शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

रास्वपा पपुलिष्ट, कांग्रेस परम्परावादी दक्षिणपन्थी शक्ति : ओली

शनिबार, ०८ वैशाख २०८१, १३ : ४८
शनिबार, ०८ वैशाख २०८१

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीको उदय र नेपाली कांग्रेसको शक्ति बिस्तारलाई विवेचनायोग्य घटनाको रूपमा चित्रण गर्नुभएको छ । 

शनिबार ललितपुरको गोदावरीस्थित सनराईज हलमा आयोजित पार्टीको महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै अध्यक्ष ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीलाई प्रियतावादी शक्तिको रूपमा र नेपाली कांग्रेसलाई परम्परावादी दक्षिणपन्थी शक्तिको रूपमा उल्लेख गर्दै ती दुवै पार्टीको गत निर्वाचनमा भएको उदय र शक्ति बिस्तार नयाँ र विवेचनाको विषय भएको बताएका हुन् । 

उनले भने, ‘ निर्वाचनमा प्रियतावादी अथवा पपुलिष्ट शक्तिको उदय र परम्परावादी दक्षिणपन्थी दलको शक्ति विस्तार नयाँ र विवेचनीय घटनाका रूपमा रहेका छन् । यस बिचमा बढेको चरम राजनीतिक विकृति, आर्थिक र व्यावसायिक क्षेत्रमा सङ्कट उत्पन्न र रोजगारीका क्षेत्र साँघुरिँदै गरेको अवस्था एवं सुशासन तथा सेवा प्रवाहमा उत्पन्न समस्याका कारण समाजमा निराशा बढेको छ । यस स्थितिले सृजना गरेको असन्तुष्टिलाई एकातिर पपुलिज्म र अर्कोतिर दक्षिणपन्थी शक्तिले प्रयोग गर्न एक हदसम्म सफल भएको देखिन्छ । उनीहरूले यस्ता समस्यालाई उजागर र उपयोग गर्न त सक्छन् । तर उनीहरूसँग यसको समाधान भने छैन ।’

उनले संविधानका मूल विषयमा अस्पष्ट र असहमत रहनेहरूको सङ्ख्या निर्वाचनपछि प्रतिनिधि सभामा उल्लेख्य भएकाले मुलुकमा राजनीतिक अस्थिरता झनै बढेर गएको निष्कर्ष पनि सुनाए । उनले भने, ‘निर्वाचन परिणामले सृजना गरेको प्रतिकुलताको मूल्य आज राष्ट्रले नै चुकाउनु परिरहेको छ । निर्वाचनपछि निर्माण भएको शक्ति सन्तुलन राष्ट्र र जनताको हितमा अनुकूल बन्न सकेन । मुलुकलाई राजनीतिक स्थिरता आवश्यक थियो । तर प्रतिनिधिसभामा एक दर्जन दलको उपस्थिति र संविधानका मुख्य विषय अस्पष्ट र असहमत रहनेहरूको उल्लेख्य सङ्ख्याले राजनीतिक अस्थिरताको सम्भावना झनै बढायो । बलियो राष्ट्रिय शक्ति निर्माणको जनचाहनामा प्रतिकूल प्रभाव पर्‍यो । राजनीतिक स्थायित्व, सुशासन एवं समाजवाद उन्मुख राज्य निर्माणको अभियानमा चुनौती थपिए ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप