत अपचलन

राई समूहले अन्य सहकारीहरूमा जस्तै स्वर्णलक्ष्मी सहकारीबाट मात्र पौने ३ अर्ब रुपैयाँ बचत रकम अपचलन गरेको पीडित सङ्घर्ष समितिको दाबी छ । सङ्घर्ष समितिमा हालसम्म जोडिएका करिब ५ सय जना पीडित बचतकर्ताहरूको मात्र २ अर्ब ७४ करोड रुपैयाँ अपचलन भएको पीडितहरूले दाबी गरेका छन् । यो रकम थप बढ्न सक्ने उनीहरूको भनाइ छ ।

पीडित बचतकर्ता मध्यका एक कृष्ण परियारले आफ्नो ८७ लाख रुपैयाँ सहकारीले फिर्ता नगरेको गुनासो गरे ।

१५–२० वर्ष दुःख गरेर कमाएको पैसाले जोडेको घडेरी बेचेको पैसा सहकारीमा राखेको तर फिर्ता पाउन नसकेको उनले बताए । अहिले त्यही पैसा लिएर सञ्चालक फरार भएको भन्दै उनले आक्रोश पोखे । अहिले कालीमाटीको कार्यालयमा सम्बन्धित अधिकारी भेटिँदैनन् । केही कर्मचारी भए पनि उनीहरूले आफूलाई केही थाहा नभएको भन्दै पन्छिने गरेका छन् ।

यस्तै, अर्का पीडित नन्दमाया श्रेष्ठले पसल गरेर जम्मा गरेको ३७ लाख रुपैयाँ समेत फिर्ता पाउन सकेकी छैनन् । पीडित बचतकर्ताहरूले विगत डेढ वर्षदेखि आफ्नो बचत फिर्ता गर्न बारम्बार भनिराख्दा समेत सहकारीले बचत फिर्ता गर्न सकेको छैन । बरु, बचत फिर्ता गर्नुको साटो स्वर्णलक्ष्मी सहकारीका अध्यक्ष समेत रहेका राई यति बेला फरार छन् ।

 यसअघि नै पीडितहरूले जीबी राई, कुमार रम्तेल र व्यवस्थापक नविन अछामीविरुद्ध जाहेरी दिएका थिए ।  

अहिले थप पीडितहरुले राईसहित १० जना विरुद्ध किटानी जाहेरी दिनेको तयारी गरेका छन् ।

समितिमा जोडिएका ५ सय जना पीडित बचतकर्ता सदस्यहरूले यसै हप्ता अध्यक्ष जीवी राई, उपाध्यक्ष देवेन्द्र बाबु राई, कोषाध्यक्ष कुमार रम्तेलसहित पूर्व अध्यक्षद्वय दीपक लामा र कल्पना कुमारी श्रेष्ठको नाममा सहकारी ठगी सम्बन्धी कसुरमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा किटानी जाहेरी दिने तयारी गरेका हुन् ।

swarna-laxmi

किटानी जाहेरीका लागि तयार गरिएको नामावली

१.गीतेन्द्रबाबु राई (जीबी)– अध्यक्ष, सञ्चालक समिति

२.देवेन्द्र बाबु राई – उपाध्यक्ष, सञ्चालक समिति

३. कुमार रम्तेल– कोषाध्यक्ष, सञ्चालक समिति

४.इरान लामा– सचिव, सञ्चालक समिति

५.कविता तामाङ – सहसचिव, सञ्चालक समिति

६.हेमन्त अधिकारी – सदस्य, सञ्चालक समिति

७.रविना रिमाल – सदस्य, सञ्चालक समिति

८.दीपक लामा – पूर्वअध्यक्ष

९.कल्पना कुमारी श्रेष्ठ – पूर्वअध्यक्ष

१०. नवीन अछामी – व्यवस्थापक

किटानी जाहेरीको सूचीमा रहेकामध्ये रम्तेल र अछामी हाल कारागारमा छन् ।

पीडित बचतकर्ताहरूले आफ्नो बचत फिर्ता गराइदिन भन्दै गत पुसमा सङ्घीय सहकारी विभाग बानेश्वरमा स्वर्णलक्ष्मी विरुद्ध उजुरी हालेका थिए । काठमाडौँमा मुख्य कार्यालय रहे पनि सहकारीको दर्ता प्रदेश कार्यालय बागमती प्रदेश हेटौँडामा गरिएकाले पीडित बचतकर्ताहरूले प्रदेश स्थित सहकारी विभागमा समेत उजुरी हालेका थिए ।

यसैबीच स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीमा भएको रकम अपचलनबारे  प्रहरीले अनुसन्धान सुरु गरेको छ ।  स्वर्णलक्ष्मीबारे अनुसन्धान गर्न सीआईबीले काठमाडौँ प्रहरीलाई पत्राचार गरेको छ । सो पत्राचारसँगै प्रहरी वृत्त कालीमाटीले त्यसबारे अनुसन्धान थालेको हो ।

स्वर्णलक्ष्मी सहकारीमा भएको घोटालाबारे बुझ्ने काम भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले रातोपाटीलाई बताए । उनले भने,‘सहकारी विभागसँग स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको विवरण मागेका छौँ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

श्रेष्ठ रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप