बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय
सुन तस्करी प्रकरण

दीपेश पुनमाथि सुन तस्करी मुद्दामा फेरि अनुसन्धान गरिँदै

बिहीबार, ०६ वैशाख २०८१, २० : ००
बिहीबार, ०६ वैशाख २०८१

काठमाडौँ । पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका पुत्र दीपेश पुनमाथि सुन तस्करी मुद्दामा फेरि अनुसन्धान हुने भएको छ । सुप्रिम बचत तथा ऋण सहकारी घोटाला गरेको आरोपमा बुटवलमा थुनामा रहेका पुनलाई त्यहाँको मुद्दा प्रक्रिया पुरा भएपछि काठमाडौँ पठाउन सीआईबीले पत्र पठाएको छ ।

पूर्व न्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले आफ्नो प्रतिवेदनमा पुनको डीएफएल नगरेको विषय उल्लेख गरेको छ । समग्र सुन तस्करीमा आयोगले पुनको नाम उल्लेख गरेको हुनाले उनीसँग बयान लिनुपर्ने देखिएको सीआईबीका प्रमुख श्यामलाल ज्ञवालीले रातोपाटीलाई बताए । ज्ञवालीले भने– ‘बुटवलबाट काठमाडौँ ल्याएर अनुसन्धान गर्छौं ।’

यसअघि ६० किलो सुन प्रकरणमा आफूले बोक्ने मोबाइल नलगेर पुन सामान्य ‘टुकटुके’ मोबाइल लिएर सीआईबीमा पुगेका थिए । अनुसन्धान अधिकृतहरूले उनको बयान कागज गराए तर प्रतिवादी बनाएनन् । बेल्जियन नागरिक दावा छिरिङसँग पुनको ‘कनेक्सन’ देखिएको छ ।

इलेक्ट्रिक चुरोट ‘भेप’ मा लुकाएर दुबईबाट ल्याएको सुन र ब्रेक प्याडमा लुकाएर हङकङबाट तस्करी गरेर ल्याएको ६० किलो सुनको अनुसन्धानमा प्रहरीको गम्भीर त्रुटि देखिएको छ । जाँचबुझ आयोगले साढे ५ महिना जाँचबुझ गरेर अनुसन्धानमा त्रुटि रहेको निष्कर्ष सहितको प्रतिवेदन सरकारलाई बुझाएको थियो ।

उनी सुप्रिम सहकारीका पूर्वसचिव र अहिलेका कोषाध्यक्ष हुन् । आफूले थाहै नपाई सचिव बनाएको जिकिर गर्दै उनले बयानमा भनेका छन्– ‘मैले २०७६ साल फागुन महिनामा मेरो कुनै संस्था प्रति कानुनी र आर्थिक दायित्व नहुने गरी राजीनामा बुझाएको हुँ ।’

अनुसन्धानको क्रममा उनले सुप्रिम बचत तथा ऋण सहकारी संस्थाबाट पेश्कीबापत ३ लाख लिएको भेटिएको छ । तर, पुनले पेश्की भौचरमा भएको दस्तखत आफ्नो नभएको जिकिर गरेका छन् । बयानमा उनले भनेका छन्–‘पेश्की भौचरमा भएको नाम दीपेश पुन रहेको र मेरो नाम दिपेशकुमाार पुन भएको हुँदा नाम समेत फरक छ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप