बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

चर्चामा शिक्षामन्त्रीको टालेको सर्ट

बिहीबार, ०६ वैशाख २०८१, २० : ५३
बिहीबार, ०६ वैशाख २०८१

काठमाडौँ । यतिबेला शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठको एउटा फोटो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । फोटोमा उनी पाखुरामा टालेको सेतो सर्ट लगाएर इलाम–२ का मतदाताको बिचमा देखिन्छिन् । 

यही वैशाख १५ गते इलाम क्षेत्र नम्बर २ मा हुन लागेको प्रतिनिधि सभाको उपनिर्वाचनमा आफ्ना उम्मेदवारको पक्षमा माहौल खडा गर्न इलाम पुगेकी मन्त्री श्रेष्ठले पाखुरामा च्यातिएको सर्ट सिलाएर लगाएको देखेपछि त्यसमाथि विभिन्न टिप्पणी आइरहेको छ । 

उनका प्रशंसकहरूले उनलाई सादगी मन्त्री भनेर प्रचार गरिरहेका छन् । उनका विरोधीहरूले भने थप अर्को स्टन्टबाजी गरेको भन्दै आलोचना गरिरहेका छन् । 

राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले सुमनाको पहिरनको विषयलाई लिएर कटाक्ष गरेका छन् । उनले धुर्मुस सुन्तलीले गर्न नसक्ने नाटक सुमनाले गरेको भन्दै आक्रोश व्यक्त गरेका छन् । 

शाहीले भनेका छन्, ‘सस्तो लोकप्रियताको लागि कति नाटक गर्छौ ? अमेरिकाको एमआईटी विश्वविद्यालयको कलेज फिस ७६ लाख ५४ हजार १५२ रुपैयाँ तिर्न सक्नेले एउटा ३५० रुपैयाँको सट किन्न सक्दैन रे ? अनि काठमाडौँमा फेरि–फेरि गाडी चढ्ने सक्ने , एनजीओबाट महिनाको ३ लाख तलब खान सक्नेले साथै मन्त्रीकोरुपमा करिब महिनाकै ९० हजार तलब खान सक्ने र काठमाडौँको ५ स्टार होटेलमा विदेशी श्रीमान‍्सँग दिनको २० हजारको डिनर गर्नेले जाबो ३५० रुपैयाँको एउटा सट किन्न सकिँदैन रे ? तिम्रो नाटक एउटाले क्यामरा बोक्ने एउटाले च्यातिएको सट घरबाट लगाएर आउने अनि फोटो खिच्ने र  विदेशमा रहेका केही पैसा खाएर काम गर्ने भक्तेले फोटो हाल्ने र वाव र ग्वाउँ गर्दै भजन गाउने बिचार सोझा–सोझा इलामे जनतालाई उल्लु बनाउने  यो तिम्रो नाटक घर होइन ? तिमीहरू भन्दा राम्रो नाटक त धुर्मुस सुन्तलीले पनि गर्ने सक्दैनन् ।’ 

यसरी मन्त्रीहरू आफ्नो कामले भन्दा पनि अन्य विषयले चर्चामा आएको यो पहिलो पटक भने होइन । यसअघिका प्रधानमन्त्री तथा मन्त्रीहरू पनि विभिन्न कारणले चर्चामा आएका थिए । 

  • डा.बाबुराम भट्टराई ः प्रधानमन्त्री हुँदा नेपाली गाडी 

२०६८ साल भदौमा प्रधानमन्त्री भएका थिए डा.बाबुराम भट्टराई । त्यति बेला उनले आफू स्वदेशमै उत्पादन भएको गाडी प्रयोग गर्ने र अन्य सामग्री पनि स्वदेशी नै प्रयोग नारा अघि सारेका थिए । 

MUstang-Max

उनले झन्डै १९ महिना आफ्नो कार्यकालमा हुलास कम्पनीले उत्पादन गर्दै आएको मुस्ताङ जिप चढेका थिए । तर आफू प्रधानमन्त्रीबाट बाहिरिएपछि उनले सो जिप चढ्न छोडे र विदेशी गाडीमा हुइँकिन थाले । तर नेपालमै गाडी उत्पादन गर्ने सो हुलास कम्पनी सरकारले उत्पादन गर्ने बाटो बन्द गरेको भन्दै गाडी बनाउँने काम बन्द गर्न बाध्य भयो । २०७१ सालमा सरकारले यूरो ३ मापदण्ड लागू गरेपछि सो मापदण्ड अनुसारको गाडी उत्पादन गर्न एक वर्ष समय माग्दा पनि सरकारले सुनुवाइ नगरेको भन्दै कम्पनीले गाडी उत्पादन बन्द गरेको थियो ।

  • लालबाबु पण्डित–साइकल मन्त्रीको रूपमा प्रचार  

तत्कालीन प्रधानमन्त्री सुशील कोइराला (२०७० माघ २७–२०७२ असोज २३) मन्त्रीमण्डलमा सामान्य प्रशासन मन्त्री भएका लालबाबु पण्डितले आफूलाई साइकल मन्त्री भनेर प्रचार गराएका थिए ।  

२०७२ साल असार २५ गते संसद्बाट पारित भएको निजामती सेवा ऐन (चौथो संशोधन) मा निजामती कर्मचारीले डिभी, पिआर लिन नपाउने व्यवस्थाका कारण उनी चर्चामा रहेका थिए । अझ सम्पत्ति विवरणमा थोत्रो साइकल राखेपछि सादगी मन्त्री भनेर उनको चर्चा चुलिएको थियो । 

lalbabu

उनले आफ्ना अङ्गरक्षक सेना र आफू दुवै जना साइकल चढेर  झन्डा फर्फराउँदै सिंहदरबार अगाडि गुडेको फोटो राखेर ‘सिंहदरबार बदल्ने सङ्घर्ष’ नामको किताब समेत छपाएका थिए । 

उनले आफ्नो सम्पत्ति विवरणमा पुरानो साइकल राखे पनि उनले पत्नी विमला महतलाई मन्त्रालयकै बा १ झ ९८४७ नम्बरको गाडी चढ्न दिएको भनेर आलोचना हुने गरेको थियो । 

२०७४ सालको निर्वाचनमा पनि उनले आफू गरिब भएको प्रचार गरे । साइकल चढेर भोट माग्न जाने र पत्रकार सम्मेलनमा गरिब भएकोले चुनाव खर्च नभएको बताउने गर्थे । २०७४ साल कात्तिक २१ गते विराटनगरमा भएको पत्रकार सम्मेलनमा उनले आफूलाई १००–२०० को रिचार्ज कार्ड सहयोग आउने र कतारबाट मजदुरले एक एक सय उठाएर ६० हजार पठाइदिएको बताएका थिए । 

२०७४ सालको चुनावमा उनले कांग्रेसका नेता डा.शेखर कोइरालालाई पराजित गरेर फेरी मन्त्री बन्न सफल भए । तर दोस्रो पटक मन्त्री भएका बेला सार्वजनिक गरेको सम्पत्ति विवरणमा उनको चल सम्पत्ति ६१ लाख बढी, १० तोला सुन, १५ तोला चाँदी देखिएको थियो । 

पछि राम्रो काम गर्न नसकेको भन्दै पण्डितलाई तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीबाट समेत हटाएका थिए ।  

  • विश्वेन्द्र पासवान पनि साइकल मन्त्री

पूर्व मन्त्री पण्डितमात्र हैन, अर्का पूर्वमन्त्री विश्वेन्द्र पासवानले पनि मन्त्री भएका बेला केही महिना साइकल चढेर सस्तो लोकप्रियता कमाएका थिए । 

biswendra-paswan

सुशील कोइराला नेतृत्वको सरकारमा २०७२ सालमा वन तथा वातावरण मन्त्री रहेका विश्वेन्द्र पासवान साइकल चढेर संसद् र मन्त्रालयमा गएर चर्चा कमाएका थिए । 

तर मन्त्रालयमा उनका लागि गाडी हुँदा हुँदै उनले मन्त्रालय अन्तर्गत रहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गत परियोजनाको बा २ झ ९७१ नम्बरको सुविधायुक्त स्कार्पियो गाडी मन्त्रालयमा तानेका थिए । उनले एक महिना साइकल चढेर चर्चा कमाएपछि उनी मन्त्रालयको गाडी चढ्न थालेका थिए । मन्त्री भएका बेला काठमाडौँ बाहिरका कार्यक्रममा जाँदा उनले नेपाली सेनाको हेलिकोप्टर प्रयोग गर्ने गरेका थिए । मन्त्री पदमा रहुन्जेल उनको जिल्ला भ्रमणमा झन्डै १७ लाख रुपैयाँ हेलिकोप्टर भाडा उठेको थियो । 

  • मन्त्रालयमा चन्दा बाकस राख्ने, मन्त्रालय सफा गर्ने किराँती

नेपाली कांग्रेस र माओवादी गठबन्धन सरकार रहेको बेला संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री थिए सुदन किराँती । उनले पनि आफू चर्चामा आउन विभिन्न गतिविधि गरेका थिए । 

अघिल्लो वर्ष माघ ३ गते मन्त्री नियुक्त भएर मन्त्रालय प्रवेश गरेको केही दिनमै उनले मन्त्रालयको पहिलो तल्लामा चन्दा बाकस राखेका थिए । दुर्गम क्षेत्रको विकासका खर्च गर्ने भन्दै उनले सिसाको पारदर्शी चन्दा बाकस राखेका थिए । जसमा एक हजार, पाँच सय, एक सय रुपैयाँका नोटहरू देखिएको थियो । मन्त्रीले मन्त्रालयमा चन्दा बाकस राखेको प्रति आलोचना भयो । त्यसबाट कति चन्दा उठ्यो र कहाँ खर्च भयो त्यो पनि उनले सार्वजनिक गरेनन् । 

गत फागुन ४ गते उनले आफूले मन्त्रालयमा आफ्नो कार्यकक्ष सफा गर्दै गरेको भिडियो खिच्न लगाएर सार्वजनिक गराए । उनका प्रेस सहयोगीले कार्यकक्षमा पोछा लगाउँदै गरेको भिडियो सार्वजनिक गरेका थिए । उनले चर्चामा आउन स्टन्ट गरेको भन्दै सामाजिक सञ्जालमा आलोचना भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप