आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

ग्रामीण चलचित्र महोत्सव : फिल्ममा ‘सतीदेवी’ र निर्देशकमा निश्चल उत्कृष्ट

आइतबार, ०९ वैशाख २०८१, ११ : ५४
आइतबार, ०९ वैशाख २०८१

काठमाडौँ । लक्ष्मण सुवेदी निर्देशित ‘सतीदेवी’ सर्वोत्कृष्ट फिल्म घोषित भएको छ । शनिबार रामेछापमा सम्पन्न तेस्रो नेपाल ग्रामीण चलचित्र महोत्सवमा फिचर फिल्म तर्फ ‘सतीदेवी’ उत्कृष्ट भएको हो । महोत्सवका उत्कृष्ट निर्देशक अवार्ड भने फिल्म ‘दिमाग खराब’बाट निश्चल बस्नेतले जिते । 

महोत्सवमा अभिनेत्रीतर्फ ‘दिमाग खराब’बाट स्वस्तिमा खड्का सर्वोत्कृष्ट हुँदा ‘नाङ्गो गाउँ’बाट दयाहाङ राई सर्वोत्कृष्ट अभिनेता भए । यस्तै सर्वोत्कृष्ट घोषित ‘सतीदेवी’ पटकथामा पनि आफ्नो कब्जा जमायो । अभिनेत्री मलिका महतले यही फिल्मबाट बेस्टएक्ट्रेस जुरी मेन्सन अवार्ड जितिन् भने सत्यराज चौलागाईं निर्देशित तथा मुकुन भुसाल अभिनीत ‘विच्छेद’ले जुरी मेन्सन अवार्ड प्राप्त गर्यो । रङ्ग संयोजनमा ‘दिमाग खराब’का राजेन्द्र मोक्तान सर्वोत्कृष्ट भए ।

त्यसतै सर्ट फिल्मतर्फ परिच्छेद सेनको ‘मदर’ उत्कृष्ट हुँदा बेस्ट कल्चरल फिल्ममा बुद्दिया एस मगर निर्देशित मगर भाषाको ‘माराङ’ले बाजी म¥यो । सिनेमा आर्टस् उत्कृष्ट सिनेमा निर्माण कम्पनी घोषित भएको छ । 

कार्यक्रममा चलचित्र विकास बोर्डका पूर्वअध्यक्ष एवं निर्देशक दयाराम दाहालले काठमाडौँबाट नजिकै रहेको रामेछाप जिल्लामा फिल्मको सुटिङ्ग गर्ने खालका धेरै ठाउँहरू आफूले यात्राको क्रममा देखेको बताए । उनले ग्रामीण परिवेशमा बन्ने फिल्महरू सुटिङका लागी रामेछाप उपयुक्त ठाउँ रहेको र फिल्म तथा सर्ट फिल्महरूका निर्मातालाई सुटिङका लागी रामेछाप जिल्लालाई छनौट गर्न पहल गर्ने धारणा राखे ।

कार्यक्रममा अभिनेता मुकुल भुसाल, महोत्सवका कार्यक्रम संयोजक एवं फिल्म निर्देशक कमल एक्चै मगर, रामेछाप नगरपालिका ८ का वडाअध्यक्ष सन्तोष कुमार तामाङ लगायतले मन्तव्य राखेका थिए ।

सेलिब्रेटी नेपालका अध्यक्ष रघुनाथ सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न चलचित्रका निर्देशक,निर्माता तथा कलाकारहरुको उपस्थिति थियो ।

महोत्सवमा चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष दयाराम दाहालको संयोजकत्वमा ५ सदस्य जुरी कमिटी थियो । जसमा गणेश पाण्डे, भरत रेग्मी, ज्योतिराज राई र वरिष्ठ रङ्ग पत्रकार कुबेरराज गिरी रहेका थिए ।

nff4

महोत्सवमा चर्चित चलचित्र दिमाग खराब, नाङ्गो गाउँ, विच्छेद, सतीदेवी, डेसानलगायत चलचित्रहरू निःशुल्क प्रदर्शन भए । यी फिल्मका अलवा सर्ट फिल्म, डकुमेन्ट्री र विभिन्न भाषाभाषीका फिल्म समेत प्रदर्शन भए ।

रामेछाप नगरपालिका र चलचित्र विकास बोर्डको सहकार्यमा भएको महोत्सवमा दुई हजार भन्दा बढी दर्शकले फिल्म  हेरेका थिए । महोत्सवको पहिलो संस्करण गोरखाको लाप्राकमा र दोस्रो संस्करण काभ्रेको भकुन्डेबेसीमा सम्पन्न भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप